Global Force Media

२०८१ बैशाख १६ - Sun Apr, 2024 -

कागबेनीका बाढी प्रभावितको सहयोगका लागि करिब ८० लाख संकलन

गण्डकी- मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीका बाढी प्रभावितलाई राहत जुट्ने क्रम जारी छ । गत साउन २८ गते कागखोलामा आएको बाढीबाट जायजेथा गुमाएकाको पुनःस्थापनाका लागि स्वःस्फूर्त सहयोग उठिरहेको हो । कागबेनी बस्ती पुनःस्थापना तथा संरक्षण समितिका संयोजक फेन्चोक छेप्तेन गुरुङका अनुसार जनस्तरबाट हालसम्म करिब रु ८० लाख संकलन भएको छ ।

‘देशविदेशमा रहेका मुस्ताङवासीबाट सहयोग आउने क्रम जारी छ, स्थानीय सङ्घसंस्था पनि राहत अभियानमा जोडिएका छन्,’ उनले भने, ‘स्थानीय तह, प्रदेश सरकारलगायत सरकारी निकायबाट पनि राहत प्राप्त भएको छ ।’

सहयोग दाताबाट आएको रकम उद्धार र राहतमा खर्च भइरहेको संयोजक गुरुङले बताए । बाढीबाट पूर्ण रूपमा घर क्षति भएका नौ परिवारका लागि कागबेनी नजिकै एक्लेभट्टीमा अस्थायी बास निर्माण थालिएको उनको भनाइ छ । ‘बाढी आउनासाथ सरकारी संयन्त्रदेखि स्थानीयवासी सबै उद्धार र राहतमा खटिए,’ संयोजक गुरुङले भने, ‘प्रधानमन्त्री तहबाटै कागबेनीको पुनःनिर्माणमा प्रतिबद्धता पनि आइसकेको छ ।’

बाढीबाट सामान्य क्षति भएका घरको मर्मतसम्भार स्थानीय आफैँ पनि गरिरहेको उनले बताए । बाढी पसेको ठाउँको सफाइदेखि कागखोलालाई पुरानै धारमा फर्काउने काम भइसकेको छ । ‘तीन वटै तहका सरकारको तदारुकता र स्रोतसाधनको प्रबन्ध हुन सकेमा तीन/चार वर्षभित्रैमा कागबेनीलाई पहिलेकै अवस्थामा फर्काउन सकिन्छ,’ उनले भने, ‘धार्मिक तथा सांस्कृतिक पर्यटनको केन्द्र भएकाले कागबेनीको पुनःनिर्माणमा राज्यले विशेष ध्यान दिनुपर्छ ।’

गृहमन्त्री, मुख्यमन्त्रीलगायतले बस्ती पुनःनिर्माण र बाढी प्रभावितको राहतमा कुनै कमी हुन नदिने बताएकाले आफूहरू आशावादी रहेको स्थानीय कर्मा गुरुङले बताइन् । बाढीमा घरबास गुमाएकी गुरुङ अहिले सपरिवार आफन्तकोमा आश्रम लिइरहेकी छिन् । ‘घरगोठ, जग्गा सबै बाढीले लग्यो, अब आफ्नो भन्ने केही पनि छैन,’ उनले भनिन्, ‘सरकारले हाम्रो दुःख देखोस्, बाढी प्रभावितलाई केही व्यवस्था होस् ।’

सङ्घसंस्था, छिमेकी र आफन्तबाट सहयोग पाएको भन्दै छिट्टै सरकारबाट पनि राहत रकम आउनेमा विश्वस्त रहेको उनले सुनाइन् । हेर्दाहेर्दै कागबेनी क्षेत्र बगरमा परिणत भएकामा उनी दुःखी छिन् । ‘अहिलेको जस्तो बाढी कहिल्यै आएको थिएन, धन्न हामी जोगिऔँ, धन सम्पत्तिको भने धेरै ठूलो क्षति भयो,’ गुरुङले भनिन्, ‘पर्यटक र तीर्थयात्रीको चहलपहल हुने ठाउँ अहिले उराठ लाग्दो बनेको छ ।’

कागबेनीलाई हिन्दु र बौद्ध समुदायकाले पवित्र तीर्थस्थलका रूपमा लिइन्छ । मुक्तिनाथ क्षेत्र, उपल्लो मुस्ताङ र डोल्पा जाने सङ्गमस्थल पनि हो कागबेनी । कागखोलामा आएको बाढीबाट घर, मन्दिर, धर्मशाला, गुम्बा, सडक, पुललगायत भौतिक संरचनामा ठूलो क्षति पुगेको थियो । रासस

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np