Global Force Media

२०८३ जेष्ठ १९ - Tue Jun, 2026 -

कुलमानलाई लक्ष्य गर्दै ओलीले भने- तिललाई पहाड बनाउने काम हुँदैछ, केही अर्थ छैन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देश र जनताको हितको लागि इमानदारिताका साथ काम गरिरहेको बताएका छन्।

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा पूर्वउपप्रधानमन्त्री सुजता कोइरालाद्वारा लिखित पुस्तक म र मेरो सानोबुबा आत्मकथाको लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले नेपाल विद्युुत प्राधिकरणबाट कुलमान घिसिङलाई हटाएको विषयप्रति लक्ष्य गर्दै तिललाई पहाड बनाउने काम भइरहेको बताए।

उनले इस्यु पायौँ भन्ने हिसाबले केही समूहहरूले विरोध सुरू गरिसकेको बताए।

आफूले आइडोलोजी नभई देशप्रतिको निष्ठा हेर्ने गरेको र देश सबैको साझा भएको बताए।

प्रधानमन्त्री ओलीले भने, ‘मैले आइडोलोजी त्यति धेरै हेर्दिनँ, देशप्रतिको निष्ठा हेर्दछु। आइडोलोजी आफ्नो आफ्नो हुनसक्छन्। देश साझा हो। तरिका सोचहरू फरक फरक हुनसक्छन् तर गन्तव्य एउटै हो देश। देश कसरी बनाउने भन्ने कुरा हो। ससाना कुराहरू। तिलको पहाड बनाएका छन्। पहिला पहिला तिलका पहाड बनायो भन्थे। तिललाई नै पहाड बनाउने चलन छ। त्यसैलाई समातेर खुब हल्लाखल्ला गर्ने चलन छ। अहिले पनि केही सानो एउटा त्यान्द्रो विषय पाएका जस्तो लाग्यो केही मानिसलाई उफ्रिरहेका छन्, कुदिरहेका छन्। के पायौं, के पायौँ, इस्यु भेटियो भनेर हिजैदेखि वक्तव्यबाजी सुरू भएको। यही त्यान्द्रो हो। यही डोरीलाई नाग बनाउनुपर्छ भनेर कुदेका छन्। कोही के भनेर कुदेका छन्। केही अर्थ छैन। हामीले देश र जनताको हितको लागि काम गर्नुपर्छ, इमानदारिताका साथ।’

प्रधानमन्त्री ओलीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालप्रति लक्ष्य गर्दै विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा रहेको व्यक्तिलाई सरूवा गरेर अवकाश प्राप्त भइसकेको व्यक्तिलाई नियुक्त गरेको होइन? भन्दै प्रश्न गरे।

उनले पहिलो ४ वर्षमा कति उज्यालो आएको थियो र पछिल्लो पटक नियुक्ति गर्नेबित्तिकै उज्यालो आएको हो ? भन्दै प्रश्न गरे।

वर्षौं लगाएर गरेको मेहनतलाई जादु र चमत्कार भनेर प्रचार नगर्न पनि चेतावनी दिए।

प्रधानमन्त्री ओलीले भने, ‘एक जना मित्रको मैले स्टाटस पढेको थिएँ। त्यहाँबाट अवकाश प्राप्त भइसकेको मान्छेलाई त्यहीँबाट हुर्किएर आएर त्यहीँ कुनै बाहिरबाट खोजेर ल्याएको होइन, त्यहीँको क्याडरलाई नियुक्त दिएको हो, बाहिरबाट कतैबाट खोजेर ल्याएर होइन। त्यस्तो मान्छे निष्कासन गर्नुभयो। अर्को ठाउँमा निकम्भा बनाएर सरूवा भनेर राखिदिनु भयो। रिटायर्ड मान्छेलाई ल्याएर राखिदिनु भयो। उहाँले उज्यालो ल्याउनुभयो भनेर व्याख्या गर्नुभएछ। अघिल्लो ४ वर्षको कार्यकाल पूरै त्यहीँ काम गर्नुभएको हो। त्यसबेला ल्याउनुभएको थियो कि उहाँले नियुक्त गर्नेबित्तिकै आगो बोकेर आउनुभयो, बिजुली, चिम, ट्रान्समिसन लाइन बोकेर आउनुभयो कि? वर्षौं लगाएर जे काम गरिएको हुन्छ, त्यसलाई जादु, चमत्कारको रूपमा व्याख्या गर्ने? कोही पनि साथीहरूलाई यस्ता कुराको भ्रममा नपर्न आग्रह गर्न चाहन्छु।’

प्रधानमन्त्री ओलीले पूर्वराजा शाहप्रति लक्ष्य गर्दै उनले एउटा व्यक्तिलाई मानेर, एउटा संस्था र एउटा व्यक्तिका खानदानलाई मानेर हिँड्ने सामन्ती चिन्तनमा अबको युग जान नसक्ने जिकिर गरे।

लोकतन्त्र दुनियाँको सबभन्दा राम्रो प्रणाली भएको दाबी गर्दै अझै यसलाई परिष्कृत गर्दै अघि बढाउने बताए। —न्युज एजेन्सी नेपाल

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
globalforcenp@gmail.com
www.globalforce.com.np