पूर्वविशिष्ट पदाधिकारीहरुलाई आजीवन सुविधा दिने तयारीप्रति कांग्रेसको असन्तुष्टि

काठमाडौँ । पूर्वविशिष्ट पदाधिकारीहरुलाई कानून बनाएर आजीवन सुविधा दिने सरकारी तयारीप्रति सत्तारुढ नेपाली कांग्रेसका सांसद रामकृष्ण यादवले असन्तुष्टि जनाएका छन् । आइतवारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले यस्तो असन्तुष्टि जनाएका हुन् ।
उनले मुलुक आर्थिक रुपमा कमजोर भएको अवस्थाका पूर्वविशिष्टहरुलाई आजीवन सुविधा दिन कानून बनाइरहेको समाचारहरु आएको भन्दै यस्तो गर्न नहुने बताए । उनले भ्रष्टारचार नियन्त्रण गर्न नसकिएको, युवाहरु रोजगारीका लागि विदेश जान बाध्य भएको तथा जनताले उपचार नपाएर ज्यान गुमाउनुपर्ने अवस्थामा रहेको भन्दै सरकार त्यसतर्फ केन्द्रित हुन जरुरी रहेको बताए ।
उनले भने, ‘अहिले देश आर्थिक दृष्टिकोणले कमजोर अवस्थाबाट गुज्रिरहेको छ । विकास निर्माण र सार्वजनिक सेवा प्रभावकारी बनाउन नसकेको भनेर आलोचना भइरहेको अवस्थामा सरकारले पूर्वविशिष्ट पदाधिकारीलाई आजिवन सेवा दिने कानून बनाउन लागेको समाचार बाहिर आएको छ । कानुनको मस्यौदा बनिरहेको भनेर बाहिर आएको छ । जबकि मुलुकको आर्थिक अवस्था कमजोर अवस्थामा छ । भ्रष्टारचार नियन्त्रण हुन सकिरहेको छैन ।’



