Global Force Media

२०८१ बैशाख १९ - Wed May, 2024 -

निर्वाचन प्रणाली फेर्न संविधान संशोधन पक्षमा कांग्रेस नेताहरू

नेपाली कांग्रेसभित्र निर्वाचन प्रणाली बदल्नुपर्ने आवाज उठेको छ।

यसका लागि संविधान संशोधन गर्न कांग्रेसले नेतृत्व लिनुपर्ने केन्द्रीय सदस्यहरूले बताएका हुन्।

नेपालमा दुई सदनात्मक व्यवस्था छ। २७५ सदस्यीय प्रतिनिधि सभा र ५९ सदस्यीय राष्ट्रिय सभा रहने व्यवस्था छ।

प्रतिनिधि सभामा प्रत्यक्षतर्फ १६५ र समानुपातिकतर्फ ११० क्षेत्र छन्।

प्रतिनिधि सभा प्रत्यक्ष र समानुपातिक प्रणालीबाट निर्वाचित भई बन्ने भएकोले कुनै दलको पनि बहुमत नआएको निचोडमा कांग्रेस नेताहरू पुगेका छन्।

उनीहरूले प्रतिनिधि सभा प्रत्यक्ष निर्वाचित व्यवस्था मात्र राख्नका लागि संविधान संशोधनका पक्षमा उभिन पार्टी नेतृत्वलाई आग्रहसमेत गरेका छन्।

नेता शेखर कोइरालाले प्रतिनिधि सभा पूर्ण प्रत्यक्ष हुनुपर्ने बताए।

‘प्रत्यक्ष निर्वाचन प्रणालीभित्रबाटै समानुपातिक र समावेशीको सुनिश्चितता गरिनुपर्छ। त्यसको पहल नेपाली कांग्रेसले गर्नुपर्छ,’ कोइरालाले भने।

अर्का नेता शंकर भण्डारीले निर्वाचन प्रणालीबारे अब पुनर्विचार गर्ने बेला आइसकेको बताए।

‘जुन निर्वाचन प्रणालीले गर्दा कुनै पनि दलको बहुमत आउन नसक्ने मात्र होइन धेरै विकृतिसमेत ल्याएको छ,’ उनले भने, ‘निर्वाचन प्रणाली फेरौं। बरू राष्ट्रिय सभालाई समावेशी र समानुपातिक बनाउन सकिन्छ।’

नेता पुष्पा भुसालले मिश्रित निर्वाचन प्रणाली छाडेर अब पूर्ण प्रत्यक्ष निर्वाचित प्रतिनिधि सभा रहने व्यवस्था गरिनुपर्ने बताइन्।

‘मिश्रित निर्वाचन प्रणालीलाई अब प्रत्यक्षतर्फ लैजान पहल गरौं,’ उनले भनिन्, ‘प्रत्यक्षबाटै ३३ प्रतिशत महिला र दलितलगायतको निर्वाचन क्षेत्र तोकौं।’

नेता प्रदीप पौडेलले विद्यान व्यवस्थाबाट कसैले पनि बहुमत ल्याउने स्थिति नदेखिएको बताए।

‘निर्वाचन प्रणालीका केही संवैधानिक प्रावधान संशोधन गर्न कांग्रेसले नेतृत्व गर्नुपर्छ,’ उनले भने।

समावेशी समानुपातिक प्रतिनिधित्व हुने गरी प्रतिनिधि सभा प्रत्यक्ष निर्वाचनको व्यवस्था गरिनुपर्ने उनले बताए।

‘प्रतिनिधि सभाका लागि २०१ सिटमा चुनाव गरौं। त्यहीँभित्र समावेशी र समानुपातिक प्रतिनिधित्व हुने व्यवस्था गरौं,’ उनले भने, ‘प्रदेशमा पनि प्रत्यक्ष निर्वाचन प्रणाली नै राखौं।’

राष्ट्रिय सभा समावेशी प्रतिनिधित्वसहित ३५ सदस्यीय बनाउन सकिने उनले बताए।

अर्का नेता चीनकाजी श्रेष्ठले अहिलेको निर्वाचन प्रणालीका कारण कसैको पनि बहुमत नआएको र अस्थिरतासमेत निम्तने गरेको बताए।

‘प्रतिनिधि सभामा समानुपातिक व्यवस्था छ- त्यसले गर्दा स्थायी सरकार बन्ने अवस्था छैन,’ उनले भने, ‘अस्थिर सरकार बन्ने र एकले अर्काको खुट्टा तान्ने प्रवृत्ति छ। विश्वास मत लिइरहनुपर्ने अवस्था पनि छ।’

जनताले पनि मिश्रित निर्वाचन प्रणालीमा असन्तुष्टि जनाएकोले प्रतिनिधि सभाबाट समानुपातिक व्यवस्था हटाउन पार्टीले भूमिका खेल्नुपर्ने श्रेष्ठले बताए।

‘महिला, दलित लगायतको प्रतिनिधित्व सुनिश्चितताका लागि समानुपातिक व्यवस्था राखेको हो। महिलालाई ३३ प्रतिशतसहित अरूलाई पनि आरक्षण राख्न मिल्छ। महिलालाई मात्रै उम्मेदवार उठाउन क्षेत्र पनि तोक्न सकिन्छ,’ उनले भने।

श्रेष्ठले प्रतिनिधि सभाबाट समानुपातिक हटाएमा ठूला पार्टीले एकल बहुमत ल्याउन सक्ने दाबी गरेका थिए।

कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले अहिलेको निर्वाचन प्रणालीले अस्थिरता बढेको बताए।

‘मिश्रित प्रणालीबाट अब हामी प्रत्यक्ष निर्वाचन प्रणालीमा जानुपर्ने देखिन्छ,’ उनले भने, ‘व्यवस्था परिवर्तन गर्न कांग्रेसले नेतृत्व गर्‍यो। तर जनताको अवस्था परिवर्तन भएको छैन। अस्थिरता हटाउन पनि निर्वाचन प्रणाली बदलौं।’

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np