Global Force Media

२०८१ बैशाख १२ - Wed Apr, 2024 -

दार्चुला सीमा विवाद : महाकाली नदीको बहाव पुरानै अवस्थामा फर्काउने सहमति

दार्चुला । दार्चुलामा भारतले एकतर्फी तटबन्ध निर्माण गर्न थालेपछि दुवै देशका नागरिकबीच आइतबार दोहोरो झडप सिर्जना भएको थियो ।

बुधबार भारतको धार्चुलामा बसेको दुवै देशका प्रमुख सुरक्षा निकायको छलफलले भारतले एकतर्फी निर्माण गर्न लागेको ग्याबिन तटबन्ध तत्काल रोक्ने सहमति भएको छ । नेपालतर्फ मोडिएको नदीलाई पुनः आफ्नै धारमा फर्काइने सहमति भएको प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताए । उनका अनुसार विवादित क्षेत्रमा तत्काल काम पनि सुरु नगर्ने सहमति बनेको छ ।

भारतीय पक्षले एकतर्फी तटबन्ध निर्माण गरेपछि भएको विवाद समाधानका लागि नेपाल र भारतीय प्रशासनबीच आइतबार पनि जिल्ला प्रशासन कार्यालय दार्चुलामा छलफल भएको थियो । आज भएको छलफलमा १० दिनभित्र नदीलाई पुरानो स्थानमै फर्काउने गरी सहमति भएको हो ।

खलङ्गाका स्थानीयवासीको मागअनुसार नदीको बीचमा रहेका अस्थायी संरचना हटाउन भोलिदेखि १० दिनको समय दिइएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी राजेश शाहीले बताए ।

नेपालतर्फ सोझिएको नदीको धार बीचमा पार्ने, अत्यावश्यकबाहेकका अस्थायी निर्माण गरेका संरचना तत्काल हटाउने, यसका लागि भारतीय जनशक्ति नै परिचालन गर्ने सहमतिसमेत भएको प्रजिअ उपाध्यायले जानकारी दिए । प्रजिअ उपाध्यायका अनुसार तोकिएको समय १० दिनभित्र सहमतिअनुसार काम गरे नगरेको अवस्थालाई हेरी पुनः भारतीय प्रशासनसँग छलफल अघि बढाइने छ ।

खलङ्गास्थित बाङ्गाबगर क्षेत्रको पारिपट्टि भारतले महाकाली नदी नेपालतर्फ फर्किने गरी निर्माण गरिरहेको तटबन्धको चौतर्फी चर्चा भएको छ । नेपाल सरकारले कूटनीतिक नोट पठाएपछि भारतीय अधिकारीले हिजो महाकाली नदी क्षेत्रमा भइरहेको तटबन्ध निर्माणको कामको अनुगमनसमेत गरेका थिए ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np