Global Force Media

२०८१ बैशाख १३ - Thu Apr, 2024 -

अब चुनिने राष्ट्रपति संविधानको रक्षक र पालक हुनुपर्छ : अध्यक्ष चित्र बहादुर केसी

काठमाडौं । राष्ट्रपतिको निर्वाचनको मिति नजिकिएसँगै दलहरुबीच रस्साकस्सी चलिरहेको छ। राष्ट्रपति बन्न दलहरूबीच दौडधुप चलिरहेको बेलामा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले राष्ट्रपति संविधानको रक्षक र पालक हुनुपर्ने बताए।

राष्ट्रपतिको निर्वाचन हुन लाग्दा दलहरुबीच विभिन्न चर्चा हुनुलाई स्वभाविक रूपमा लिनुपर्ने उनको भनाइ छ। नेपालका राजनीति दलहरूले आफ्नो स्वार्थअनुकूलको व्यक्तिलाई राष्ट्रपति बनाउन बाह्य शक्ति गुहारेको आरोप लगाए।

उनले नेपाल प्रेससँग भने, ‘यहाँका नेताहरू आफ्नो स्वार्थअनुकूलको व्यक्तिलाई राष्ट्रपति बनाउन विदेशी ढोग्न गएपछि बाह्य सक्रियता बढ्नु स्वभाविक हो। यहाँका व्यक्तिहरू नालायक भएकै कारणले अहिले बाह्य शक्तिले खेल्ने अवसर पाएका छन्।’

आफ्नो देश र स्वाधीनताको मामलामा आफैँले गर्नुपर्ने निर्णयमा आफ्नो दुनो सोझाउन शक्ति राष्ट्रहरूलाई गुहारिहरेको टिप्पणी गरे।

उनले शुक्रवार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर पनि संविधानप्रति इमान्दार रहेको व्यक्तिलाई राष्ट्रपति बनाउन माग गरेको बताए।

उनले भने, ‘अहिले राष्ट्रपतिमाथि विभिन्न आरोप लाग्ने गरेको छ। अहिले छान्दा त्यस्तो हुनुभएन। मैले प्रधानमन्त्रीलाई पनि त्यही भनेको छु।’

उनले प्रधानमन्त्रीले पनि आफूले राष्ट्रपतिमा राष्ट्रिय सहमतिको अडान नछाडेको उल्लेख गर्दै सबै दललाई मिलाउन लागिपर्ने बताएको उनको भनाइ छ।

पुस १० गतेको सहमति अनुसार सत्ता गठबन्धनमा राष्ट्रपति एमालेले पाउने सहमति भएको थियो। तर, अहिले प्रधानमन्त्रीले सहमतिको अडान लिएपछि गठबन्धनमा अविश्वासका बढ्दै गइरहेको छ। दलहरुबीच आन्तरिक दौडधुप चलिरहेको बेलामा विदेशी सक्रियता पनि उस्तै बढेको छ।

शुक्रवार प्रचण्ड र ओली भेटे लगत्तै चिनियाँ राजदूत चेन सोङ बालकोट पुगेका थिए। सत्ता गठबन्धनमा अविश्वास बढ्दै गइरहेको बेलामा राजदूत सोङको भेटलाई अर्थपूर्ण रूपमा लिइएको छ ।

प्रधानमन्त्रीसँग ओलीको अविश्वास बढ्दै गएपछि हौसिएको कांग्रेसले आफूले प्रस्ताव गरेको व्यक्ति नै राष्ट्रपति बन्ने दाबी गर्दै आइरहेको छ ।

कांग्रेस प्रवक्ता प्रकाशशरण महतले राष्ट्रपतिमा माओवादीले आफ्नो उम्मेदवारलाई सघाउने र त्यसको बदलामा ‘प्रचण्ड’ पाँचै वर्ष प्रधानमन्त्री दिने बताइसकेका छन् । त्यसको संकेत गर्दै प्रचण्ड निकट माओवादी नेता रामप्रसाद सापकोटाले राष्ट्रपति कांग्रेसलाई दिने संकेत गरिसकेका छन्।

राष्ट्रपतिको निर्वाचनलाई लिएर विदेशी शक्तिहरू पनि सक्रिय भएर लागेका छन्। दलहरुबीच सत्ताको आन्तरिक चलखेल भइरहेको वेला भारत, अमेरिकालगायतका उच्च अधिकारीहरूको पनि ओहोरदोहोर बाक्लो छ ।

नेपालको सरकार गठनमा चासो राख्दै आएको भारतले अकस्मात् प्रचण्ड प्रधानमन्त्री बनेपछि थप चासोका साथ हेरेको छ । कम्युनिष्ट सरकारप्रति चीन सकारात्मक भए पनि भारत पुरानै गठबन्धनको पक्षमा देखिन्छ ।

यसअघि सत्ता गठबन्धनमा खटपट भइरहेको वेलामा दक्षिणी छिमेक भारतका विदेश सचिव विनयमोहन क्वात्रा सोमबार आएर उच्चस्तरीय भेटघाटमा गरेका थिए ।

क्वात्राले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति देउवा, एमाले अध्यक्ष ओली, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालदेखि लोसपा अध्यक्ष महन्थ ठाकुरसम्मलाई भेटेका थिए ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np