Global Force Media

२०८१ जेष्ठ १४ - Mon May, 2024 -

के नेपाल विदेशीको चक्करमा परेकै हो ?

के नेपाल विदेशीको चक्करमा परेकै हो ?

‘नेपाल विदेशीको चक्करमा परेको छ’ । यो यदाकदा नसुनिएको कुरा होइन । नेपालका बुद्धिजीविहरूले आफ्नो अन्तरवार्तामा यो कुरा भन्ने गर्थे । तर, यसपालि नेपालको एउटा बलियो राजनैतिक पार्टी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबाट नै यो कुरा सुन्न पाइयो । हुन त यो देशमा विदेशीको चलखेल भइरहने कुनै नौलो कुरा होइन । तर, औपचारिक रूपमा नै एउटा पार्टी नेता जो यो देशको पटकपटक प्रधानमन्त्री पनि भइसकेका छन्: उनले नै ‘नेपाल भारतको दलाल हो’ भन्नु कम आश्चर्यजनक होइन । उनले यो कुरा फोकटमा बोलेका होइनन् होला ।

केपी शर्मा ओलीले यो आलोचना प्रधानमन्त्री पुष्पकमल दाहालमाथि लगाएका हुन् । उनले तोकेरै दुईटा कुरा गरेका छन् । पहिलो कुरा उनले भारतबाट आएको विषादीयुक्त तरकारी परीक्षण नगरी नेपालीको भान्सामा पठाएर भारतीय पक्षको सेवा गरेको कुरा उठाएका छन् । भारतसित रहेको खुला सीमाबाट विना परीक्षण आउने गरेको तरकारीले नेपालका किसानहरूले उत्पादन गरेको तरकारीको बिक्री वितरण हुन नसकेको र सडकमा फालिएको दुष्प्रभाव परेको हामीले पनि देखे भोगेका छौं ।

यो कुनै नौलो कुरा होइन । किनभने केपी शर्मा ओली आफैँ प्रधानमन्त्री हुँदा पनि यो काम हुने गर्दथ्यो । उनको हातमा सत्ता हुँदा सीमानामा कोभिडको महामारी फैलिएको थियो । भारतमा कोभिड बढ्दै जाँदा नेपालमा पनि बढ्दै जाने गर्दथ्यो । त्यसबेला सीमाना क्षेत्रमा अनेक प्रतिबन्ध लगाइएको थियो । मानिसहरूलाई सीमानामा बस्ने भवनहरू पनि बनाइएका थिए । तर, मानिसहरूको आवतजावत हुँदा सम्म ती भवनहरू तैयार भइसकेका थिएनन् । आज ती भवनहरूको स्थिति के छ थाहा छैन ।

ओलीले भनेका छन्ः ‘अहिले सरकारमा बस्नेलाई कुनै लाजसरम छैन । भान्साभान्सामा विषादीयुक्त चीज पुग्न दिँदा विदेशी खुसी हुन्छन् कि हुँदैनन् ? त्यही हो कुरा । खुसी हुन्छन् भने नेपाली मरेर के भयो र ? नेपालीको भान्सामा विषादी आएर के भयो ? सके जति त जाँच्नु प¥पो नि । तर, जाँच्न नपाइने । छिमेकीलाई खुसी पार्ने, आफ्ना जनतालाई विषाक्त चिज खुवाएर मार्ने ? यस प्रकारको नीति लिएको छ सरकारले ।’

ओलीले लगाएको यस आरोपमा सरकार मौन छ । यस भनाई माथि सरकारी पक्षले कुनै टिकाटिप्पणी गरेको छैन । केपी शर्मा ओली प्रधानमन्त्री भएको बेलामा पनि भारतबाट बेरोकतोक तरकारी र फलफूल आदि आउने गरेकै थियो । त्यो बेला पनि विषादीयुक्त तरकारी र फलफूल नेपालीको भान्छामा पुगेकै थियो । त्यसलाई रोक्न ओलीले पनि कुनै ठोस कदम चालेका थिएनन् । मुख्य चुरो कुरो के हो भने नेपाल र भारतको सीमाना खुला राख्नु नै नेपालको दुर्भाग्य भएको छ । एउटा स्वतन्त्र देशको रूपमा विकास गर्ने हो भने नेपालको सीमाना कुनै पनि देश सित खुला राख्नु हुँदैन ।

