Global Force Media

२०८१ बैशाख १७ - Mon Apr, 2024 -

गण्डकीमा पशुलाई पूर्णखोप अभियान

गण्डकी- वस्तुभाउमा देखिने विभिन्न रोगविरुद्ध गण्डकी प्रदेशमा पूर्णखोप कार्यक्रम सञ्चालन गरिएको छ । प्रदेशका ७५ प्रतिशत पशुपालक किसानको घरगोठमा खोप सेवा पुगेको कृषि तथा भूमि व्यवस्था मन्त्रालयले जनाएको छ ।

गण्डकीका ८५ पालिकामध्ये एक महानगरपालिका, २३ नगरपालिका र ३८ गाउँपालिकाका पाँच सय ८० वडामा पूर्णखोप कार्यक्रम सञ्चालन गरिएको मन्त्रालयको योजना तथा अनुगमन महाशाखा प्रमुख डा गृष्म न्यौपानेले जानकारी दिए ।

उनका अनुसार गाईभैँसीलाई लाग्ने खोरेत, भ्यागुते, चरचरे, बङ्गुरमा देखिने क्लासिकल स्वाइन फिभर, बाख्रामा देखिने पिपिआर र कुकुरलाई लाग्ने रेबिज रोगविरुद्ध खोप अभियान सञ्चालन गरिएको हो । गत आर्थिक वर्षमा मात्र खोरेतको छ लाख २८ हजार छ सय १५ डोज, चरचरे र भ्यागुतेको तीन लाख ९६ हजार ५०, क्लासिकल स्वाइन फिभरको ८० हजार एक सय ३८, पिपिआरको ११ लाख ८४ हजार ६० र रेबिजको ४२ हजार दुई सय ८० डोज खोज लगाइएको मन्त्रालयले जनाएको छ ।

पूर्णखोप कार्यक्रमका लागि गत आवमा रु १३ करोड ७४ लाख खर्च भएको डा न्यौपानेले बताए । “यस वर्ष पनि पूर्णखोप कार्यक्रमले निरन्तरता पाउँछ, विभिन्न रोगव्याधिका कारण हुने पशुधनको क्षति रोक्न खोप अभियान सञ्चालन गरिएको हो”, उनले भने, “प्रदेशका सबै पशुपालक किसानको घरगोठमा खोप सेवा पुर्याउने लक्ष्य मन्त्रालयको छ ।”

अहिले गाईभैँसीमा देखिएको लम्पी स्किन रोगका विरुद्ध पनि खोप अभियान सञ्चालन भइरहेको छ । प्रदेशका एक लाख तीन हजार दुई सय ३० गाईभैँसीमा उक्त खोप लगाइएको मन्त्रालयले जनाएको छ । गाईभैँसीका फैलिएको उक्त रोगले प्रकोपको रूप लिएपछि खोप अभियान सञ्चालन गरिएको हो ।

गण्डकीमा कुल आठ लाख ५४ हजार नौ सय २५ गाईभैँसी रहेकामा हालसम्म १२ दसमलव ०७ प्रतिशत गाईभैँसीलाई मात्र उक्त खोप दिइएको डा न्यौपानेले जानकारी दिए । लम्पी स्किनको सङ्क्रमण देखिएपछि गत आवको अन्तिममा प्रदेश सरकारले बजेट रकमान्तर गरेर खोपका लागि रु एक करोड बजेट छुट्याएको थियो । जिल्लामा रहेका भटेरेनरी अस्पताल तथा पशु विज्ञ केन्द्रमार्फत ५१ हजार चार सय, स्थानीय तहबाट ४६ हजार सात सय दुई र किसानले आफ्नै खर्चमा पाँच हजार एक सय २८ डोज खोप लगाएको मन्त्रालयले जनाएको छ ।

महाशाखा प्रमुख डा न्यौपानेका अनुसार गण्डकीमा हालसम्म ६९ हजार आठ सय ४१ गाईवस्तु लम्पी स्किनबाट सङ्क्रमित भएका छन् । प्रदेशका ८५ स्थानीय तहमध्ये ८२ स्थानीय तहका पशुचौपायामा सो रोगको सङ्क्रमण देखिएको छ ।

मुस्ताङको लोमान्थाङ, लो–घेकर दामोदरकुण्ड र मनाङको मार्फाभूमि गाउँपालिकामा अहिलेसम्म उक्त रोगको सङ्क्रमण देखिएको छैन । सो रोग लागेर हालसम्म तीन हजार दुई सय ४७ गाईवस्तुको मृत्यु भएको छ भने ३१ हजार तीन सय पाँच निको भएका छन् । अढतीस हजार पाँच सय ३६ गाईभैँसी अहिले पनि सङ्क्रमित अवस्थामा छन् । रासस

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np