Global Force Media

२०८१ श्रावण १२ - Sat Jul, 2024 -

सुदूरपश्चिम प्रदेशको राजधानी चुनावी फण्डा

कैलाली । विस २०७५ असोज १२ गते सुदूरपश्चिम प्रदेशको राजधानी गोदावरी नगरपालिकाको वडा नम्बर २ र ३ मा पर्ने तेघरीमा राख्ने निर्णय बहुमतले पारित गरेको थियो । चार वर्षअघि राजधानी तोकेको प्रदेश सरकारले हालसम्म पनि न राजधानी गोदावरी सार्न सक्यो न त तोकिएको स्थानमा कुनै संरचना नै बनाउन सक्यो।

वन क्षेत्रमा राजधानी तोकेकै कारण सुरुदेखि नै प्रदेश सरकार विवादमा रह्यो । निकै रस्साकस्सीका बाबजुद पनि प्रदेश सरकारले राजधानीका लागि वन क्षेत्र भोकाधिकार नपाउदा प्रत्येक वर्ष छुट्ट्याइँदै आएको बजेट समेत फ्रिज भयो ।

त्यतिबेला नै अहिले प्रधानमन्त्री रहेका शेरबहादुर देउवाले सूदुरपश्चिम प्रदेशको राजधानी गोदावरी राखेकोमा आपत्ति जनाएका थिए ।

उनले वातावरणीय लगायतका सबै हिसावले उपयुक्त नभएको ठाउँमा सुदुरपश्चिम प्रदेशको राजधानी तोकिएको भन्दै निर्णयको विरोधमा उत्रन पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिएका थिए । सोही अनुरुप केही समय आन्दोलन समेत भएको थियो ।

उनै देउवाले केही महिना अघिमात्रै डडेल्धुरा पुगेर प्रदेशको राजधानी डडेल्धुरा बनाउने आश्वासन दिएका थिए । प्रधानमन्त्री देउवाको प्रतिनिधि बनेर प्रतिनिधि सभाको मनोनयन गर्न डडेल्धुरा पुगेकी डाक्टर आरजु राणा देउवाले समेत राजधानी डडेल्धुरा बनाइने देउवाकै कुरा दोहर्‍याइन् ।

चुनावी माहोल तातितै जाँदा फेरि एकपटक प्रदेशको राजधानीको विषयमा फरक(फरक धाराणा बनाउँदै मत आफ्नो पक्षमा पार्न उम्मेदवारहरू लागिपरेका छन् ।

प्रतिनिधि सभाका लागि कैलाली क्षेत्रनम्बर ४ बाट नेकपा एमालेका सचिव, पूर्वमन्त्री तथा पार्टीका सुदूरपश्चिम इन्चार्ज लेखराज भट्ट उम्मेदवार छन् ।

नेता भट्टले प्रधानमन्त्री लगायत नेपाली काँग्रेसका नेताहरूले प्रदेशको राजधानीलाई पहाड लग्नुपर्छ भन्नु सुदूरपश्चिमका जनताको अपमान भएको बताउन थालेका छन् । उसो त उनले पहिले देखि नै राजधानी गोदावरी राखेकोमा सहमति जनाएका थिए । तर, तिनै भट्ट मन्त्री हुँदा समेत केही गर्न नसकेको भन्दै आलोचित रहदै आएका छन् ।

उनी अहिले जनता सामु हाम्रो एमालेको सरकार आयो भने जनतालाई भूमिको मालिक बनाएर राजधानी निर्माण गर्ने कुरामा मेरो महत्त्वपूर्ण भूमिका रहन्छ भन्दै भोट माग्न थालेका छन् ।

डोटीमा रहदा प्रदेशको राजधानी डोटीनै हुनुपर्छ भन्दै निकै कडा रुपमा प्रस्तुत हुने नेपाली कांग्रेसका प्रदेश सभापति वीर बहादुर बलायर अहिले आएर राजधानी पहाड लगिनु हुँदैन भन्न थालेका छन्।

त्यसबेला डोटीमा चुनाव लड्दै गर्दा मेरो स्वार्थ डोटीमा राजधानी होस् भन्ने थियो, नेता बलायरले भने, मेरो ठाउँमा अरु जोसुकै भएको भए पनि भन्थे। यसका लाज मान्नुपर्ने केही कुरा छैन ।

एमालेका नेता भट्टसँग गठबन्धनको साझा उम्मेदवारको रूपमा प्रतिस्पर्धामा रहेका बलायर अहिले आएर जनताको भोट आफूतिर आकर्षित गर्न राजधानी गोदावरी मै हुनुपर्ने भन्दै राजधानीको मुद्दा जोडतोडले उठाइरहेका छन् ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
globalforcenp@gmail.com
www.globalforce.com.np