गठबन्धन राष्ट्रिय आवश्यकता हो : शशांक कोइराला
कावासोती । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शशांक कोइरालाले गठबन्धन राष्ट्रिय आवश्यकता भएको बताएका छन् ।
आज नेपाली कांग्रेस नवलपुरले यहाँ आयोजना गरेको जनताका साथमा कांग्रेस अभियानको समापन तथा बिपी जयन्ती कार्यक्रममा सहभागी हुन आएका कोइरालाले सो धारणा व्यक्त गरेका हुन् । कोइरालाले भने नेपाली कांग्रेस एक्लै चुनावमा जाँदा पनि बहुमत नजिक पुग्छ तर अहिलेको राष्ट्रिय आवश्यकता भनेको गठबन्धन हो ।
कोइरालाले आफू पनि गठबन्धन गर्न हुँदैन भन्ने पक्षमा भएको भए पनि अहिलेको आवश्यकताले गठबन्धन गरेर निर्वाचनमा जानुपरेको बताए ।
फरक प्रसङ्गमा कोइरालाले अहिले नेपालमा मात्रै नभएर अन्तर्राष्ट्रिय रुपमा बिपीले स्थापना गरेको प्रजातान्त्रिक समाजवादको आवश्यकता बढ्दै गएको बताए । आगामी निर्वाचनमा कांग्रेसलाई विजयी गराएर देशलाई प्रजातान्त्रिक समाजवादको बाटोमा हिँडाउनसमेत कोइरालाले अपिल गरे ।