Global Force Media

२०८० फाल्गुन २१ - Mon Mar, 2024 -

मेरो योग्यताको प्रमाण पत्र नदेख्ने तर माइतीको सम्पत्तिमाथि आँखा लगाउने!

‘पच्चीस काटेपछि छोरीको विवाह हुन्न’ छिमेकी आन्टीको अभिव्यक्ति।

‘३० कटेपछि प्राय: महिलाहरूको बच्चा हुँदैन’ भाउजूको डाक्टरी भनाइ।

‘जस्तो केटा खोजे पनि नरूचाउने कस्तो खोजेकी होस् हँ?’ आमाको कर्कश आवाज।

‘हामी बूढाबूढी यसको गोडाको जल नखाई मर्ने भयौं’ हजुर आमाबाको गुनासो।

‘यसले विवाह नगरेर कूलको इज्जतै फाली’ बाबाको आक्रोश।

भर्खरै व्याचर्लस सकेर सरकारी विद्यालयमा पढाउन थालेकी युवतीका लागि यी प्रश्न निकै संवेदनशील र जटिल थिए। तर हरेक दिन यिनै कुरासँग सवाल-जवाफ गर्नुपथ्र्यो।

एकातिर मेरो व्याचलर्सको प्रमाणपत्रले भन्थ्यो, ‘तैंले अब मास्टर्स पढ्नुपर्छ। यो समाजका छोरी मान्छेको जीवनस्तर उकास्नुपर्छ। तँलाई अरूजस्तो बन्न छुट छैन। अर्को मनले भन्थ्यो एकातिर सिंगो दुनियाँ छ, अर्कोतिर तँ कसरी विद्रोह गर्छेस्?

दुई मन बीचको द्वन्द्वले निकै सकस बाँचे। न रातमा निद न दिनमा भोक। कि मर्नु कि गर्नुको विकल्प थिएन।

विद्यालयमा म अरूभन्दा फरक शिक्षिका थिएँ। सर्सती किताब पढाएर जिम्मेवारीबाट पन्छिन लाग्दैन्थ्यो। जागिरसँगै भावी पुस्ताको भविष्यको चिन्ता लाग्थ्यो।

विद्यार्थीहरूलाई बालभित्ते पत्रिका प्रकाशन गराउनेदेखि चेतनामूलक सांस्कृतिक कार्यक्रम गर्दै समाजलाई मार्गनिर्देशन गर्न चाहन्थेँ। दिनभरि विद्यालयमा बच्चाहरूसँग खेल्ने मान्छे साँझमा घर आएर आँसु र परिवारका मान्छेको बचनसँग खेल्नुपथ्र्यो।

मंसिर महिनाको दोस्रो हप्ता चेतनामूलक सडक नाटक आयोजना भयो। तीन दिनको रिहर्सलपछि उनीहरू समाजसमक्ष पुगे। त्यो सडक नाटक दाइजो प्रथासँग सम्बिन्धित थियो।

उनीहरूले आफ्नो मेहनतका कारण सबैबाट सकारात्मक प्रतिक्रिया पाए। मैले हेडबाट स्याबासी पाएँ। मलाई धन्यवाद स्वरूप सम्मान गरियोे। साँझ निधारभरि रातो अविर र गलाभरि माला लगाएर घर फर्किएँ।

तर त्यो साँझ चन्द्रमा उदाएनन्। अचानक ग्रहण लाग्यो। थप कुनै कुरा भएन कसैले पनि फूलमाला लगाएर रातै भएर घर आउनुको कारण सोधेनन्। मन निवुवा निचोरेजस्तै भयो।

फेसबुकमा एउटा स्टाटस लेखेर दिउँसोको कुरा कार्यक्रमको संक्षिप्त कुरा सेयर गरेँ। धेरैले मेरो कामको उच्च प्रशंसा गर्दै आगामी दिनमा पनि यस्तै काम गर्न प्रोत्साहन दिए।

