Global Force Media

२०८१ बैशाख ७ - Fri Apr, 2024 -

माओवादीको प्रतिबद्धता : छ महिनाभित्र सङ्घीय शिक्षा ऐन, एक महिना अगावै विद्यार्थीको हातमा पाठ्यपुस्तक

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले शिक्षालाई गुणस्तरीय, रोजगारमूलक, जीवन उपयोगी र सर्वसुलभ तुल्याउन नयाँ सरकार बनेको छ महिनाभित्र सङ्घीय शिक्षा ऐन जारी गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आज प्रतिबद्धतापत्र सार्वजनिक गर्दै माओवादीले प्रदेश तथा स्थानीय तहको शिक्षा ऐन निर्माणमा सहजीकरण गर्ने, निःशुल्क तथा अनिवार्य शिक्षासम्बन्धी ऐन तथा नियमावलीको मर्म र भावनाबमोजिम कार्यान्वयन गरी नागरिकको शिक्षा पाउने अधिकार सुनिश्चित गरिने प्रतिबद्धता व्यक्त गरेको हो ।

नेपालको हालसम्मको शिक्षा प्रणालीमा रहेका कमीकमजोरीका कारण शैक्षिक उपाधि प्राप्त गरेका युवा बेरोजगार रहने, शैक्षिक उपाधि प्राप्त गरे पनि सो अनुसारको ज्ञान, सीप र क्षमताको अभाव देखिने, उद्योग–व्यवसाय तथा निर्माण परियोजनाहरूले दक्ष जनशक्ति नपाउनेजस्ता समस्या लामो समयदेखि भोग्नुपरेको यथार्य स्वीकार गर्दै माओवादीले शिक्षामा विभेदको अवस्थाको अन्त्य गर्ने सङ्कल्प लिएको छ ।

विद्यालय, प्राविधिक शिक्षालय तथा उच्च शिक्षाको पाठ्यक्रम पुनरावलोकन गरी शिक्षालाई जीवनउपयोगी, आधुनिक, विज्ञान प्रविधि केन्द्रित र व्यावसायिक बनाइने, १२ कक्षासम्मको शिक्षा निःशुल्क साथै अनिवार्य, १२ कक्षा पास गरेको कुनै पनि विद्यार्थी बेरोजगार बन्न नपर्ने गरी सैद्धान्तिक एवं व्यावहारिक पक्षबीच सन्तुलन हुनेगरी पाठ्यक्रममा आमूल परिवर्तन गरिने माओवादीको प्रतिबद्धतापत्रमा उल्लेख छ ।

विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणित (स्टेम) शिक्षालाई माध्यमिक तहदेखि नै अनिवार्य गरिने माओवादीले जनाएको छ । सरकारी र निजी क्षेत्रको शैक्षिक गुणस्तर र उत्पादनमा रहेको अन्तरलाई न्यूनीकरण गर्दै पाँच वर्षभित्र सबै शिक्षण संस्थामा समस्तर कायम गरी गुणस्तरीय शिक्षा प्रदान गरिनेछ । सार्वजनिक विद्यालय सबलीकरण गरी नमूनाका रूपमा विकास गरिनेछ । माओवादीले शैक्षिक सत्र सुरु हुनुभन्दा एक महिनाअगावै अनिवार्य रूपमा पुस्तक सम्बन्धित सबै शैक्षिक संस्थामा पुग्ने प्रतिबद्धता व्यक्त गरेको छ । हाल शैक्षिक सत्र सुरु भएको लामो समयसम्म पनि विद्यार्थीले पाठ्यपुस्तक पाउन नसक्दा शैक्षिक सुधारमा ठूलो चुनौती देखिएको छ ।

शिक्षा क्षेत्रमा हाल भइरहेको राज्यको लगानीलाई क्रमशः बढाउँदै पाँच वर्षमा कूल बजेटको २० प्रतिशत बनाइने, प्रमाणपत्रका लागि मात्र शिक्षाजस्तो भएको वर्तमान शिक्षा प्रणालीमा आमूल परिवर्तन गरी शैक्षिक संस्थालाई दक्ष जनशक्ति, सिर्जनशील नागरिक तथा वैज्ञानिक उत्पादन गर्ने र मानवता प्रवर्द्धन गर्ने केन्द्रका रूपमा विकास गरिने माओवादीले जनाएको छ ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np