Global Force Media

२०८१ बैशाख १४ - Fri Apr, 2024 -

तिहार नजिकिएसँगै ओखरको आयात बढ्दै

२९ असोज, काठमाडौं । तिहारलाई लक्षित गरी रसुवागढी नाकाबाट ओखर तथा स्याउ आयात हुन थालेको छ । चालु आर्थिक वर्षको साउनदेखि नै अत्यन्तै न्यूनरूपमा आयात भइरहेको चिनियाँ दाँते ओखर तथा स्याउ दसैंपछि दैनिक आयात हुन थालेको हो ।

दसैं सकिएलगत्तै चार दिनको अन्तरालमा २६ कन्टेनर ओखर र १८ कन्टेनर स्याउ रसुवागढी नाकाबाट नेपाल भित्रिएको सीमा सुरक्षाकर्मीले बताएका छन् ।

चालु आर्थिक वर्षको साउनदेखि दसैँ अगाडिसम्मको तथ्याङ्कले १६ कन्टेनर दाँते ओखर, चार कन्टेनर स्याउमात्र आयात भएको देखाएको छ । नेपालीको दोस्रो ठूलो चाडपर्व तिहार भएका कारण पछिल्लो समय स्याउका साथै ओखरको आयात बढ्न थालेको हो ।

अन्य सामानको सङ्ख्या सबै गणना गर्नुपर्ने र स्याउ तथा ओखरको शुल्कमा प्रति कन्टेनरको मात्र हिसाब हुने भएका कारण ढुवानीकर्ताको रोजाइ पहिलो फलफूल हुने गरेको पाइएको छ ।

लोड भएका नेपाली कन्टेनर डिब्बा भन्सार प्रक्रिया पूरा गरी क्रमिकरूपले काठमाडौंका लागि छुटिरहेकाले अबका दिनमा ओखर तथा स्याउ खरिदको मूल्य सर्वसुलभ हुने अपेक्षा छ ।

तिहार पर्व नजिकिइसकेको र मन्दिरमा चढाउनेदेखि बिरामीलाई खुवाउनसमेत फलफूलका रूपमा स्याउ नै पहिलो रोजाइ हुने गरेका कारण व्यवसायीले स्याउ आयातलाई प्राथमिकता दिँदै आएको व्यवसायी धर्म पौडेलले बताए । नेपाली व्यापारीले माग गरेलगतै चिनियाँ ढुवानी कम्पनी मुसा ट्रान्सपोर्टले छिटो–छरितो रुपमा सामान रसुवागढी पुर्‍याउने गरेको व्यवसायीले बताउँदै आएका छन् ।

चीनको केरुङ क्षेत्रमा कोभिड सङ्क्रमण बढेको भन्दै चिनियाँ सीमा अधिकारीले गत साउन २१ गतेदेखि भदौ २९ गतेसम्म बन्द गराएको आयात ३० गतेदेखि पुनः सुरु भएको र पहिलाको तुलनामा आयात परिमाणसमेत केही मात्रामा बढेको सीमा अधिकारीले बताएका छन् ।

चालु आर्थिक वर्षको गत साउनदेखि असोज २७ गतेसम्म आयात भएका सामग्रीको मूल्याङ्कनबाट कुल १ अर्ब ४१ करोड भन्सार शुल्कवापत राजस्व दाखिला भइसकेको प्रमुख भन्सार अधिकृत नारायणप्रसाद भण्डारीले जानकारी दिए ।

आयात भएका सामग्रीमध्ये स्याउ तथा हाइड्रोपावरका सामग्रीको शुल्क अत्यन्तै कम हुने प्रावधान छ । भन्सार हातामा प्रवेश गरेका सामग्री छिटोभन्दा छिटो मूल्याङ्कन गराइ जाँचपास गराउन यथेष्ट मात्रामा जाँचकी परिचालन गरिएको अधिकृत भण्डारीले बताए ।

भदौ ३० गतेयता समग्रमा रेडिमेट एक सय ७८, हाइड्रोका ८०, मेडिकल सामग्री दुई, फर्निचर दुई कन्टेनर डिब्बा र इलेक्ट्री कार नौ, इलेक्ट्री स्कुटरी तीनवटा आयात भइसकेको सीमा सुरक्षाकर्मीले बताएका छन् ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np