रातको ९ बजेको हुँदो हो। बाहिर चुक घोप्ट्याएजस्तै अँध्यारो थियो।

आमाले नजिकै आएर भन्नुभयो, ‘सम्पन्न घरबाट प्रस्ताव आएको छ। भोलि हेर्न आउँछन् तयार भएर बस्नू।’

यो आदेश हो कि आग्रह मैले जानिनँ।

आमालाई दिनभरि सम्पूर्ण विवरण बताएर उहाँले सहयोग गरेमा आफू माथिल्लो ओहोदामा पुग्ने बताएँ। उहाँ केही नबोली कोठाबाट निस्कनुभयो।

अर्को बिहान सबेरै उठेर आमालाई आफूले कुनै पनि हालतमा विवाह नगर्ने जानकारी दिएँ। आँखाको भाषा बुझेँ मुखले केही बोल्नुभएन।

स्कुल जानका लागि तयारी गर्दै थिएँ। आमा एक्कासि डोरी बोकेर निस्कनुभयो। म अवाक् भएँ।

एकछिनपछि बाबाले मनेर आएर भन्नुभयो, ‘सिम्रन तैंले गर्दा हाम्रो घरमा निकै विचलन आउने भयो। आमा डोरी बोकेर मर्न हिँडेकी छ। यो सबै तेरो कारणले हुँदैछ। तैंले यसैगरी अड्डी लिएर विवाह नगर्ने हो भने यो परिवारमा लास पर्ने भयो।’

एउटा हुर्कंदै गरेकी छोरी माइतीका लागि कति भार हुँदो रहेछ मैले त्यसैदिन बुझेँ। छोराछोरी उस्तै हुन् भन्ने समानताका कुरा नारामा मात्रै सीमित हुँदो रहेछ। एउटी छोरी घर र समाजको दायराभन्दा माथि उठ्न खोज्दा उसलाई परिवार नै बाधक बन्दो रहेछ।

मन भारी भएर हजुर आमा नजिकै गएर बसेँ। उहाँले आमालाई दोष दिँदै भन्नुभयो, ‘एउटी छोरीलाई समेत तहमा राख्न सकिन। त्यस्ती आइमाइले कसरी मेरो छोरालाई खुसी राख्ली?’

एउटा परिवारलाई खुसी बनाउने जिम्मेवारी महिलाको मात्रै हो र ?

मेरी आमा बिहान ५ बजेदेखि बेलुका दस बजेसम्म यही घरमा समर्पित हुनुहुन्छ। उहाँले बच्चा र परिवारको लागि सबै कुरा त्याग्दा पनि कति ठूलो आक्रोश कति ठूलो उत्पीडन?

पितृसत्ताले छपक्कै गाँजेको यो समाजमा किन महिलाहरू नै महिलाको विरूद्धमा लाग्छन् होला ?

आफ्नो माइतीघर छाडेर यही घरमा समर्पित भएर आफ्नो रहर, इच्छा, जवानी सबै लुकाएर बसेकी मेरी आमा माथि नै प्रश्न? आमाले यो घरमा सेवा गरेवापत न तलब लिनुहुन्छ न जस पाउनुहुन्छ। तीन-तीन वटा बच्चालाई हुर्काएर बढाउनु भनेको चानचुने कुरा हो र?

कसैले पनि किन जन्मघर छाडेर आएकी माहिलाको त्याग र समर्पण बुझ्दैनन्। देवर-जेठाजू, नन्द-आमाजू, सबैको मन राख्दाराख्दै मेरी आमाको मन कति ठाउँमा भाँचियो होला त्यसको कुनै हिसाब छैन।

