Global Force Media

२०८१ मंसिर २६ - Wed Dec, 2024 -

आइसिसी विश्वकप लिग–२ : नेपाल क्यानडासँग पराजित

काठमाडौँ- नेपाल आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजमा घरेलु टोली क्यानडासँग पराजित भएको छ ।

क्यानडाको किंग सिटीमा रहेको मप्ले लेआफ नर्थ वेस्ट क्रिकट ग्राउन्डमा गएराति भएको खेलमा नेपाल क्यानडासँग १०३ रनको भारी अन्तरले पराजित भएको हो । खराब ‘ब्याटिङ’ गरेको नेपाल क्यानडासँग एकदिवसीय खेलमा पहिलोपटक पराजित भएको हो । यसअघि क्यानडासँग भएको तीन भेटमा नेपालले तीनै खेलमा जित निकालेको थियो ।

खेलमा २५४ रनको लक्ष्य पछ्याएको नेपाल ४० दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै १५० रनमा समेटियो । नेपालका लागि करण केसीले सर्वाधिक २७ रन बनाए । उनले २४ बलमा दुई चौका र दुई छक्कासहित सर्वाधिक २७ रन बनाएका हन् ।

त्यसैगरी, ‘ओपनर’ कुशल भुर्तेल एक रनमा नै आउट भए । सन्दीप लामिछाने २२, आसिफ शेख २०, भीम सार्की १८, गुलशन झा १५, कुशल मल्ल १२, दीपेन्द्रसिंह ऐरी आठ, सोमपाल कामी ६ तथा कप्तान रोहितकुमार पौडेल पाँच रनमा आउट भए । नेपाललाई सस्तैमा समेट्ने क्रममा क्यानडाका तीव्र गतिका ‘बलर’ डिलोन हेलिगरले पाँच विकेट लिए भने अखिल कुमार र अंश पटेलले समान दुई–दुई विकेट लिए । त्यस्तै, सादविन जाफरले एक विकेट झारे ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको क्यानडाले निर्धारित ५० ओभरमा आठ विकेट गुमाउँदै दुई सय ५३ रनको योगफल बनाएको थियो । उसका लागि कप्तान निकोलस किर्टोनले सर्वाधिक ७३ रनको योगदान गरे । उनले ४४ बलमा तीन चौका र ६ छक्कासहित ७३ रनको अविजित इनिङ खेलेका हुन् ।

यसैगरी, नवनीत धालिवालले ४८, डिलोन हेलिगर ३०, हर्ष थाकेर २७ रन जोड्दा परगत सिंह र साद बिन जाफरले समान १७/१७ रन बनाए । त्यस्तै, आरोन जोनसनले १० रन बनाए ।  नेपालका सोमपाल कामी र ललित राजवंशीले समान दुई–दुई विकेट लिएभने सन्दीप लामिछाने, गुलशन झा र रोहित पौडेलले समान एक–एक विकेट लिए । अब नेपालले भोलि ओमानसँग खेल्नेछ ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
globalforcenp@gmail.com
www.globalforce.com.np