Global Force Media

२०८१ बैशाख ८ - Sat Apr, 2024 -

कर्णालीमा कोसँग को भिड्दै, यसरी रोचक हुँदैछ प्रतिष्पर्धा

सुर्खेत । आगामी मंसिर ४ मा हुने निर्वाचनको लागि सुर्खेतको क्षेत्र नम्बर १ मा कांग्रेस उपसभापति पूर्णबहादुर खड्का सत्तारुढ गठबन्धनबाट साझा उम्मेदवार बनेका छन् । अघिल्लो निर्वाचनमा खड्कालाई पराजित गराएका एमालेका ध्रुवकुमार शाहीबीच पुनः प्रतिस्पर्धा हुँदैछ ।

२०७४ को निर्वाचनमा ३ हजार तीन सय मतान्तरले खड्का पराजित भएका थिए । सुर्खेत क्षेत्र नम्वर १ बाट ६ पटकसम्म प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवार बनेका खड्का पाँच वटा निर्वाचनमा विजयी बनेका थिए भने अघिल्लो निर्वाचनमा मात्र गठबन्धनको कारण पराजय भोगे । यसपालि खड्कालाई गठबन्धनको साथ छ । यदि गठबन्धनमा गडबड नभए खड्काले चुनाव जित्ने निश्चित चुनावी समीकरणले देखाउँछ । २०७४ मा माओवादीकै कारण चुनाव हारेका खड्का यसपालि उही माओवादीलाई साथमा लिएर चुनावी मैदानमा उत्रिएका छन् ।

खड्काका प्रतिष्पर्धी धुव्र शाही पनि बलियो जनाधार बटुलेका नेताको रुपमा पहिचान बनाएका छन् । त्यसैगरी खड्कालाई सघाएको नेकपा माओवादी केन्द्रबाट २०७४ मा प्रदेशसभामा विजयी भएका ठम्मर विष्ट एमाले प्रवेश गरेका छन् । त्यसकारण माओवादीबाट खड्कालाई जाने भोट एमालेमा जान सक्ने खतरा पनि उत्तिकै देखिन्छ ।

हुम्लामा कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाही र एमाले नेता छक्कबहादुर लामाबीच पनि प्रतिस्पर्धा रोचक देखिन्छ । २०७४ मा नेकपा (माओवादी केन्द्र) ले टिकट नदिएपछि हुम्लाका छक्कबहादुर अहिले एमाले प्रवेश गरेका छन् । जिल्लाको राजनीतिमा व्यक्तिगत प्रभावसमेत बनाएका लामाले अन्तिमसम्म पार्टीले टिकट नदिएका कारण दल नै बदले । लामालाई एमालेले प्रदेशसभा सदस्यको उम्मेदवार बनायो । अघिल्लो पटक बागी बनेर प्रतिनिधिसभा सदस्यको निर्वाचन जितेको उनी यसपटक प्रदेशसभा सदस्यको उम्मेदवार बनेका छन् ।

अघिल्लो निर्वाचनमा प्रदेशमै काँग्रेसका तर्फबाट प्रत्यक्ष निर्वाचनमा विजयी हुने एक्लो उम्मेदवार हुन् शाही । नेकपा विभाजनका कारण उनी मुख्यमन्त्री बन्ने अवसर प्राप्त गरे । शाही पुनः मुख्यमन्त्री हुने योजनासहित प्रदेशसभा सदस्यको उम्मेदवार बनेका छन् । व्यक्तिगत छवि राम्रो बनाएका लामासँगको प्रतिस्पर्धा शाहीलाई त्यत्ति सहज भने हुने छैन ।