भारतका गृह मन्त्री अमित शाहले यो कुराको मनन राम्रोसँग गरेका छन् । भारतको स्वतन्त्र विकास गर्नका लागि सबै सीमाना नियन्त्रित गर्नु पर्छ भन्ने उनको भनाई छ । त्यो सिद्धान्त नेपालमा पनि लागु हुन्छ । तर, चाहे केपी शर्मा ओली प्रधानमन्त्री होस् या पुष्पकमल दाहाल या शेरबहादुर देउवा कसैले पनि नेपालको सीमाना भारतसित नियन्त्रित गर्ने कोसिस गरेनन् । खुला रहेको सीमानाबाट के के आउँछ को को आउँ छ, त्यहाँ के के हुन्छ र त्यहाँका जनताले के के व्यहोर्नु पर्छ भनेर सयौं पटक भनि सकेका र बुझिसकेका छन् । तै पनि केही नहुनु नेपालको दुर्भाग्य हो ।

ओलीले अर्को विषय पनि उठाएका छन् ‘मुस्ताङ्गमा भारतको सहयोगबाट विश्वविद्यालय खोल्ने ।’ यस बारेमा पनि उनले सारै कडा शब्दमा आलोचना गरेका छन् । उनले भनेका छन्ः ‘मुस्ताङ्गमा विश्वविद्यालय भनेको के हो ? मुस्ताङ्गमा विश्वविद्यालय खोल्नु भनेको विदेशीको दलाली हो । राष्ट्रियता माथि प्रहार हो । मित्र राष्ट्र चीन विरुद्ध गद्दारी हो । आफ्नै राष्ट्रको सार्वभौमसत्तालाई अस्वीकार गर्न खोजिएको हो । स्वाधिनतालाई अस्वीकार गरिएको हो । विश्वविद्यालयको नाउँमा अर्थोक नै गर्न खोजेको हो ।’

यस बारेमा गोरखापत्रले ओलीको भनाईलाई भ्रमपूर्ण समाचार भनेर सरकारको प्रवक्ताको भनाई छापेको छ । नेपाल सरकारको तर्फबाट यस विषयमा कुनै निर्णय नगरिएको कुरा भनिएको छ । सरकारले भने यसो भनेको छ : ‘यस सम्बन्धमा मुस्ताङ्गको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले कलेज सञ्चालनका लागि भवन बनाउन सहयोग गर्न अनुरोध गर्दै भारतीय दूतावासमा सहयोग मागेको भन्ने समाचार सार्वजनिक भएकाले यस सम्बन्धमा के भएको हो, सो को अध्ययन र आवश्यक छानबिन गरी सत्य तथ्य सार्वजनिक गर्ने व्यहोरा जानकारी गराउन चाहन्छौं ।’

ओलीको दाबी अनुसार ‘मुलुकलाई विदेशीको खेल मैदान बनाउन खोजेको हो । त्यहाँको युरेनियममा ध्यान दिएको हो । तर, प्रधानमन्त्री पुष्पकमल दाहालले यसै बारे बोलेका छन् । उनले भनेका छन्, ‘मुस्ताङको एक विद्यालयले बौद्ध दर्शनमा पठनपाठन गराउन अनुमतिका लागि निवेदन दिएको तर त्यसको पनि स्वीकृति हाल सम्म सरकारी निकायले दिएको छैन । यहाँ धेरै हल्ला आएका छन् तर वर्तमान सरकार राष्ट्रिय आर्थिक समृद्धि खोज्ने विषय बाहेक कतै लागेको छैन ।’

ओलीले भनेका छन् कि मुस्ताङमा पाइएको युरेनियममाथि आँखा गाढेर भारतले सहयोग गर्न लागेको हो । यसै सिलसिलामा प्रधानमन्त्री पुष्पकमल दाहालले भने मुस्ताङ जस्तो महत्वपूर्ण प्राकृतिक सम्पदायुक्त क्षेत्रलाई राष्ट्रिय अर्थतन्त्रको विकासमा जोड्ने योजनामा सरकार रहेको बताए । उनले भने, ‘अमूल्य खनिज उत्खनन गरेर सयौं वर्षका लागि आर्थिक उत्थान हुने गरी क्रान्तिकारी परिवर्तन को पक्षमा वर्तमान सरकार प्रतिबद्ध छ ।’

