Global Force Media

२०८१ बैशाख ७ - Fri Apr, 2024 -

चीनमा नेतृत्वका दाबेदार हु चुनहुवा पोलिटब्यूरोमै अटाएनन्

७ कात्तिक, काठमाडौं । सन् २०१२ मा सम्पन्न चिनियाँ कम्युनिष्ट पार्टीको अठारौं महाधिवेशनबाट सबैभन्दा कम उमेरमा पोलिटब्यूरो सदस्य बन्दा हु चुनहुवा धेरै चर्चामा थिए ।

चिनियाँ राजनीतिमा सी जिनपिङको शक्ति विस्तार हुँदै गएपछि सन् २०१७ मा सम्पन्न उन्नाइसौं महाधिवेशनले स्थायी समितिमा बढुवा नगरेर हुसँगै उनका आम समर्थक-शुभचिन्तकलाई निराश बनायो । त्यस महाधिवेशनबाट सीले पुरानै पुस्ताका नेताहरूलाई स्थायी समितिमा निरन्तरता दिएका थिए ।

पोलिटब्यूरोमा पुग्दा ४९ वर्ष पुगेका नेता हु चुनहुवा अहिले ५९ वर्षका भइसकेका छन् । तर, चीनमा उदाउँदो ताराका रूपमा चर्चा पाएका उनले यसपटक स्थायी समितिमा बढुवा हुनु त कताकता, पोलिटब्यूरोबाट पनि स्थान गुमाए ।

नेतृत्व सहज हस्तान्तरण भएको भए उनको चर्चा सम्भावित राष्ट्रपतिको रूपमा भइरहेको थियो । आइतबार सार्वजनिक गरिएको चीनको प्रमुख निर्णय गर्ने संरचना पोलिटब्यूरो सदस्यको सूचीबाट उनको नाम गायब भएपछि उनको भविष्य अनिश्चित देखिएको छ । राष्ट्रपति सी पक्षधर नरहेका उनको राजनीतिक भविष्यमाथि शंका उत्पन्न भएको छ ।

हु राज्य परिषद् अर्थात् चीनको मन्त्रिपरिषद्का चार उपप्रधानमन्त्रीहरूमध्ये एक हुन्, तर उक्त पदका लागि पोलिटब्यूरो सदस्य हुनु अनिवार्य शर्त हो । अब उनको यो पद पनि गुम्ने निश्चित छ ।

यद्यपि, २०५ सदस्यीय केन्द्रीय समितिमा भने उनी समेटिएका छन् जुन पोलिटब्यूरोपछिको महत्वपूर्ण राजनीतिक निकाय हो ।

सीको नेतृत्वमा सञ्चालित गरिबी निवारण परियोजनाका बफादार कार्यान्वयनकर्ता रहेका उनको शीर्ष नेतृत्वबाट बहिर्गमनले धेरैलाई आश्चर्यचकित तुल्याएको छ । ५९ वर्षीय उनले सक्रिय राजनीतिक पदबाट अवकाश लिन चिनियाँ अभ्यासअनुसार अझै ९ वर्ष कुर्नुपर्ने हुन्छ ।

सिंगापुरको नेशनल युनिभर्सिटीको ली कुआन यू स्कूल अफ पब्लिक पोलिसीका सहायक प्राध्यापक अल्फ्रेड वु हुको करियरको बाटो धमिलो देखिन थालेको र अब भविष्यमा प्रधानमन्त्री बन्ने धेरै आशा बाँकी नरहेको बताउँछन् ।

‘यो उनको बढ्दो करियरको अन्त्य जस्तो लाग्छ,’ वूले साउथ चाइना मर्निङ पोस्टसँग भनेका छन्, ‘उनलाई सम्भवतः महत्वहिन पद दिइनेछ।’

सिंगापुर म्यानेजमेन्ट युनिभर्सिटीमा चिनियाँ कानुनका प्राध्यापक हेनरी गाओले पोलिटब्यूरोबाट हुको बहिर्गमनलाई अब सीको शासनकाल कस्तो हुन्छ भन्ने संकेतको रूपमा अर्थ्याएका छन् । सी युगमा उनीप्रति बफादारिता देखाउने बाहेकको हविगत यस्तै हुने र कुनै पद हासिल गर्न मुस्किल हुने उनको तर्क छ ।

हुलाई पूर्वराष्ट्रपति हु जिन्ताओसँग तुलना गर्दै ‘सानो हु’ भन्ने गरिन्छ । उनीहरू दुवै कम्युनिष्ट युथ लिगको माध्यमबाट सत्ताको उच्च तहमा उक्लिएका थिए ।

