Global Force Media

२०८२ चैत्र २० - Fri Apr, 2026 -

माओवादी बलियो भए देशमा सुशासनको नयाँ युग सुरु हुन्छ : अध्यक्ष प्रचण्ड

पुनर्वास । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी पार्टी बलियो र देशको एक नम्बरको पार्टी भए देशमा सुशासनको नयाँ युग सुरु हुने बताएका  छन् । कञ्चनपुर जिल्लाको पुनर्वासमा आयोजित भ्रष्टाचार र बेथितिका विरुद्ध खबरदारी तथा पार्टी एकता समायोजन सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन् ।

सरकारले गरेका भ्रष्टाचारका हरेक काण्डलाई खोतलेर कारबाही गरिने उद्घोष गर्दै अध्यक्ष प्रचण्डले भने, ‘हामीलाई दिनमा एक नम्बरको पार्टी भए मात्रै देशमा भ्रष्टाचारको अन्त्य हुने छ । मलाई विश्वास छ भ्रष्टाचारको पक्षको यो सरकारले यति धेरै भ्रष्टाचार गरेको छ । भ्रष्टाचारीलाई यसै छोडिने छैन। गिरिबन्धु, यति ओन्नीमा, नक्कली भुटानी शरणार्थी बनाएर गरिएको भ्रष्टाचार, वाइड बडी खरिदमा गरिएको भ्रष्टाचार यसै छोडिने छैन। र यो सबैको निम्ति माओवादी केन्द्रलाई बलियो बनाउन जरुरी छ । हेर्नुहोला, अर्को पटक माओवादी बलियो भयो भने देशमा सुशासनको नयाँ युग सुरु हुनेछ । भ्रष्टाचारीहरूलाई लखेट्ने प्रक्रिया सुरु गरिनै सक्यौँ । अहिले मैले अब धेरै भन्नु छैन।’

आफ्नो सरकारले सुशासन, सामाजिक न्याय, समृद्धिका पक्षमा काम गरेको बताउँदै अध्यक्ष प्रचण्डले मिटर ब्याजीहरू मिटर ब्याजको नाममा जनतालाई शोषण गर्नेहरू पनि आफ्नो उक्त सरकारको भयभीत भए आतङ्कित भएको उल्लेख गरे । ‘अहिलेको सरकार सुशासनका विरुद्ध भ्रष्टाचारका पक्षमा छ । भ्रष्टाचारका विरुद्ध छैन’ अध्यक्ष प्रचण्डले भने ।

उनले आफू नेतृत्वको सरकारले गरेका कामका कारण देशभर माओवादी केन्द्रमा एकताबद्ध हुने र समायोजन हुने लहर चलेको बताए । पुनर्वासमा एमाले, कांग्रेस लगायतका पार्टीमा क्रियाशील नेता कार्यकर्तालाई माओवादी केन्द्रमा स्वागत गर्दै प्रचण्डले भने– ‘देशैभरि पनि माओवादीमा एकताबद्ध हुने समायोजन हुने लहर चलेको छ । पर्सि म झापा जाँदै छु। प्रधानमन्त्री केपी ओलीको निर्वाचन क्षेत्रमा त्यहाँ पनि हजारौँ प्रवेश गर्ने तयारी छ ।’

सो क्रममा सुदूरपश्चिमको विकासमा आफू दत्तचित्त भएर लागेको बताउँदै भारत भ्रमणको बेलामा सिमानाको समस्या समाधान गर्नको निम्ति कञ्चनपुरका विभिन्न भागमा रहेका सीमा समस्यादेखि लिपुलेक कालापानीको समस्या सम्म पनि आफूले खुलेर भारतीय प्रधानमन्त्रीसँग कुरा गरेको उनले बताए ।

उनले सुदूर पश्चिममा विश्वविद्यालय स्थापनाको प्रस्ताव गरेको, मध्य पहाडी र हुलाकी लोकमार्गको प्रस्ताव गरेर कार्यान्वयनमा लगेको, कैलाली भजनीमा ४०० केबीको अन्तर्देशीय प्रसारण लाइनको काम अगाडि बढाएको, कृषि तथा स्थानीय स्रोतमा आधारित उद्योग स्थापनाका लागि नीति निर्माण र विद्युतको क्षेत्रमा पनि सेती परियोजना अगाडि बढाइएको, सुदूरपश्चिमका युवाहरूमा क्रिकेटको राम्रो क्रेज भएकोले रङ्गशाला निर्माणमा पहल गरेको समेत उनले बताए । अध्यक्ष प्रचण्डले पञ्चेश्वर परियोजना टुङ्गोमा पुर्‍याउने कोसिस गर्दै गर्दा सरकार ढलाइएको समेत बताए ।

त्यसैगरी, चीनसँग खुलेको नाकाले सुदूरपश्चिमको आर्थिक विकासमा टेवा पुग्ने समेत उनले बताए । हुम्लाको चीनसँगको चीनले अनुदानमा बाटो बनाउने सहमति भइसकेको र सो काम अगाडि बढ्ने उनले जानकारी दिए ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
globalforcenp@gmail.com
www.globalforce.com.np