Global Force Media

२०८१ जेष्ठ ६ - Sun May, 2024 -

शेखर समूह आक्रामक बन्दै, सबै भ्रातृ संस्थामा समानान्तर समिति बनाएर जाने तयारी

काठमाडौँ – नेपाली कांग्रेसको पार्टी नेतृत्वको रवैयाप्रति नेता डा. शेखर कोइराला समूह आक्रामक देखिएको छ । विभिन्न भ्रातृ संगठनमा सभापति शेरबहादुर देउवाले एकलौटी गरेपछि कोइराला समूह आक्रामक बनेको हो । आज कोइरालाको सचिवालय विशालनगरमा रूपान्तरका अभियानका प्रदेश संयोजकहरूसँगको भेटघाटमा १६५ निर्वाचन क्षेत्रमै दोस्रो चरणको रुपान्तरण अभियान सञ्चालन गर्ने र एकलौटी रुपमा भ्रातृ संस्थाका संयोजक तोकिएका जिल्लाहरूमा समानान्तर समिति गठन गर्ने तयारी गरेको छ । 

कोइराला समूह नेपाल विद्यार्थी संघको केन्द्रीय सदस्य मनोनयनमा सल्लाह बमोजिम नगरेपछि रुष्ट बनेको हो । नेविसंघको केन्द्रीय समिति ५५० को बनाउने भन्ने देउवा र कोइराला समूहबीच सहमति भएको थियो । तर नेविसंघको समिति आउँदा थप १६० थपेर ७१० को समिति आएको थियो । त्यसमा पनि कोइराला समूहका केही व्यक्तिको नाम छानी छानी काटेपछि कोइराला समूह थप आक्रोशित बनेको छ । नेविसंघका अध्यक्ष डुजाङ शेर्पाले विभिन्न जिल्लामा एकलौटी ढंगले जिल्ला संयोजकहरू मनोनयन गरेका छन् । यसमासमेत कोइराला समूहको असन्तुष्टि छ ।

यस्तै नेपाल महिला संघमा पनि विवाद देखिएको छ । सभापति उषा राउतले १२ वटा जिल्लाका संयोजक तोकेपछि कोइराला समूहले असन्तुष्टि जनाउँदै पत्रकार सम्मेलन नै गरेको थियो । महिला संघको समिति आएपछि कुनै छलफल नै नगरी राउतले एकलौटी जिल्ला संयोजक मनोनयन गरेकी थिइन् । राउतले महिला संघको आफ्नो कार्यालय हुँदा हुँदै घरबाट नै कार्यालय सञ्चालन गरेको महिला संघकी एक केन्द्रीय सदस्यले बताइन् । उनले भनिन्, ‘मनपरी रुपमा कार्यसमितिमा कुनै सल्लाह नै नगरी सभापतिजीले जिल्ला संयोजक मनोनयन गर्नुभएको छ त्यसमा हाम्रो घोर आपत्ति छ ।’ 

त्यस्तै नेपाल किसान संघका सभापति गणेश तिमल्सिनाले पनि एकलौटी ढंगले संगठन चलाएको कोइराला समूहको आरोप छ । संघका अध्यक्ष तिमल्सिनाले सल्लाह नै नगरी सातै प्रदेशमा प्रदेश समिति बनाउँदासमेत कोइराला समूहका एक जना पनि अट्न सकेका छैनन् । 

यता नेपाल तरुण दलको हालत पनि उस्तै छ । मनोनीत अध्यक्ष विद्धान गुरुङले एकलौटी ढंगले जिल्ला संयोजक मनोनयन गरेका छन् । तरुण दल केन्द्रीय समिति मनोनयन गर्दा कुनै विवाद नभएपनि गुरुङले कुनै सल्लाह नै नगरी एकलौटी ढंगले संयोजक मनोनयन गरेका हुन् ।  यसमा पनि कोइराला समूहले आपत्ति जनाएको छ । 

कोइराला समूहले रुपान्तरण अभियानलाई १६५ क्षेत्रमा नै सञ्चालन गर्ने निर्णय गरेको छ । सात प्रदेशमा गरेको रुपान्तरण अभियानले तल्लो तहमा आशा जगाएकाले कोइरालाले पार्टीको वैधानिक संरचनामार्फत नै १६५ क्षेत्रमै रुपान्तरण अभियान सञ्चालन गर्न निर्देशन दिए ।  बैठकले पर्सा निर्वाचन क्षेत्र नम्बर १ का सभापति अरबिन्द  गुप्तालाई अनुशासन कारबाहीका नाममा बर्खास्त गरिएको प्रति आपत्ति जनाएको छ । कैलालीका क्षेत्रीय प्रतिनिधिद्वय लोकराज पाण्डे (आगो) र सुरतबहादुर कार्कीलाई विधानविपरीत कैलाली सभापति नारायणदत्त भट्टले अनुशासनको कारबाही गरेकोमा सो कारबाही फिर्ता हुनुपर्ने अडान राखेको छ । बैठकमा कोइरालानिकटस्थहरू उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, सहमहामन्त्री जीवन परियारलगायत पनि थिए ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np