Global Force Media

२०८१ बैशाख १४ - Fri Apr, 2024 -

राष्ट्रपति पदमा कसिलो अडान : कांग्रेस भन्छ- हाम्रैबाट, एमाले भन्छ- आफ्नैबाट

राष्ट्रपति पदमा कसिलो अडान : कांग्रेस भन्छ- हाम्रैबाट, एमाले भन्छ- आफ्नैबाट

काठमाडाैँ- राष्ट्रपतिको निर्वाचन नजिकिएसँगै नेकपा एमाले र नेपाली कांग्रेसले सो पद आफ्नो पार्टीबाट हुने दाबी गरिरहेका छन् । पत्रकार सम्मेलन होस् या सार्वजनिक कार्यक्रममा दिने अभिव्यक्ति एमाले र कांग्रेस नेताका लागि राष्ट्रपति पद मसला हुने गरेको छ ।

आजै एमाले अध्यक्ष केपी ओली र कांग्रेसमा महामन्त्री विश्वप्रकाश शर्माले राष्ट्रपति आफ्नो पार्टीबाट हुने दाबी गरे । ओलीले विराटनगर र शर्माले सुर्खेतमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो दाबी गरेका हुन् ।

नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री ओलीले एमालेका उम्मेदवार राष्ट्रपति बन्ने बताए । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै अध्यक्ष ओलीले एमालेले उठाएको उम्मेदवार जिताउन राष्ट्रिय सहमति बन्ने विश्वास व्यक्त गरे ।

एमालेको उम्मेदवारलाई राष्ट्रपतिमा जिताउन नेकपा (माओवादी केन्द्र) को पनि साथ र समर्थन रहने उनको दाबी थियो ।

त्यस्तै नेपाली कांग्रेसका महामन्त्री शर्माले अबको राष्ट्रपति कांग्रेसबाट बन्ने बताए ।

नेपाली कांग्रेस सुर्खेतले आज आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा महामन्त्री शर्माले कांग्रेस उम्मेदवार नै राष्ट्रपतिमा निर्वाचित हुने दाबी गरे । ‘राष्ट्रपति कांग्रेसले उमेदवार बनाएको व्यक्ति बन्नुहुन्छ, त्यसमा कुनै शङ्का छैन,’ उनले भने ।

महामन्त्री शर्माले संविधानको संरक्षक र कार्यान्वयनको जिम्मेवारीका रुपमा रहेको राष्ट्रपति पद ठूलो पार्टीको हैसियतले कांग्रेसले पाउनु स्वभाविक रहेको बताए । पहिलो दल कांग्रेसले सरकार गठन गर्नुपर्ने भए पनि केही त्रुटीका कारण बाहिर बस्नुपरेको उल्लेख गर्दै उनले त्यसमा कसले के कति गल्ती गर्‍यो भन्ने विषय पार्टीको छलफलको विषय रहेको बताए । अबको केही दिनमा पुरानै गठबन्धन ब्यूँतिने उनले भनाइ राखे ।

सरकार गठनताका एमालेबाट राष्ट्रपति बनाउने सहमति भएको बताइए पनि माओवादी केन्द्रले राष्ट्रिय सहमतिका आधारमा राष्ट्रपति बनाउने निर्णय गरेको छ । जसकारण एमाले सशंकित बन्दै आएको छ ।

राष्ट्रपतिको निर्वाचनलाई लिएर सत्ता गठबन्धनमा अविश्वासको बढ्दै गइरहेको बेलामा प्रधानमन्त्री प्रचण्ड र ओलीको भेटघाट बाक्लिएको छ । भेटमा राष्ट्रपति निर्वाचनसँगै सरकारको पूर्णताबारेसमेत छलफल हुने गरेका छन् ।

भेट विशेषगरी राष्ट्रपति निर्वाचन केन्द्रित हुने गरेको छ । एमालेले पूर्व सहमति अनुसार राष्ट्रपति आफूले पाउने अडान राख्दै आएको छ भने माओवादीले राष्ट्रिय सहमतिको व्यक्तिलाई राष्ट्रपति बनाउनुपर्ने तर्क अघि सार्दै आइरहेको छ ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np