एकछिनपछि बाबाले आमालाई लिएर आउनुभयो।

त्यसपछि मैले आँखा चिम्म गरेर आमाको कुरा स्वीकार गरेँ।

पितृसत्ता र कुसंस्कारको खोल ओढेर निदाएको नेपाली समाज कहिले ब्युँझिन्छ? म त एउटा समाजको प्रतिनिधि पात्र मात्रै हुँ। मजस्ता कयौं छोरीहरू यसैगरी आफूलाई मारेर परिवारको खुसीका लागि जिउँदो देखाउन विवश छन्। उनीहरू एक पाइला पनि परिवारको इच्छाविपरीत जान पाउँदैनन्।

त्यस दिन घरमा निकै तनाव भयो। हेडसरलाई फोन गरेर बिरामी परेकाले आउन नसकेको जानकारी गराएँ। बिहानको ११ बजेको हुँदो हो घर चार पाँच जना नयाँ अनुहार देखापरे। त्योमध्ये मसँग विवाह गर्ने केटो को हो ? मैले चिन्न सकिनँ। अझ भनम् चिन्न जरूरी लागेन।

आमाले भित्र लगेर श्रृंगार गरिदिनुभयो। म कुर्था सुरूवालबाट साडीमा सजिएँ। मेरो कान नजिकै मुख जोतेर भन्नुभयो, ‘छोरी केटा तँभन्दा दुई वर्षले सानो रहेछ। हामीले तेरो जन्ममिति घटाएका छौं। अलि ख्याल गरेस् है!’

उमेर त एउटा गणना मात्रै हो। केको कमी छ र ममा ? यसरी उमेर घटाएर झूट बोलेर विवाह गर्नुपर्ने? एउटा लोग्ने मान्छेले आफूभन्दा २० वर्ष कान्छी केटीसँग विवाह गर्दा मर्दको उपनाम दिनेहरू एउटी केटीले आफूभन्दा २० दिन सानो केटासँग विवाह गरी पनि समाजमा किन संकीर्णताको भूकम्प चल्छ?

मेरो जन्मघरले मलाई मेरो भविष्यका लागि पठाउन लागेका हुन् या एउटा बोझ पन्छाएका हुन् मैले जानिनँ। चिया लिएर उनीहरूको अगाडि उभिएँ। मलाई माग्न आएको केटा आमाले इसाराले देखाउनुभयो। झट्ट हेर्दा त्यति आकर्षक लागेन। जेलले ठाडो बनाएको कपाल। ब्रेसेस गरेको दाँत। नसुहाउँदो ओठ। एउटा आँखा ठूलो अर्को चिम्सो। ऊ हाँस्दा नेपाली सिनेमामा कुनै भिलेन हाँसेजस्तै लाग्थ्यो।

मैले आजसम्म देखेको सपनाको राजकुमार र यो केटामा आकाश धर्तीको फरक थियो। म चाहन्थेँ मेरो जीवन साथी हिमाल हाँसेजस्तै उज्यालो होस्। छोरी मान्छेसँग बोल्दा इज्जत गरोस्।

पढेलेखेका युवा पुस्ताको नेतृत्व गरेर यो देशलाई अझै सुन्दर बनाओस्। उसले यस्तो विचार राखोस् कि उसको विचार सुनेर नयाँ क्रान्तिको सुरूआत होस्। उसैबाट प्रभावित भएर समाजका मानिस भव्य र सभ्य तरिकाले बाँच्न सकूँन्। संकीर्णताबाट निकै माथि उठेर आफू जन्मनुको कारण खोज्दै जीवन्त बन्ने काम गरोस्, सधैं हाँसिराखोस् सधैं बाँचिराखोस्।

तर त्यस्तो भएन…..

परिवारसँग मेरा पनि धेरै असहमति र असमझदारी थिए। केही बोलिनँ। फेरि अनुहार हेरेर मान्छेको मूल्यांकन गर्नु पनि त भएन।
त्यस दिन हामीलाई पाँच मिनेटको समय दिएर कुराकानी गर्न लगाइयो। वर्षौंसम्म संगत गरेको मान्छे त असल खराब चिनिँदैन भने पाँच मिनेट भेटेर कुरा गरेको केटासँग मैले कसरी यति ठूलो निर्णय गर्नु ?

