प्रधानमन्त्री ओलीको अमेरिका भ्रमण स्वीकृत, राष्ट्रसंघको महासभामा सहभागी हुने
संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री केपी शर्मा ओली अमेरिका भ्रमणमा जाने भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्रीको नेतृत्वमा जाने नेपाली प्रतिनिधिमण्डलको न्युयोर्क भ्रमण स्वीकृत गरेको हो ।
नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै ओली ५ असोजमा न्युयोर्क प्रस्थान गर्नेछन् भने १५ असोजमा नेपाल फर्किनेछन् । न्युयोर्कमा रहँदा प्रधानमन्त्री ओलीले राष्ट्रसंघको महासभालाई सम्बोधन गर्नेछन् भने समिट अफ द फ्युचर पनि सम्बोधन गर्ने कार्यक्रम रहेको छ । समिट २२–२३ सेप्टेम्बरमा हुनेछ ।
प्रधानमन्त्रीसँगै प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, प्रधानमन्त्री पत्नी राधिका शाक्य, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सचिव सेवा लम्साल, यूएन तथा अन्तर्राष्ट्रिय संस्थाहरुको महाशाखा प्रमुख अमृतकुमार राई, निजी चिकित्सकलगायत छन् । ३० असारमा प्रधानमन्त्री बनेका ओलीको यो पहिलो विदेश भ्रमण हुनेछ । यसअघि पनि २०७५ मा ओली राष्ट्रसंघको महासभामा सहभागी भएका थिए ।