Global Force Media

२०८१ बैशाख १४ - Fri Apr, 2024 -

भ्रष्टाचारविरुद्ध सशक्त अभियान चलाउनुपर्ने अवस्था आएको छ : उपमहासचिव पोखरेल

खोटाङ- नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपमहासचिव एवं पूर्वशिक्षामन्त्री गिरिराजमणि पोखरेलले भ्रष्टाचारविरुद्ध सशक्त अभियान सञ्चालन गर्नुपर्ने अवस्था रहेको बताएका छन् ।

विकास र समाजको लोकतान्त्रिकरणको प्रक्रियालाई अगाडि बढाउन भ्रष्टाचार घातक रोगका रुपमा देखापरेको उल्लेख गर्दै पार्टी स्कुल विभाग प्रमुखसमेत रहनुभएका पोखरेलले भ्रष्ट मानसिकताविरुद्ध सबैतिर सङ्घर्ष गर्न जरुरी रहेको औँल्याए ।

“भ्रष्टाचारविरुद्ध एउटा सशक्त अभियान जरुरी छ । अहिले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले भ्रष्टाचारविरुद्धका कदम अगाडि बढाएको छ”, उपमहासचिव पोखरेलले भने, “अरु क्षेत्रमा देखा परेका भ्रष्टाचारविरुद्ध पनि पार्टी कार्यकर्ताले सशक्त अभियान चलाउन आवश्यक छ । भ्रष्ट मानसिकताविरुद्ध भित्र र बाहिर सबैतिर सशक्तरुपमा सङ्घर्ष गर्न जरुरी छ ।”

नेकपा (माओवादी केन्द्र) जिल्ला समन्वय समिति खोटाङले शुक्रबार दिक्तेलमा आयोजना गरेको माध्यमिक तहको दुई दिने पार्टी स्कुल कार्यक्रमलाई सम्बोधन गर्दै उपमहासचिव पोखरेलले प्रधानमन्त्री दाहालको भारत भ्रमणलाई सद्भावना भ्रमणको अर्थमा बुझ्न नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् । प्रधानमन्त्रीको भ्रमणलाई धेरै हौसिने वा नकरात्मक ढङ्गले प्रस्तुत नगर्नसमेत उनले आग्रह गरे ।

“हामीलेछिमेकी राष्ट्रसँगको सम्बन्धलाई महत्वका साथ अगाडि बढाए मात्रै हामी अगाडि बढ्न सक्छौँ”, उपमहासचिव पोखरेलले भने, “यो पक्षलाई हेरेर प्रधानमन्त्री भारत भ्रमणमा जानुभएको छ । म त्यसलाई वस्तुनिष्ठ ढङ्गले मूल्याङ्कन गर्न सबैमा आग्रह गर्न चाहन्छु ।”

पार्टी स्कूल कार्यक्रमलाई प्रविधिसँग जोडेर अगाडि बढाउनुपर्ने उनले बताए । “पछिल्लो समय सामाजिक सञ्जाल हेरेर नेता तथा कार्यकर्ताले आफ्नो अवधारणा बनाउने गरेका छन् । फेसबुके विश्लेषणले काम दिँदैन”, उनले भने, “अहिले राष्ट्र र राष्ट्रियतामाथि विभिन्न क्षेत्रबाट हमला भइरहेको छ । यसलाई संरक्षण गर्न सबै नेता तथा कार्यकर्ता गम्भीर हुन जरुरी छ ।”

सो अवसरमा अनुशासन आयोगका अध्यक्ष एवं पूर्वसांसद टङ्क राई, बाम विश्लेषक एवं पूर्वसांसद हरि रोका, संविधानसभा सदस्य एवं माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य दुर्गाजयन्ती राई, डाक्टर धनप्रसाद सुवेदी, ध्रुव श्रेष्ठ, रमेश सुनुवार र रामदीप आचार्यलगायतले सहजीकरण गरिरहेका छन् ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np