नेम्वाङको पार्थिव शरीर आज च्यासलमै राखिने, पर्सि अन्त्येष्टिको तयारी
२६ भदौ, काठमाडौं । संविधानसभाका दिवंगत अध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थिव शरीरलाई सोमबार राति नेकपा एमालेको पार्टी कार्यालयमै राखिने भएको छ ।
एमाले उपाध्यक्ष समेत रहेका नेम्वाङको सोमबार विहान निधन भएको थियो । उनको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि अपराह्न ५ बजेसम्म एमाले पार्टी कार्यालय, च्यासलमा राखिएको थियो ।
एमाले कार्यालय सचिव भीष्म अधिकारीका अनुसार उनको पार्थिव शरीरलाई राति पार्टी कार्यालयमा नै राखिनेछ । त्यहाँ पार्टीका नेता कार्यकर्ता र सुरक्षाकर्मी रहनेछन् ।
मंगलबार विहान ११ बजेदेखि १ बजेसम्म श्रद्धाञ्जलीका लागि समय तोकिएको छ । त्यसपछि नेम्वाङको पार्थिव शरीरलाई उनको बालुवाटारस्थित निवासमा लगिनेछ ।