Global Force Media

२०८० चैत्र १६ - Fri Mar, 2024 -

लगातार पेनाल्टी शूटआउट जित्दै क्रोएसिया सेमिफाइनलमा, ब्राजिल बाहिरियो

२३ मंसिर, काठमाडौं । पेनाल्टी शूट आउटमा लगातार दोस्रो पटक भाग्यमानी बन्दा ब्राजिललाई हराउँदै क्रोएसिया कतारमा जारी फिफा विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

एजुकेसन सिटी स्टेडियममा शुक्रबार भएको पहिलो क्वाटरफाइनलमा क्रोएसियाले पेनाल्टी शूटआउटमा ब्राजिललाई ४-२ ले हरायो । हारपछि उपाधि दाबेदार तथा सर्वाधिक ५ पटकको विजेता ब्राजिल क्वाटरफाइनलबाटै बाहिरिएको छ ।

क्रोएसियाले अब अर्जेन्टिना र नेदरल्याण्ड्सबीच हुने दोस्रो क्वाटरफाइनलको विजेतासँग सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछ । क्रोएसियाले यसअघि अन्तिम १६ को खेलमा गोलकिपर लिभाकोभिच नायक बन्दा जापानलाई पेनाल्टी शूटआउटमा हराएको थियो ।

क्रोएसिका लागि पेनाल्टी प्रहार गरेका निकोला भ्लासिक, लोभरो माजेर, लुका मोडरिच, मिस्लाभ ओर्सिस सबैले गोल गरे । क्रोएसियाका लागि गोलकिपर फेरी नायक बने । उनले ब्राजिलका रोड्रिगोको पहिलो प्रहार नै बचाएका थिए । ब्राजिलका लागि कासेमिरो र पेड्रोले मात्र गोल गरे ।

चौथो नम्बरमा पेनाल्टी प्रहार गरेका मार्क्विन्होसको प्रहार पोष्टमा लागेपछि क्रोएसियाको जित निश्चित भएको थियो । त्यसअघि निर्धारित ९० मिनेटमा दुई टोलीले गोल गर्न नसकेपछि खेलमा ३० मिनेटको अतिरिक्त समय थप गरिएको थियो ।

पहिलो हाफमा ब्राजिलले गोलका लागि लगातार प्रयास गरेपनि क्रोएसियाका गोलकिपर डोमिनिक लिभाकोभिचले उत्कृष्ट प्रदर्शन गरेका थिए । उनले निर्धारित ९० मिनेटमा ब्राजिलका ८ सेभ गरेका थिए । पहिलो हाफमा ब्राजिलले क्रोएसियामाथि लगातार आक्रमक गरेको थियो ।

ब्राजिलले १४ सट प्रहार गर्दा ८ सट टार्गेटमा थियो तर गोल गर्न सकेन । क्रोएसियाले ६ सट हाने पनि टार्गेटमा थिएन । ब्राजिलका नेमार, रिचार्लिसन, लुकास पाक्वेटाको प्रहारलाई रोक्दै लिभाकोभिचले क्रोएसियालाई अतिरिक्त समय सम्म पुर्‍याएका थिए । क्रोएसियाका फरवार्ड अवसर बनाउन नसक्दा निर्धारित समयमा ब्राजिलका गोलकिपर एलिसन बेकर व्यस्त हुनुपरेन ।

अतिरिक्त समयमा दुवै टोलीले गोल गर्ने प्रयास गरेका थिए र दुवैले एक एक गोल गरे । अतिरिक्त समयको पहिलो हाफको इन्जुरी टाइममा नेमारले गोल गर्दै ब्राजिललाई अग्रता दिलाए । उक्त गोलसँगै नेमारले ब्राजिलका लागि सर्वाधिक ७७ गोल गर्ने पेलेको कीर्तिमान समेत बराबरी गरे ।

नेमारले १२४ खेल खेल्दै पेलेको कीर्तिमान बराबरी गरेका हुन् । पेलेले ९२ खेलमै उक्त उपलब्धी हासिल गरेका थिए । नेमारको गोलपछि जित नजिक पुगेको ब्राजिलले अग्रता कायम राख्न सकेन भने ११७औं मिनेटमा क्रोएसियाले बराबरी गोल फर्कायो ।

वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका ब्रुनो पेटकोभिचले ११७औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए । मिस्लाभ ओर्सिसको पासमा पेटकोभिचको प्रहार ब्राजिलका खेलाडीलाई लाग्दै गोल भएको थियो । त्यही गोलले क्रोएसिया खेलमा फर्कियो र पेनाल्टी शूटआउटमा बाजी मार्‍यो ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np