बेलुका बाबाले सोध्नुभयो, ‘के जवाफ दिऊँ त उनीहरूलाई ?’

‘मेरो मनले त हुन्न नै भन्छ बाबा।’ यति वाक्य के बोलेको थिएँ। दाइको आँखामा ज्वाला बलेर निभ्यो।

‘व्याचर्लस सकिहालेँ। मास्टर्स पढेर प्रोफेसर बन्ने ठूलो सपना छ बाबा! कृपया मेरो सपनामा आगो नलगाइदिनुस्।’

बाबाको अनुहारको आक्रोश सहजै अनुमान लगाएँ। दाजुभाउजू, मामामाइजू सबैको मुहार अँध्यारो भयो। मैले आफ्नो छातीको भित्री भाग छामेँ डढेलो लागेछ। थाहा छैन यो कुन पानीले निभ्छ?

भतभत पोलिरह्यो यति फराकिलो संसारमा एउटा मल्हम लगाउने हात समेत भेटिनँ। अर्को दिन परिस्थिति सोचेभन्दा निकै विकराल बन्यो। परिवारको खुसीका लागि मैले मन मार्ने कठोर निर्णय गरेँ।

घरमा बेग्लै रौनक सुरू भयो। गाउँका पुरूष वर्ग दाउरा काट्न थाले भने महिलाहरू कोही चामल पिस्न कोही टपरी गाँस्ने कार्यमा जुटे।

एकदिन लगभग २० जना महिला सहभागी थिए। तीमध्ये अधिकांशले लाज नमानी श्रीमानसँगको रात्रि क्रिडाको अनुभव सुनाए। एउटी काकी पर्नेले आफ्नो सुहागरातको कहानी सुनाउँदै मलाई छेड हानेर बोली त्यतिबेला त्यसको कपालको एउटा पनि रौँ नराखी उखेलिदिमझैं लाग्यो।

बाध्यताले विद्यालय छाड्नुपर्ने भयो। विवाह हुन केही दिन मात्रै बाँकी थियो। मेरो स्कुलको अन्तिम दिन सहज रूपले विद्यार्थीसामु अनुहार देखाउन पनि सकिनँ। मलाई देख्नेबित्तिकै सबैका आँखा आँसुले भरिए। मेरो पनि भावुकता रोकिएन।

मेरो विदाइ कार्यक्रम राखिएको रहेछ। सबै विद्यार्थीले पालैपालो आएर माला र अबिर लगाइदिए। पूरै अनुहार रातो भयो। ७ कक्षाका विद्यार्थी मेरो हात समाउँदै रोए। सम्भवत मेरो जिन्दगीको सबैभन्दा खुसी र सबैभन्दा दुःखको पल थियो।

म उनीहरूको शिक्षक नभएर मार्गदर्शक पनि थिए। उनीहरू विद्यार्थी मात्रै नभएर यो देशले देखेको भविष्य थिए। विद्यालयबाट हिँड्दै गर्दा छात्राहरू मेरो हात समातेर रूँन थाले। उनीहरूको आँसु त अर्को शिक्षक आएर पुछ्लान् तर मेरो आँखाको आँसु र जिन्दगीको सपना…

यिनै मेरा हिम्मत र शक्ति थिए। मैले कुनै पनि अवस्थामा हार्नु हुँदैनथ्यो, हारेँ। मैले त हारेँ भने यी कलिला छोरीले कसरी सुन्दर भविष्यको निर्णय लिन सक्छन् ? मलाई आफ्नो भन्दा पनि यिनकै चिन्ताले छातीमा झिर रोपियो।

सधैं स्कुल ओहोर दोहोर गरेको बाटो अन्जान ठाउँमा हिँडेजस्तो लाग्यो। एक घन्टाको बाटोमा तीन घन्टा लगाएर घर पुगेँ।

समाज परिवर्तको लागि हिँडेकी छोरी यति छिटै हार खान्छे भनेर सायद कसैले सोचेका थिएनन्। दिउँसोको क्रियाकलाप र आफ्नो अनिश्चित भविष्य सम्झेर रातभरि हिक्का छुटिरह्यो।

बाआमाले धेरै पढ्नुभएको थिएन। तर घरमा एमए पास गरेको दाइ भाउजू थिए। चाहेको भए त सम्झाउन सकिहाल्थे नि। देशको लागि फुलेको एउटा फूल किन यसरी निमोठिदिएको होला?

