Global Force Media

२०८१ बैशाख १७ - Mon Apr, 2024 -

पूर्वाराजालाई भेटेपछि दुर्गा प्रसाईंले भने–राजेन्द्र लिङ्देनले राजसंस्था फर्काउन सक्दैनन्

काठमाडौँ । मेडिकल व्यवसायी समेत रहेका राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईले राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले राजसंस्था फर्काउन नसक्ने जिकिर गरेका छन् । उनले राजेन्द्र लिङ्देनको राजतन्त्र पुनर्स्थापित गर्ने एजेन्डा ‘साँढेको टाङमुनि बाल्टी थापेजस्तै’ भएको टिप्पणी गरे ।

पूर्वराजा ज्ञानेन्द्र शाहसँग सोमबार सिमरामा भेटवार्ता गरेपछि रातोपाटीसँग कुरा गर्दै प्रसाईंले राजेन्द्र लिङ्देनलाई पूर्वराजाले विश्वास नगरेको समेत जिकिर गरे । उनले पूर्वराजासँग राजेन्द्र लिङ्देनले बेलाबेला भेटेको सत्य भए पनि वास्तविकता भने टाढा रहेको बताए । ‘राजेन्द्र दाइको एजेन्डा साँढेको टाङमुनि बाल्टी थापेजस्तो हो । बेलाबेला राजासँग लन्च मिटिङ मात्रै गर्नुभएको हो। उहाँले राजसंस्था फर्काउन सक्नुहुन्छ ।’

उनले लिङ्देनले आफ्नो एजेन्डा भुलेर राष्ट्रियसभा निर्वाचनमा रवि लामिछानेका ससुरा समेत रहेका उद्धव पौडेललाई जिताउन एमालेसँग राजनीति सौदाबाजी गरेको समेत आरोप लगाए । उनले आफूलाई  पूर्वराजाको सधैँ समर्थन रहेको जिकिर गर्दै आगामी फागुनमा हुने आन्दोलनमा पनि साथ रहने जिकिर गरे ।

प्रसाईंले आफूले चलाउँदै आएको अभियान राम्रो रहेको भनेर पूर्वराजाले प्रतिक्रिया दिएको जिकिर गर्दै अघि बढ्न सुझाव आएको बताए । ‘राजेन्द्र दाइहरूको कुरा राजाले सुनिदिएको मात्रै हो । मलाई त सधैँ समर्थन छ’, उनले भने, ‘अभियान राम्रो छ, लाग्नुस् भन्नु भएको छ । मान्छेले नबुझेको मात्रै हो मलाई पूर्वराजाको पहिले देखि नै समर्थन छ ।’

एजेन्डा समान भए पनि प्रसाईं र लिङ्देनबिच सम्बन्ध राम्रो छैन । प्रसाईं र लिङ्देनको खोसाखोसमा पूर्वराजा पर्ने गरेको समेत टिप्पणी हुँदै आएको छ । प्रसाईंले फागुन १ देखि दोस्रो चरणको आन्दोलन गर्ने घोषणा गर्दा राप्रपाले पनि फागुन नै छुट्टै आन्दोलन गर्ने तयारी गरेको छ । उसो त गत मंसिरको आन्दोलन पनि राप्रपाले प्रसाईंलाई सघाएको थिएन ।

यसैबिच भेटमा आफूले भ्रष्टाचार, बैंकको चर्कोब्याजदेखि लघुवित्त पीडितको समस्याबारे समेत पूर्वराजालाई जानकारी गराएको प्रसाईंले बताए । भेटपछि प्रसाईंले शाहसँगको तस्बिर पनि सामाजिक सञ्जालमा पोस्ट गर्दै गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘श्री ५ महाराजाधिराजसँगको अर्थपूर्ण भेट । लघुवित्त, सहकारी, बैंकबाट पीडित नागरिकहरूले र भ्रष्ट नेताबाट प्रताडित देशले छिट्टै निकास पाउनेछ ।’

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np