Global Force Media

२०८१ बैशाख १८ - Tue Apr, 2024 -

त्रिदेशीय बंगाल ट्राभल मार्ट : चाडवाडको छेकोमा पर्यटकलाई पोखरा घुम्न निम्तो

२५ भदौ, सिलिगुडी (भारत) । विश्वका ठूलो अर्थ व्यवस्था भएका देशहरूको संगठन जी-२० को शिखर सम्मेलन नयाँदिल्लीमा आयोजना भएको बेला भारतकै पश्चिम बंगालमा नेपाल र भुटानजस्ता छिमेकी मुलुकका व्यवसायी भने चाडबाडको छेकोमा पर्यटक कसरी भित्राउने भन्ने छलफलमा जुटेका हुन् ।

पश्चिम बंगालको कूल अर्थतन्त्रमा १२.६ प्रतिशतको योगदान पुर्‍याएको पर्यटन क्षेत्रलाई कसरी चलायनमान बनाउन सकिन्छ भनेर इस्टर्न हिमालयन ट्राभल एण्ड टुर अपरेटर्स एसोसिएसनले सातौं ‘बंगाल ट्राभल मार्ट’ (बीटीएम) आयोजना गरेको छ ।

शनिबारदेखि तीन दिनसम्म चल्ने बिटिएममा सहभागी नेपाली पर्यटन व्यवसायीहरुले भारतका व्यवसायी, ट्राभल एजेन्ट्स र कस्टमरलाई भेटेर नेपाल भ्रमणमा आउन निम्तो दिएका छन् ।

दुर्गा पूजा, दीपावलीजस्ता चाडको बिदामा पश्चिम बंगालमा कसरी पर्यटक भित्राउन सकिन्छ भनेर छिमेकी मुलुकका पर्यटन क्षेत्रमा क्रियाशील संस्था तथा व्यवसायीलाई बोलाएर बंगाल ट्राभल मार्ट आयोजना भएको हो । मार्टमा भारत, नेपाल र भुटानका डेढ सय स्टलहरुबाट आ-आफ्ना देशमा पर्यटक बोलाउँदै प्याकेजका कार्यक्रमसहित प्रचार गरेका छन् ।

नेपाल एसोसिएसन अफ टूर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) गण्डकीको नेतृत्वमा शनिबार साँझ सिलिगुडी पुगेर पोखरेली व्यवसायीले प्रचार सामग्री र सम्भावना देखाउँदै पर्यटक बोलाइरहेका छन् भने नेपाल पर्यटन बोर्ड र कोशी प्रदेशका व्यवसायीले पनि मार्टमा स्टल राखेर भारतीय ट्राभल एजेन्ट्स, व्यवसायी र दर्शकलाई नेपाल घुम्नका लागि निम्ता दिएका छन् । भारतले दूर्गा पूजा, दीपावलीमा पर्यटकलाई आकषिर्त गर्न गतिविधि बढाइरहँदा नेपालका व्यवसायीले पनि यही चाडबाडको छेकोमा मुख्य गन्तव्य पोखरा र मुक्तिनाथजस्ता क्षेत्रलाई बनाउन आग्रह गरेका छन् ।

२०१६ मा सुरु भएको मार्टको एउटा संस्करण कोरोना महामारीका कारण हुन पाएन । त्योबाहेक हरेक संस्करणमा पोखराका व्यवसायीहरुले सहभागिता जनाइरहेको नाट्टा गण्डकीका अध्यक्ष हरिराम अधिकारीले बताए ।

यसअघिका संस्करणमा बंगलादेशको पनि सहभागिता हुने गरेको भए पनि यसपटक छुटेको छ । सिलगुडी नगर निगमका मेयर गौतम देवले ट्राभल मार्टले छिमेकी मुलुकको व्यावसायिक सम्बन्ध र अर्थतन्त्र मजबुद बनाउन सघाउ पुर्‍याउने बताए ।

कोरोनापछि नेपालसहित पोखराको पर्यटनको ठूलो हिस्सा भारतीय पर्यटकले नै धानेको छ । तर, अझै धेरै पर्यटकलाई आकषिर्त गर्न पोखरेली पर्यटन व्यवसायीले आइतबार बिजनेस टू बिजनेस (बीटूबी) र सिधै कस्टम्मरलाई पनि मार्टमा प्रत्यक्ष भेटेर भारतीय पर्यटकले बेलामौकामा गर्ने गुनासो र समस्या चिर्ने प्रयत्न गरे ।

नेपालको सडकबारे गुनासो

पोखरा महानगरपालिकाको सहयोगमा भिडियो र प्रचार सामग्रीसहित व्यवसायीले सबै सिजनका लागि पोखरा उपयुक्त रहेको तथा धार्मिक पर्यटनको पनि गन्तव्य रहेको बताए । भारतीय व्यवसायी तथा एजेन्ट्सको धेरै गुनासो नेपालको सडकप्रति थियो । भारतमा लामो समयदेखि चलिरहेको दर्शन ट्राभल एन्ड टूर कम्पनीका प्रतिनिधि आशिष दासले नेपाल र त्यसमा पनि पोखरा धेरैको रोजाइमा पर्ने तर सडकको समस्याबारे धेरैले गुनासो गर्ने गरेको बताए ।

