काठमाडौंको फोहोर बोकेका गाडीमा तोडफोड

काठमाडौँ । काठमाडौंको फोहोर बोकेका गाडीमा तोडफोड भएको छ । सिस्डोल(बञ्चरेडाँडा सडकखण्डको आलेटार भन्ने ठाउँमा गए राति फोहोर बोकेर गएका टिपर र डोजरमा अज्ञात समूहले तोडफोड गरेको हो ।
काठमाडौँ महानगरपालिकाका २ वटा डोजर र एउटा एस्काभेटर तथा आलेटारनजिक पार्किङ् गरेर राखिएका गाडीहरूमा तोडफोड भएको वातावरण व्यवस्थापन विभागकी प्रमुख सरिता राईले जानकारी दिइन् ।
‘राति ९ बजे भएको घटनाको यो प्रारम्भिक जानकारी हो । हामीले जिल्ला प्रहरी कार्यालय नुवाकोट र धादिङ्लाई क्षतिको विवरण पठाउन पत्राचार गरेका छौँ, उनले भनिन्, त्यहाँबाट पत्र आएपछि वास्तविकता यकिन हुन्छ ।’ स्थानीय प्रहरीबाट अहिले मुचुल्का उठाउने काम भइरहेको उनले बताइन् ।
तोडफोड गरिएका सवारी तथा उपकरणहरूमध्ये क्यापिङ् गर्ने र फोहोर पेल्ने काममा प्रयोग हुने डोजर र एक्साभेटर चलाउनै नसकिने गरी फोडिएका छन् । यस्तै रोकेर राखिएका गाडीहरूको सिसा फोडिएको छ ।
तोडफोड गरिएका सवारी तथा उपकरण काम नलाग्ने भएपछि आज फोहोर व्यवस्थापनका काम हुन सकेको छैन ।