Global Force Media

२०८१ मंसिर २८ - Fri Dec, 2024 -

सिमलताल पहिरो : १२ औँ दिन पनि बससहित यात्रुको खोजी जारी

चितवन । भरतपुर महानगरपालिका–२९ स्थित नारायणगढ–मुग्लिङ सडकखण्डको सिमलतालमा पहिरासँगै बगेर त्रिशूलीमा खसेका दुईवटा बस तथा यात्रुको आज १२औँ दिन पनि खोजी जारी  छ । घटनास्थल सिमलतालबाट घुमाउने हुँदै केदाबारीसम्म शङ्कास्पद वस्तु देखिएपछि दोहोर्याएर खोजतलास गर्न लागिएको हो ।

नेपालको सुरक्षाकर्मी सहित भारतको ‘राष्ट्रिय आपदा मोचन बल–नेशनल डिजास्टर रेस्पोन्स फोर्स’बाट १२ जनाको प्राविधिक टोलीद्वारा संयुक्त  खोजतलास भइरहेको छ । प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार सो क्षेत्रमा राडरले शङ्कास्पद वस्तु देखाएपछि आज बिहान पुनः खोजतलास थालिएको छ । भारतीय टोलीले धमिलो बेगमा बगेको पानीमा कम काम गरेकाले कठिनाइ भइरहेको जनाउँदै उहाँले शङ्कास्पद वस्तु भएको अनुमानसँगै पुनः सोही ठाउँमा खोजतलास थालिएको बताए ।

यसअघि भेटिएका भनेका २५ शवमध्ये सनाखत नभएका सातमध्येको एक शव यो घटनाभन्दा बाहिरको रहेको खुलेको छ । प्रजिअ यादवका अनुसार पाल्पाकी नदीमा हामफालेकी एक महिलाको सनाखत भएपछि भेटिएका शवको सङ्ख्या २४ मा झरेको छ । तीमध्ये छजनाको सनाखत हुनसकेको छैन ।

चितवनका प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा जिल्ला सुरक्षा समिति र भारतीय प्राविधिक टोलीबीच शनिबार संयुक्त बैठक बसी आइतबार बिहानदेखि खोजी सुरु गरिएको थियो । आइतबारदेखि सोनार क्यामेरासहित खोजी थालेको संयुक्त टोलीले सिमलतालबाट घुमाउने, देवघाट, काभ्रेघाटसम्मको क्षेत्रमा खोजतलास गरिसकेको छ । सनाखत भएका शवमा १६  पुरुषको छ भने दुईवटा महिलाको छ । त्यस्तै सनाखत भएका शवमध्ये १३ नेपाली नागरिकका छन् भने पाँच  भारतीय नागरिकका छन् ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
globalforcenp@gmail.com
www.globalforce.com.np