Global Force Media

२०८१ बैशाख ७ - Fri Apr, 2024 -

अविरल वर्षाले राप्ती नदीको बहाव बढ्दो, उच्च सतर्कता अपनाउन आग्रह

रासस

मङ्गलबार रातिदेखि परेको अविरल वर्षाका कारण राप्ती नदीमा खतराको तह पार गरेको छ । लगातारको अविरल वर्षाले बाँकेको कुसुमस्थित राप्ती नदीमा पानीको सतह छ दशमलव ३२ मिटर पार गरेको छ । राप्ती नदीमा पानीको सतह पाँच मिटर ४० सेन्टिमिटर पुगेपछि खतरा मानिन्छ ।

आज बिहान ६ः३० बजे कुसुममा नदीको सतह छ दशमलव ३२ मिटर पुगेको बाँकेस्थित जलमापन केन्द्रले जनाएको छ । अहिले पनि निरन्तर वर्षा भइरहेकाले खतराको तह बढ्न सक्ने जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रका सूचना अधिकृत रुपन ज्ञवालीले बताए । राप्ती नदीमा बाढी आएपछि तल्लो तटीय क्षेत्रका फत्तेपुर, गङ्गापुर, होलिया, बेतहनी, कम्दी गाउँलगायत स्थानमा बाढी आउँछ ।

जिल्ला विपद् व्यवस्थापन समितिले बुधबार साँझ एक सूचना निकालेर नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

प्रशासन कार्यालयका प्रशासकीय अधिकृत रामकुमार सोनकरले उक्त सूचना जारी गर्दै राप्ती नदी तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण नागरिकलाई उच्च सतर्कता अपनाउन अनुरोध गरे । सूचनामा नदी किनारको तल्लो तटीय क्षेत्रमा नदी किनारमा जाने, दाउरा छोप्ने, नुहाउने, माछा मार्नेजस्ता कार्य नगर्न पनि उल्लेख गरिएको छ ।

अविरल वर्षाले बाँके जिल्लाका विभिन्न स्थान अहिले जलमग्न भएको छ । नेपालगञ्ज, कोहलपुर, खजुरा बजार क्षेत्रका अधिकांश स्थानमा पानी जमेको छ । अहिले पनि वर्षा भइरहेकाले सर्वसाधारणलाई आवतजावत गर्न कठिनाइ भएको छ ।

यसैगरी लगातार वर्षाका कारणले नेपालगञ्जको रामलिला मैदानमा बडादसैँको घटनास्थापनादेखि सुरु भएको रामलिला महोत्सव दशहरा मेला स्थगित भएको छ । अविरल वर्षाका कारण बुधबार हुने भनिएको १० औं दिनको रावण बधलगायत कार्यक्रम आजलाई सारिए पनि वर्षा नरोकिएकाले गर्ने या नगर्ने अनिश्चित बनेको सञ्चालक समितिले जनाएको छ ।

समितिका प्रबन्धक भरतकिशोर वैश्यका अनुसार लगातार वर्षा भइरहेको र रामलिला मैदानमा पानी जमेका कारण सबै कार्यक्रम स्थगित गरिएको हो । रामलिला नाटक प्रदर्शनीमा आज ४२ फिटको रावणको पुत्ला दहन गर्ने कार्यक्रम थियो । अहिले रामलिला मैदान पूरै जलमग्न छ ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np