मेरो विवाहको लागि १५ लाख रुपैयाँ तयार गरेको थाहा पाएँ। मैले मास्टर्स पढेर प्रोफेसरमा नाम निकाल्छु भन्दा पैसा छैन भन्नेहरूसँग कहाँबाट आयो यति धेरै पैसा!

अन्तिम पटक बाबासँग हात जोडेर पढ्ने इच्छा भएको बताएँ। तर मेरो अनुनयविनयले कुनै काम गरेन। मेरो सपना हावामा हराएको कपुरको सुगन्ध जस्तै भयो। आफूलाई सडकको भिडमा आमाको हात छुटेको बच्चा पाएँ। मेरो भविष्य र जिन्दगीमाथि ठूलो चट्याङ पर्‍यो।

मैले पनि त पढेकी थिएँ धेरै थोरै जति भए पनि कमाउन सक्थेँ। मेरो परिवारलाई सुखले पाल्न सक्थेँ। आमा बाको भविष्यको सहारा बन्न सक्थेँ। यति धेरै पैसा खर्च गरेर विवाह गर्ने मेरो सोच नै थिएन।

आखिर म पनि त्यही भएँ। जस्तो अरू छोरी मान्छे भए। यो जिन्दगी कसैको पोल्टामा पर्दै थियो। म अर्कोबाट सञ्चालित हुने भएँ। मैले ती अवोध नानीहरूलाई दिएको बचन पूरा गर्न सकिनँ।

बाबा र दाइ मेरो विवाहको लागि सामान किन्न काठमाडौं जानुभयो। मलाई केटातिरकाले बोलाएको हुनाले नौबिसे गएँ।

ऊ मेरो हुनेवाला श्रीमान भए पनि म उसलाई सम्मान गर्थेँ त्यसकरण भेट्ने बित्तिकै नमस्कार गरेँ। प्रतिउत्तरमा उसले नमस्कार समेत फर्काएन।

एउटा भव्य रेष्टुरेन्टमा बसेका थियौं। उसले मेनु पल्टाएर दुई प्लेट बफ मःम मगायो। म बफ मःम खान्नँ भन्ने समेत समय पाइनँ।
‘पहिला कसैसँग प्रेम थियो ?’ पहिलो प्रश्न थियो उसको।

थिएन भन्ने आशयले टाउको हल्लाएँ।

‘यतिको उमेरसम्म प्रेम नगरी बस्यौ भन्ने विश्वासै लागेन। कसैसँग फिजिकल रिलेसन भयो कि नाइँ ? भएको भए अनुभव सेयर गरन।’

अगाडि मःम पाक्दै गरेको भाँडोले त्यसको टाउकोमा बजाएर हिर्काएर हिँड्न मन थियो। तर आफूलाई निकै संयमित बनाएँ।

‘तिमीले गल्ती गरेको भएर केही बोल्न नसकेको होला है। नत्र तिमीजस्ती पढेकी मान्छे मसँग किन विवाह गर्न राजी हुन्थ्यौ?’

छि! कस्तो घटिया सोच भएको मान्छे मेरो योग्य देखेछन् मेरा घरकाले!