कर्णाली प्रदेशमा अर्का हेभिटेड नेताका रुपमा चिनिन्छन् पूर्वगृहमन्त्री एवम् माओवादी उपमहासचिव शक्तिबहादुर बस्नेत । जाजरकोटबाट निर्वाचन लडेका बस्नेतलाई यसपालि एमालेका निरज आचार्यले चुनौती दिइरहेका छन् । गठबन्धनबाट उम्मेदवार बनेका बस्नेतलाई एमालेका आचार्यसँगै सामाजिक अभियन्ता नरबहादुर कार्कीसँग पनि प्रतिस्पर्धा हुनेछ । एमालेबाट उम्मेदवार बनेका आचार्य जाजरकोटमा लोकप्रिय नेताका रूपमा चिनिन्छन् । उनी एमाले केन्द्रीय निर्वाचन विभागका उपप्रमुख हुन् भने कार्की पछिल्लो समय युवापुस्तामाझ लोकप्रिय बन्दै गएका गएका छन् । कार्की यसअघि माओवादी केन्द्रमा थिए । तर, पछिल्लो समय कार्की स्वतन्त्र उम्मेदवारी दिएर चुनावी प्रचारमा लागेका छन् ।

यस्तै रोचकका साथ हेरिएकोे जिल्ला रुकुम पश्चिम पनि हो । एक प्रतिनिधिसभा रहेको रुकुम पश्चिमबाट गठबन्धन दलबाट माओवादी केन्द्रका उपमहासचिव तथा अर्थमन्त्री जनार्दन शर्मा उम्मेदवार बनेका छन् । माओवादीको बलियो पकड क्षेत्र मानिएको रुकुम पश्चिममा शर्मालाई शिक्षकबाट राजनीतिमा आएका एमाले रुकुम जिल्ला अध्यक्ष नन्दलाल देवकोटासँग प्रतिस्पर्धा गर्दैछन् । शर्माले २०७४ को निर्वाचनमा वाम गठबन्धनबाट कांग्रेसका गोपालजंग शाहलाई पराजित गरेका थिए ।

जुम्लामा पनि यसपटकको निर्वाचन रोचक प्रतिस्पर्धा हुँदै छ । यहाँ पनि त्रिपक्षीय भिडन्त हुने देखिएको छ । गठबन्धनका तर्फबाट उम्मेदवार बनेकी माओवादी नेतृ गोमा गौतम ९कुँवर०, एमालेका रतननाथ योगी र राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीबीच प्रतिस्पर्धा हुँदैछ । राप्रपाका शाहीले पछिल्लो समय जनाधार बटुल्दै गएका छन् । शाही र योगीले गठबन्धनलाई कडा चुनौती आँकलन गरिएको छ ।

सल्यानमा पनि यसपालिको निर्वाचनको प्रतिस्पर्धा रोचक देखिएको छ । अघिल्लो निर्वाचनमा सहयात्री रहेका नेता नै यसपालि चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । गठबन्धनको तर्फबाट प्रकाश ज्वाला चुनावी मैदानमा छन् । उनको प्रतिस्पर्धीका रूपमा एमालेका राजेन्द्रवीर राय मैदानमा उत्रिएका छन् । ज्वाला नेकपा विभिजनको बेला समाजवादी रोजेका थिए । उनकै नेतृत्वमा कर्णालीको संसदमा उनीसहित चार जना सांसदले फ्लोर क्रस गरेका थिए ।

सल्यान जस्तै दैलेख क्षेत्र नम्वर एकमा पनि पूर्वसहकर्मीबीच प्रतिस्पर्धा हुने भएको छ । एकीकृत समाजवादीका नेता अमरबहादुर थापा र एमालेका नेता रवीन्द्रराज शर्माबीच चुनावी प्रतिस्पर्धा हुँदैछ । लामो समय एमालेमा काम गरेका शर्मा र थापा पहिलोपटक प्रतिनिधिसभा चुनावमा प्रतिस्पर्धीका रूपमा मैदान उत्रिएका छन् । पूर्व मन्त्री समेत रहेका थापा नेकपा समाजवादीका प्रदेश अध्यक्ष हुन् ।

यस्तै, कालीकोटमा कर्णालीका पूर्व मुख्यमन्त्री एंव माओवादी केन्द्रका महेन्द्रबहादुर शाही र एमालेका नागेन्द्र शाहीबीच प्रतिस्पर्धा हुँदैछ । २०७४ मा वाम गठबन्धनबाट निर्वाचित भएका महेन्द्रलाई एमालेका नागेन्द्र यसपालि भारी हुने आकलन गरिएको छ । कालीकोट इन्चार्जसमेत रहेका नागेन्द्र एमाले कालीकोटका बलियो नेताका रुपमा मानिन्छन् ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np