यसबाट यति सम्म थाहा भयो कि मुस्ताङमा बुद्ध धर्मबारे उच्च अध्ययन गर्नका लागि अनुमति मागिएको रहेछ । विश्वविद्यालयको कुरा हल्ला मात्र हो भनेर सरकारले भनेको पनि थाहा भयो । मुख्य कुरा हो मुस्ताङ तिब्बतको भौगोलिक सीमामा रहेको उच्च हिमाली भागमा भएको नेपालको जिल्ला हो । त्यस कारणले सरकारले त्यो जिल्लाको माथिल्लो भागलाई लामो समयदेखि एक निषेधित क्षेत्र मान्दै आएको थियो । पहिला तिब्बतको स्वतन्त्रताका लागि खम्पाहरूको विद्रोह हुँदा पनि सो जिल्लालाई उनीहरूले प्रयोग गरेका थिए र नेपाली सेनाले उनीहरूको गतिविधिलाई दमन गरी आत्मसमर्पण गराएको थियो ।

चीनको विरुद्ध कुनै गतिविधि गर्न त्यो ठाउँबाट सजिलो छ भनेर सबैलाई थाहा छ । त्यसैले पनि सो जिल्लाको उत्तरी भेगमा विदेशीहरूलाई सहजै जान प्रतिबन्ध लगाइएको थियो । त्यो ठाउँमा युरेनियम जस्तो खनिज पदार्थ पाइएको समाचार पनि आएको हो । युरेनियम भन्ने खनिज पदार्थ अणुबम बनाउन प्रयोग गरिने कुरा पनि धेरैलाई थाहा भइसकेको हो । यो मूल्यवान खनिज पदार्थ मानिन्छ । हुन त यसको उपयोग राम्ररी गर्न सकियो भने नेपाल धनी हुने निश्चित छ । तर, नेपालको भ्रष्टाचारजन्य क्रियाकलापको पृष्ठभूमिमा अहिले नेपाल सहजै धनी हुने कुरा विचार गर्न सकिन्न । हो, यसको राम्रो उपयोग गरेर यहाँका भ्रष्ट प्रशासकहरू भने धनी हुन सक्छन् ।

नेपालमा विभिन्न समयमा ऐतिहासिक रूपमा नै विदेशीहरूको सहायता नखोजिएको होइन । जयप्रताप मल्लले पृथ्वीनारायण शाहको विरुद्ध अंग्रेजसित सहायता मागेका थिए । उही अंग्रेज शक्तिसित लड्न भीमसेन थापाले चीनसित सहायता मागेका थिए । देशमा ठूलो संकट आएको बेला विदेशीसित सहायता माग्नु मनासिव ठानिएको छ । तर, नेपालमा त्यस्तो ठूलो संकट आएको पनि देखिन्न । भूकम्प आएको बेला धेरै देशहरूले नेपालको सहयोग पनि गरेको हो । तर, त्यसलाई एक स्वाभाविक प्रक्रिया मानिन्छ ।

तर, जुन किसिमले नेपालका शासकहरू विदेशीको हितमा सहयोगी भएका छन् त्यसलाई स्वाभाविक मान्न सकिन्न । ओलीले उठाएका कुराहरू केही अफवाह हुन सक्छन् तर जुन स्तरमा यो कुरा उठाइयो त्यो गम्भीर भने छ । चीनमा सांस्कृतिक क्रान्ति हुँदा पनि एक जना नेपालीको हत्या भएको थियो । अहिले मुस्ताङमा जे हुन लागेको छ त्यो खालि हल्ला थियो भनेर मात्रै मान्न सकिन्न । चीनको सार्वभौमसत्ताको स्वार्थमा धक्का पुग्ने गरी नेपालमा केही गतिविधि हुन थाल्यो भने चीन चुप लागेर नबस्न पनि सक्छ । त्यसबेला नेपाल पनि युक्रेन जस्तो हालतमा नपुग्ला भन्न सकिन्न । अहिलेका नेपालका नेताहरू कि त दक्षिण भारतको कि उत्तर चीनको हितमा अल्मलिएका छन् । पूर्व प्रधानमन्त्री ओली र वर्तमान प्रधानमन्त्रीको बीचमा नै राष्ट्रिय हितको कुरामा एकमत छैन र एकअर्कामा आरोप लगाउँछन् भने नेपालको राष्ट्रिय हितमा साझा धारणा कसरी बनाउने भन्ने प्रश्न उठेको छ । ओलीको आरोप सही नहोस् र दाहालको आस्वासन सही होस् । तर, ओलीका बोलीहरू निकै नै सोचनीय छन् । श्रोत: आइएनएस-स्वतन्त्र समाचार

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np