‘पोखराबारे धेरैको चासो छ । तर, ६/७ घन्टाको सडकमा पनि १२/१३ घन्टा लाग्छ । गर्मी मौसममा त झन् पोखरा जाने चाहने धेरै हुन्छन् । लुम्बिनी, चितवन, मनकामनासँगै पशुपतिनाथ र मुक्तिनाथसम्म जान खोज्नेहरु हुन्छन्,’ दासले भने, ‘तर, सडककै कारण दुःख पाएको धेरैको गुनासो हुन्छ । गाडी लिएर जाँदा अरु समस्या पनि पर्छ ।’

पोखरा लगायतका ठाउँ महंगोसमेत हुने गरेको गुनासो भारतीय व्यवसायी तथा एजेन्ट्सको थियो । पोखराका व्यवसायीले भने अहिले नेपालका प्रमुख सडकहरु निर्माणको क्रममै रहेको र त्यो समस्या छिट्टै हट्ने आश्वासन दिलाए । ‘नेपालका धेरै सडक अहिले निर्माणका क्रममा हुँदा धेरैलाई समस्या परेको हुन सक्छ तर यो सधैं रहँदैन । छिट्टै सडक सुधार हुन्छ र तपाईंहरु स्थलमार्ग वा हवाई मार्ग दुबैमार्फत आउन सक्नुहुन्छ,’ मार्टमा बोल्दै नाट्टा गण्डकीका अध्यक्ष हरिरामले भने, ‘हामी तपाईंहरुलाई स्वागत गर्न तम्तयार छौं । हाम्रो पर्यटनसँगको ठूलो हिस्सा भारतकै हो तर यो सम्बन्ध सधैं कायम रहिरहने छ ।’

पश्चिम बंगालका पर्यटकलाई पूर्वी नेपाल हुँदै भित्राएर झापाको भद्रपुर विमानस्थलबाट सिधै पोखरासम्म पुर्‍याउने लक्ष्यसहित भद्रपुर-पोखरा उडान सुरु भएको थियो । तर, मौसम र यात्रुको अभाव देखाउँदै उडान सुरु गरेको बुद्ध एयरले उडान बन्द गरेपछि फेरि सुरुआत गराउन पहल गरिरहेको र त्यसले पनि सहजता पैदा गर्ने पोखरा पर्यटन परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठले बताए ।

हिन्दू र बौद्ध धर्मावलम्बीका लागि पनि नेपाल उपयुक्त गन्तव्य भएको र त्यसमा पनि मुक्तिनाथ धेरै भारतीयको आस्थाको केन्द्र रहेको श्रेष्ठको भनाइ थियो । ‘पोखरा प्राकृतिक, सांस्कृतिक सम्पदाको केन्द्र हो । पोखराले धेरै साहसिक पर्यटनको विकास पनि गरेको छ,’ मार्टको उद्घाटन सत्रमा श्रेष्ठले भने, ‘मुक्तिनाथजस्ता धेरै धार्मिक आस्थाका केन्द्रमा पनि तपाईंहरुलाई स्वागत गर्न आतुर छौं ।’

मार्टमा छिमेकी देशका व्यवसायीलाई केन्द्रमा राखेर प्रचारप्रसार र निमन्त्रणा दिइएको थियो । यो मार्टले व्यवासायीदेखि व्यवसायीसम्म र कस्टमरसम्म पुग्न सहयोग पुर्याएको नाट्टा गण्डकीकी महासचिव संगीता पौडेलले बताइन् । ट्राभल मार्टको अघिल्ला संस्करणबाट पोखरा पुग्नेहरु थपिएको र कोरोनापछि लयमा फर्किएको पोखराको पर्यटनलाई अबको चाडपर्वको बिदाले थप सहयोग पुग्ने उनको अपेक्षा छ ।

नेपाल पर्यटन बोर्डका म्यानेजर सूर्य थपलियाले पर्यटकीय गतिविधि बढाउन र देशको सम्भाव्यना देखाउँदै पर्यटकलाई प्याकेजका कार्यक्रम बेच्न मार्ट उपयुक्त थलो भएको बताए ।

तीन दिनसम्म चल्ने मार्टमा सहभागी हुन पोखरादेखि १५ जनाको टोली सिलगुडीमा पुगेको हो । स्थलमार्ग हुँदै जाँदा सिलगुडी पोखराबाट जम्मा ६३० किलोमिटरको दूरीमा छ । उपयुक्त वातावरण बनाउन सक्ने हो भने छुट्टी मनाउन सिधै पोखरा पुग्न यो द्वार उपयुक्त हुने विश्वास पर्यटनकर्मीको छ ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np