Global Force Media

२०८३ जेष्ठ २० - Wed Jun, 2026 -

निषेधित क्षेत्र तोड्दै आन्दोलन चर्काउने राप्रपा प्रयास

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सामूहिक गिरफ्तारी दिएर आन्दोलन चर्काउने नीति लिएको छ । बिहीबार बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले आन्दोलनका कार्यक्रम घोषणा गर्दा सामूहिक गिरफ्तारी दिने नीति लिएको हो ।

पर्सि, ७ वैशाखबाट सुरु हुने आन्दोलनका कार्यक्रम अन्तर्गत पहिलो दिन नै निषेधित क्षेत्र तोड्ने राप्रपाले निर्णय गरेको छ ।

‘… गत चैत १५ गते तिनकुनेमा राज्यबाट भएको दमनको घटनाको निष्पक्ष न्यायिक आयोग गठनको लागि दबाब दिन वैशाख ७ गते काठमाडौंमा निषेधित क्षेत्रमा प्रदर्शन गर्ने..’, सार्वजनिक वक्तव्यमा भनिएको छ ।

राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवल शमशेर जबरा सहित तीनकुने घटनामा पक्राउ परेकाहरूको रिहाइ मागेर राप्रपाले चरणबद्ध आन्दोलन गर्दै आएको छ ।

तीनकुने घटनामा मिश्र र जबरा पक्राउ परेको भोलिपल्टै, १६ चैतबाट राप्रपाले देशभर आन्दोलनका कार्यक्रम गरिरहेको छ ।

२६ चैतमा राप्रपाले बल्खुमा सभा गरेरै आफ्ना नेताहरूलाई रिहाइ र उक्त दिनको घटनाको छानबिन गर्न आयोग गठन नगरिए सशक्त आन्दोलनको चेतावनी दिएको थियो ।

यसपछि केही दिन मौन रहेको राप्रपाले दोस्रो चरणका कार्यक्रमहरू सार्वजनिक गरेको हो । दोस्रो चरणको आन्दोलनमा पहिलो दिन नै निषेधित क्षेत्र तोड्ने कार्यक्रम राखिएको छ । राप्रपाका एक

नेताका अनुसार सामूहिक गिरफ्तारी दिनकै निम्ति यस्तो कार्यक्रम सार्वजनिक गरिएको हो ।

‘आन्दोलनलाई सशक्त बनाएरै लैजान्छौं । आन्दोलनलाई फराकिलो बनाउन निषेधित क्षेत्रसम्म जानु परेको हो’, ती नेता भन्छन् ।

तर, जिल्ला प्रशासन कार्यालयले भने अहिलेसम्म राप्रपाको प्रदर्शनका लागि कुनै ठाउँ नतोकिएको जानकारी दिएको छ ।

‘अहिलेसम्म उहाँहरूले प्रदर्शनका लागि कुनै ठाउँ माग्नुभएको छैन,’ प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले भने, ‘कुनै पत्र वा इमेल पनि आएको छैन ।’

राप्रपाले पनि कुन–कुन ठाउँमा निषेधित क्षेत्र तोड्ने भन्नेबारे यकिन निर्णय गरिसकेको छैन ।

‘हामी निषेधित क्षेत्र तोड्नेगरी प्रदर्शन गर्छौं,’ प्रवक्ता मोहनकुमार श्रेष्ठले भने, ‘कहाँ कहाँ गर्ने भन्नेबारे हामी शनिबार मात्रै निर्णय लिन्छौं ।’

आन्दोलन उठाउन राप्रपाले वडा तहसम्मको परिचालन गर्ने निर्णय गरेको छ । ‘उपत्यकाका सबै वडा तहमा आन्दोलनको तयारी गर्ने, यसका लागि समन्वय गर्न केन्द्रीय र प्रदेश तहका नेताहरुलाई खटाउने’, राप्रपाको निर्णय छ ।

संवैधानिक राजसंस्था, हिन्दु राष्ट्रको पुनस्थापन, संघीयता खारेजी लगायत एजेण्डा उठाउने पक्षहरूसँग छलफल र अन्तरक्रियादेखि आवश्यक सहकार्य गर्ने पनि राप्रपाको निर्णय छ । तर पार्टीसँग मिल्दो एजेण्डा बोक्ने अभियान अथवा समूहमा कुनै जिम्मेवारी लिएमा पार्टीको पद स्वतः खारेज हुने पूर्व निर्णयलाई पनि कडाइ गर्ने भएको छ ।

‘राष्ट्रवादी विचार भएका दल, अभियान, समूहले गर्ने कार्यक्रमलाई पार्टीले सहयोग गर्ने, तर त्यस्ता दल, अभियान वा समुहको समितिमा रहेर कार्य गरेको पाइएमा स्वतः पदमा नहरने केन्द्रीय कार्य सम्पादन समितिको यस पूर्वको निर्णय सबै कार्य समितिलाई जानकारी गराउने’, प्रवक्ता मोहनकुमार श्रेष्ठले जारी गरेको वक्तव्यमा भनिएको छ ।

यो निर्णय मार्फत राप्रपाले आफ्नै आन्दोलनलाई सशक्त बनाउने नीति लिएको बुझ्न सकिन्छ । किनकि तिनकुने प्रदर्शनको आयोजक राप्रपा होइन । तर नवराज सुवेदी नेतृत्व समितिको आयोजना र दुर्गा प्रसाईं जनकमाण्डर तोकिएको उक्त प्रदर्शनमा राप्रपाका शीर्ष नेताहरू मिश्र र जबरा समातिएका थिए ।

राप्रपाको वक्तव्यले पक्राउ परेका मिश्र र जबरालाई अप्ठ्यारो पर्ने देखिन्छ ।

किनकि पार्टी बाहिरका अभियान वा समितिमा रहेर काम गर्दा पद स्वतः जाने कार्य सम्पादन समितिको पुरानै निर्णय वक्तव्यमार्फत् सार्वजनिक जानकारी गराइएको छ । यद्यपि मिश्र र जबराको पद के हुन्छ भन्ने राप्रपाले खुलाएको छैन ।

तर सार्वजनिक कार्यक्रमका प्रकृतिहरू हेर्दा उसले आन्दोलन उठाउन खोजेको बुझ्न सकिन्छ । आन्दोलन सँगसँगै पार्टी कार्यक्रमलाई पनि निरन्तरता दिने राप्रपाको निर्णय छ ।

‘आन्दोलनको कार्यक्रम सँगसँगै जिल्ला अधिवेशनको कार्यक्रमलाई समेत निरन्तरता दिने …’ वक्तव्यमा लेखिएको छ ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
globalforcenp@gmail.com
www.globalforce.com.np