सन् १९८३ मा पेकिङ विश्वविद्यालयबाट स्नातक गरेपछि हूले तिब्बतमा लगभग दुई दशक बिताए । त्यहाँ उनले क्षेत्रीय युवा लिगको कर्मचारी विभागमा एक कार्यकर्ताको रूपमा काम सुरु गरे र केवल २४ वर्षको उमेरमा लिगको उपसचिवको जिम्मेवारीमा उक्लिए ।

त्यसपछि बेइजिङमा चार वर्षको कार्यकालपछि हु तिब्बत फर्किए र यस क्षेत्रको पार्टीको कार्यकारी उपाध्यक्षका साथै प्रशिक्षण विभागको प्रमुख पनि भए ।

मध्य चीनको हुबेई प्रान्तका हु एक सामान्य पारिवारिक पृष्ठभूमिबाट राजनीतिमा आएका हुन् । यो दुई दशकसम्म उनको राजनीतिक उचाइ अग्लिरह्यो किनकि उनी एकपछि अर्को संकटबाट टाढा रहे ।

सन् २००८ मा हुले हेबेई प्रान्तको गभर्नरको भूमिकामा रहँदा विषालु दूधका कारण ३ लाख शिशुहरूलाई असर गर्ने एक ठूलो घोटालाको क्षतिलाई नियन्त्रण गरेका थिए । जतिबेला बेइजिङ ग्रीष्मकालीन ओलम्पिकका कारण चीन विश्वको नजरमा परेको थियो ।

एक वर्षपछि उनी भित्री मंगोलियाको क्षेत्रीय पार्टी सचिव नियुक्त भए । त्यहाँ उनले गरिबी उन्मुलन र प्राकृतिक स्रोत विकासलाई प्राथमिकता दिए र यस क्षेत्रमा विस्फोटक रूपमा कुल गार्हस्थ्य उत्पादनको वृद्धिमा योगदान दिए ।

सन् २०११ मा उनले यस क्षेत्रमा ठूलो सामाजिक विग्रह व्यहोरे । मंगोलियाली जातीय समूहले प्राकृतिक स्रोतको दोहन गर्ने सरकारी प्रयास र ट्रकको ठक्करबाट मंगोलियन गोठालाको मृत्युको तीब्र विरोध गरे ।  दुई दशकभन्दा बढी समयमा मच्चिएको त्यो पहिलो ठूलो सामाजिक विग्रह थियो ।

हुले त्यहाँ तनाव कम गर्न सुरक्षा बल तैनाथ गरे र स्थानीय गोठालाको समूहलाई क्षतिपूर्ति दिने वाचा गर्दै प्रदर्शनकारीहरूसँग संवाद गरे ।

सन् २०१२ मा उनी पोलिटब्यूरोमा पुगे । यसरी उनी ग्वाङडोङ प्रान्तको इतिहासमा सबैभन्दा कान्छो पार्टी सचिव बने ।

ग्वाङ्डोङ चीनको अन्य प्रान्तभन्दा ठूलो अर्थतन्त्र हो । यहाँबाट लामो समयसम्म पार्टीको उच्च नेतृत्वमा प्रतिनिधित्व भइरह्यो । सन् १९९८ देखि ग्वाङडोङ पार्टी प्रमुखहरू पोलिटब्यूरो र स्थायी समितिका शीर्ष पदहरूमा पुगे तर हु मात्र यसको अपवाद बन्न पुगेका छन् ।

प्राध्यापक वु हुलाई एक हार्डलाइनर र केही हदसम्म सीसँग मिल्दोजुल्दो चरित्र भएको नेताको रूपमा सहायक चित्रित गर्छन् ।

पोलिटब्युरो र यसको सात सदस्यीय स्थायी समितिले चीनमा सबैभन्दा महत्त्वपूर्ण निर्णयहरू गर्छन् । तर उनीहरू कसरी छानिन्छन् भन्ने कुरा असाध्यै कम जानकारी बाहिरिन्छ । पछिल्ला १५ वर्षमा यो प्रक्रिया थप अपारदर्शी भएको छ ।

यसरी नेता छान्ने प्रक्रियाको बारेमा थोरै मात्र विवरण जनतालाई दिइन्छ । यस्ता छनोटहरू राष्ट्रिय महाधिवेशन अघिका साना बैठकहरूमा गरिएका मनोनयनहरूमा आधारित हुन्छन्, जसमा अधिकतम सीले निर्णय लिन्छन् । पार्टीका वरिष्ठ अधिकारीहरूबाट हुने धाँधली रोक्न यस्तो छनोट प्रक्रिया अबलम्वन गरिएको दाबी पार्टीले गर्ने गरेको छ ।

(साउथ चाइना मर्निङ पोस्टमा प्रकाशित स्टेला चेनको सामग्रीको सहयोगमा तयार पारिएको)

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np