‘अँ के रे टिचिङ गर्छौ रे तिमी ? तिम्रो एक महिनाको तलबले त मलाई एक दिन चिया खान पनि पुग्दैन। के त्यति सानो काममा अल्झिरा?’ मन कागती निचोरेझैं अमिलो भयो। दुई प्लेट बफ मःम टेबलमा आइपुग्यो।

बाफ उड्दै गरेको मःमको डल्ला मुखमा हाल्यो। यति फोहोरी, यति असभ्य र यति घृणित मान्छे मैले जीवनमा कहिल्यै भोगेकी थिइनँ।

त्यस दिन म कुर्था सुरूवालमा थिएँ । अगाडिको सल तान्दै भन्यो, ‘छि! एक्काइसौं शताब्दीको केटीको स्वभाव। अलिकति त स्मार्ट पनि हुन जान्नुपर्छ। कति सस्तो कुर्था सुरूवाल लगाएको। यो मेरो जुत्ता हेरन ११ हजार पर्यो, अनि मेरो यो ज्याकेटचाहिँ २० हजार पाँच सय। यति महँगो कपडा त तिमीले आजसम्म पनि देखेकी छैनौ होला?’

रिसले भाउन्न छुट्यो तर आफूलाई सम्हालें।

‘हेर न हाम्रो त परिवार एकदमै ठूलो छ। हजुरबुवा आमालाई सुनको औंठी। बाआमालाई औंठी सिक्री र तिलहरी अनि हामी तीन भाइलाई सुनको सिक्री। फेरि हामी तीन दाजुभाइलाई सुट पेन्ट पनि चाहिन्छ। हाम्रो कति इज्जत छ यो समाजमा तिमी कल्पना पनि गर्न सक्दैनौ।’

उसको परिवारको इज्जत त उसको डिमान्ड र असम्भ्य संस्कारले ऊ कस्तो परिवारको हो, उसको हैसियत कस्तो छ राम्रोसँग बुझिसकेको थिएँ।

के सोचेको छ त्यसले मलाई म त्यति धेरै कमजोर केटी हुँ त? मेरो योग्यताको प्रमाणपत्र मेरो सम्पत्ति होइन ? नेपालमा किन पैसा र सुुनचाँदीलाई मात्रै सम्पत्ति मानिन्छ ? यहाँ बौद्धिकताको कुनै अर्थ छैन र?

आज दोस्रो भेटमा यसरी ममाथि प्रश्न उठाउने मान्छेसँग मेरो भविष्य कस्तो होला ? फेरि मैले यो हिंसा सहेर उसैसँग समाहित हुने निर्णय गरेँ भने भावी पुस्ताले के सिक्ला ? मेरो योग्यताको प्रमाण पत्र नदेख्ने! अनि मेरो माइतीको सम्पत्तिमाथि आँखा लगाउने नायकसँग मेरो विवाह कदापि हुन सक्दैन।

परिश्रम नगर्ने र अरूमाथि दादागिरी चलाएर खानेहरू यो धर्तीका लास हुन्। जिउँदो मान्छे र लासको मिलन कदापि हुन सक्दैन। फेरि अर्को कुरा छोरी मान्छे कसैको कठपुलती हैन। हाम्रो पनि बेग्लै पहिचान छ। कसैको छोरीको इज्जत पैसासँग तुलना गर्न मिल्छ र ?

मेरा बाआमाले मेरो सुन्दर भविष्यको परिकल्पना गर्नुभयो उसले भने मलाई पैसासँग तौलदै छ।  छोरी मान्छे कसैको खेलौना हैन मन लागुन्जेल खेल्ने नलागेको दिन फालिदिने?

आफ्नी दिदी बहिनीलाई समस्या पर्दा पुलिस रिपोर्ट गर्न जानेहरू आफ्नी स्वास्नीमाथि किन यति फोहोरी खेल खेल्छन्?

रिस थाम्न नसकेर त्यहाँबाट निस्किएँ।

घर पुगेर एक गिलास चिसो पानी पिएँ। टेलिभिजनमा बाआमा नेहा चौधरीको अन्तर्वार्ता हेरेर रूँदै हुनुहुँदो रहेछ।  छोरीलाई सक्षम बनाऔं, दाइजो प्रथा बन्द गरौं!

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np