काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गिरिबन्धु टि इस्टेटमा आफूलाई जोड्न आवश्यक नभएको बताएका छन् ।
आइतबार प्रधानमन्त्री ओलीले विश्वासको मत लिने प्रस्तावमाथि प्रनिनिधिसभामा भएको छलफलमा गिरिबन्धुको विषय उठेको थियो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले गिरिबन्धु के हुन्छ भनेर प्रश्न गरेका थिए ।छलफलमा उठाएको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले विभिन्न समयमा हदबन्दी भन्दा बढीका जमिन कानुनी नबनाई सट्टापट्टा हुने गरेको बताए ।
त्यही गिरिबन्धुको पनि जग्गा कानुन नबनाई सट्टाभर्ना भएको उनले बताए । कानुन बिना नहोस् भनेर आफू प्रधानमन्त्री हुँदा कानुन बनेको, तर त्यसअनुसार कारबाही नभएको भन्दै ओलीले भने, ‘अनि यो होहल्ला केका लागि ?
गिरिबन्धु टि इस्टेटको मुद्दा अदालतमा गएर फैसलासमेत भइसकेको भन्दै उनले भने, ‘बेचबिखचन भएको छैन । हुनुभन्दा अगाडि यस्तो यस्तो गर्नु भनेर शर्त राखिएको थियो । अदालतले त्यसलाई रोकिदियो ।’
अदालतले कानुन निर्माणलाई नीतिगत भ्रष्टाचार नभनेको उनले बताए । ‘संसदले कानुन बनायो । त्यहाँ नीतिगत भ्रष्टाचार छैन’, अदालतले पनि त्यसो नभनेको भन्दै प्रधानमन्त्री ओलीले भने, ‘कसैलाई गिरिबन्धु टि इस्टेटका नाममा अफवाह फैलाउने अभ्यासलाई निरन्तरता दिनु छ भने बेग्लै कुरा होला, तर यो जरुरी छैन भन्ने ठान्छु ।’
बरु अदालतले सस्तोमा किनेको जग्गासँग महंगो जग्गा सट्टापट्टा हुनसक्छ भनेको भन्दै उनले अब कानुन बनाउँदा विचार गर्नुपर्ने बताए ।
संसदले पास गरेको त्यो ऐन र त्यसअनुसारको नियमावली अझै जीवित रहेको भन्दै उनले भने, ‘त्यसमा के रिफर्म गर्नुपर्छ, गरौं, खारेज गर्नुपर्छ भने गरौं । मेरो निजी सम्पत्ति होइन, मैले त्यसबाट लाभ लिनु छैन ।’