रास्वपा केन्द्रीय कार्यालयमा कार्यकर्ताको भीड, लामिछाने छलफलमा
काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यालयमा नेता-कार्यकर्ताको भीड जम्मा भएको छ । सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिले कारबाही सिफारिस गरेका गोर्खा मिडिया प्रालिका सञ्चालक पूर्वडीआईजी छविलाल जोशी पक्राउ परेपछि उक्त पार्टीका नेता-कार्यकर्ताहरू वनस्थलीस्थित रास्वपा कार्यालयमा जम्मा भएका हुन् ।
सहकारी प्रकरणमा छानबिन समितिले कारबाही सिफारिस गरेका तत्कालीन प्रबन्ध निर्देशक तथा रास्वपा सभापति रवि लामिछाने पार्टी कार्यालयमै नेताहरूसँग आन्तरिक छलफलमा छन् ।
स्रोतका अनुसार रास्वपाले सभापति लामिछानेलाई समेत आजै पक्राउ गर्ने आशंकापछि काठमाडौं उपत्यकाका पार्टी-कार्यकर्तालाई केन्द्रीय कार्यालयमा जम्मा हुन सर्कुलर जारी गरेको थियो । अहिले केन्द्रीय कार्यालय परिसरमा डेढ सयभन्दा बढी नेता-कार्यकर्ता जम्मा भएका छन् भने बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ ।
गोर्खा मिडिया नेटवर्क प्रालिका तत्कालीन सञ्चालक पूर्वडीआईजी छविलाल जोशीलाई प्रहरीले आइतबार अपरान्ह पक्राउ गरेको थियो ।