Global Force Media

२०८१ बैशाख ८ - Sat Apr, 2024 -

पुनः ‘च्याम्पियन’ बन्‍ने सेनाको धोको !

काठमाडौँ । मुलुकको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनाले पोखरामा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा पुनः ‘च्याम्पियन’को उपाधि जित्ने दाबी गरेको छ ।

बाह्रै महिना तालिम, खेलकुद पूर्वाधार, व्यवस्थापन र प्रशिक्षणसहितको तयारीस्तरलाई हेर्दा ‘च्याम्पियन’को इतिहास आफनो टोलीले सहजरुपमै दोहोर्‍याउने नेपाली सैनिक शारीरिक तालिम तथा प्रशिक्षण केन्द्रका प्रमुख महासेनानी मुनाल बस्नेतले दाबी गरे। यसअघि सम्पन्न राष्ट्रिय खेलकुद प्रतियोगिताका सातौँ र आठौँ संस्करणमा सेनाको त्रिभुवन आर्मी क्लब ‘च्याम्पियन’ बन्न सफल भएको थियो ।

उनले भने, तालिमको स्तर हेर्दा अघिल्लोभन्दा यसपालि प्रदर्शन राम्रो हुन्छ, नतिजा पनि राम्रो हुने अपेक्षा छ । राष्ट्रिय खेलकुद प्रतियोगिता देशभित्र खेलको सबैभन्दा ठूलो समारोह हो । अन्य टोलीका तुलनामा पूर्वाधार र व्यवस्थापन चुस्त छ, खेलाडी अब्बल छन्, च्याम्पियनको इतिहासको वर्चश्व कायम राख्न कोसिस गर्छौं ।

सङ्घीय संरचनाका आधारमा हुँदै आएको राष्ट्रिय खेलकुद प्रतियोगिता यस पटक भने प्रादेशिक संरचनामा हुन लागेकाले विभागीय टोलीलाई प्रादेशिक टोलीको कडा चुनौती सामना गर्नुपर्ने देखिएको छ । सेनाले प्रतिस्पर्धामा पदक आफ्नो पक्षमा पार्न सामूहिकभन्दा व्यक्तिगत खेल विधातर्फ बढी ध्यान केन्द्रित गरेको छ । मुलुक सङ्घीयतामा प्रवेश गरेसँगै खेलकुदप्रतिको सर्वत्र चासो र रुचि बढेको हुँदा प्रतिस्पर्धा र गुणस्तरी खेलाडी उत्पादनमा निकै प्रभावकारी नतिजा हासिल हुने विश्वास गरिएको छ ।

पछिल्लो समय खेलकुदको विकासका लागि प्रादेशिक र स्थानीय तहमा समेत विभिन्न संरचना र कार्यक्रम विकास तथा विस्तार हुँदै गएको छ । सेनाले टोलीलाई जिताउन मात्र केन्द्रित नभई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीको पहिचान र उत्पादनमा समेत महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ ।

सेनाले गण्डकी प्रदेशको राजधानी पर्यटकीय नगरी पोखरामा जारी उक्त प्रतियोगिताका लागि खेलाडी, प्रशिक्षक, अफिसियल र प्रतिनिधि गरी सात सय २८ जनशक्ति पठाएको छ । प्रतियोगिताअन्तर्गत सेनाले फुटबल, एथलेक्टिस, बक्सिङ, तेक्वान्दो, कराते, भारत्तोलन, भलिबल, टेवल टेनिस, कबड्डी, कुस्ती, ब्याडमिन्टन, उसु, जुडो, बास्केट बल, बुद्धिचाल, आइटिएफ तेक्वान्दो, ह्याण्ड बल र स्क्वासमा प्रतिस्पर्धा गर्ने छ ।

त्रिभुवन आर्मी क्लबका खेलाडी हक्की, सुटिङ, जिम्न्याष्टिक, लन–टेनिस, क्रिकेट, साइक्लिङ, आर्चरी, सेपाताक्रो, खोखो, फेन्सिङ, ट्रायथलन, पौडी, शारीरिक सुगठन, गल्फ, प्याराग्लाइडिङ, सफट टेनिस र रग्बीमा अन्य टोलीका खेलाडीसँग सशक्तरुपमा भिड्ने छन् ।

प्रतियोगीताका लागि तय भएका स्वर्ण तीन सय ९३, रजत तीन सय ९३ र कास्य छ सय पदकमध्ये कम्तीमा पनि एक सय ४० स्वर्ण, ८२ रजत र ७५ कास्य जित्ने सेनाले दाबी गरेको छ । सेनाले यस पटक जिम्न्यास्टिक, पौडी, कराते, तेक्वान्दो, दौड, टेनिसलगायतका खेल विधामा बढी पदकको अपेक्षा गरेको छ ।

यसअघि आठौँ प्रतियोगितामा सेनाका खेलाडीले एक सय ४८ स्वर्ण, ८७ रजत र ७२ काँस्य पदक हात पारेको थियो । यस प्रतियोगिताका लागि क्लबले दुई सय ७५ महिला खेलाडीसमेत पठाएको छ । तेह्रौँ साफ खेलकुदमा नेपालले प्राप्त गरेका दुई सय सात पदकमध्ये सेनाका खेलाडीले मात्रै एक सय तीन पदक जितेका थिए ।

साफमा नेपालको प्रतिनिधित्व गरी पदक प्राप्त गर्ने अधिकांश खेलाडी नवौँ राष्ट्रिय खेलकुदमा सहभागी रहेकाले पनि सेनाले विगतको रेकर्ड सुरक्षित राख्ने दाबी गरेको हो । अन्य टोलीका तुलनामा नियमित अभ्यास र प्रशिक्षण गर्दै आएका सेनाका खेलाडीका लागि प्रत्येक युनिटका साथै लगनखेल र सैनिक मुख्यालय परिसरमा सुविधा सम्पन्न प्रशिक्षण केन्द्र र खेलमैदान समेत छ । रासस

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np