Global Force Media

२०८१ मंसिर २७ - Thu Dec, 2024 -

‘टीआरसी विधेयकमा शीर्ष नेताहरूले बोल्नु सकारात्मक सन्देश’

काठमाडौँ । संक्रमणकालिन न्याय (टीआरसी)सँग सम्बन्धित बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक प्रतिनिधि सभा बैठकमा पेस भएको छ ।

प्रतिनिधि सभाको मंगलबारको बैठकमा कानुन, न्याय तथा मानव अधिकार समिति सभापति विमला सुवेदीले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकमाथि समितिले दफावार छलफल गरी तयार गरेको प्रतिवेदनसहितको विधेयक संसदमा पेस गरेकी हुन् । यसअघि केही बुँदाहरूमा वर्षौंदेखि रहेको असहमतिका बुँदाहरूलाई कार्यदलले टुंगोमा पुर्याइ प्रमुख तीन दलका शीर्ष नेताहरूलाई प्रतिवेदन बुझाइएको थियो । शीर्ष नेताहरूको समेत सहमति भएपछि कानुन समितिमा पारित गरी प्रतिनिधि सभामा पुर्याइएको छ ।

प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित दलका शीर्ष नेताहरूले यस विधेयकको सम्बन्धमा बोलेर बाँकी प्रक्रिया अगाडि बढाइने भएको छ । प्रतिनिधि सभाको आगामी बैठक साउन ३० गते दिउँसो १ बजे बस्नेगरी बोलाइएको छ ।

दलहरुकै कारण लामो समयदेखि अड्किएको विधेयक दलहरूबिच भएको सहमतिकै कारण संसदबाट पारित हुने अवस्थामा पुगेपछि शीर्ष नेताहरूले यसबारे सम्बोधन गर्ने तयारी रहेको छ । खासगरी समितिबाट पारित भएर संसदमा गएको विधेयकको सम्बन्धमा यसरी विशेष रूपमा शीर्ष नेताहरूले सम्बोधन गरेर पारित गर्ने परम्परा छैन । तर यस विधेयकलाई भने दलहरूले महत्वसाथ संसदबाट सर्वसम्मत रूपमा पारित गराउने तयारी गरेका छन् ।

यस सन्दर्भमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै राज्य व्यवस्था तथा सुशासन समितिका सभापति समेत रहेका नेपाली कांंग्रेसका सांसद रामहरि खतिवडाले टीआरसी विधेयकलाई पारित गर्ने तहमा पुग्नुलाई शीर्ष नेताहरूले उपलब्धिको रूपमा लिएकाले यसलाई अझै महत्त्व दिइएको बताए । यो विधेयकले राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा पनि महत्त्व बोकेकाले शीर्ष नेताहरूले यस बारेमा बोलेर बाँकी प्रक्रिया अगाडि बढाउन लागिएको उनले बताए ।

सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ध्रुवबहादुर प्रधानले नेपालमा शान्ति स्थापना गर्नका लागि र आगामी दिनमा हिंसात्मक आन्दोलन नहोस् भन्नका लागि टीआरसीमा सबैको सहमति लिन खोजिएको बताए । उनले टीआरसीको विषयलाई संसारले हेरिरहेको भन्दै अन्तर्राष्ट्रिय जगतमा पनि सहमतिका साथ अगाडी बढ्यो भन्ने सन्देश दिनका लागि शीर्ष नेताहरूको सम्बोधनसहित अगाडि बढ्न खोजिएको बताए ।

त्यस्तै नेकपा (एकीकृत समाजवादी)का सांसद अम्मरबहादुर थापाले टीआरसीमा शीर्ष नेताहरूले बोल्नुलाई सकारात्मक रूपमा लिनुपर्ने बताए । उनले टीआरसीलाई छिटोभन्दा छिटो पारित गर्नुपर्ने बताए ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
globalforcenp@gmail.com
www.globalforce.com.np