अर्थमन्त्री शर्मा एशियाली विकास बैंकको बोर्ड बैठकमा जाने
![](https://www.globalforce.com.np/wp-content/uploads/2022/09/sharma-1024x768.jpg)
काठमाडौं–अर्थमन्त्री जनार्दन शर्मा आगामी असोज १० गतेदेखि १४ गतेसम्म फिलिपिन्समा आयोजना हुने एशियाली विकास बैंकको बोर्ड अफ गभर्नस्को ५५ औं बार्षिक बैठकमा सहभागी हुने भएका छन् ।
गत भदौ २१ गते बसेको मन्त्रिपरिषद बैठकले अर्थमन्त्री शर्मा नेतृत्वको नेपाली प्रतिनिधिमण्डललाई सो वार्षिक बैठकमा सहभागी हुन स्वीकृति प्रदान गर्ने निर्णय गरेको हो । बुधबार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै नेपाल सरकार प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले दक्षिण कोरियाबाट फर्केका श्रमिक कामदारहरुको स्थिर पुनः एकीकरणसम्बन्धी आयोजना संचालनका लागि प्राप्त हुने ८ मिलियन अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय पनि मन्त्रिपरिषद बैठकले गरेको बताए ।
त्यसैगरी निजीकरण समितिको सदस्यमा नेपाली काँग्रेसका सांसद राजेन्द्रकुमार केसी र नेकपा (एकीकृत समाजवादी) का सांसद कृष्णलाल महर्जनलाई मनोनित गर्ने निर्णय पनि गरिएको छ ।
मन्त्री कार्कीका अनुसार सरकारले नेपाल–भारत वाणिज्य सचिवस्तरीय अन्तर सरकारी समिति र सहसचिव स्तरीय अन्तर सरकारी उपसमितिको बैठकका लागि वार्ता टोली पनि गठन गरेको छ ।