विराटनगर। कोशी प्रदेशको राज्यमन्त्री सृजना राईमाथि लुटपाटको प्रयास भएको छ । उदयपुरको बेलका नगरपालिका– ८ स्थिति सिरवानी भन्ने स्थानमा मंगलबार राति लुटपाटको प्रयास भएको हो ।
बाढी प्रभावित क्षेत्रको अनुगमनपछि विराटनगर फर्कने क्रममा राति करिब १० बजेको समयममा ६ जनाको समूहले लुटपाटको प्रयास गरेको कोशी प्रदेश प्रहरी प्रमुख डिआइजी चन्द्रकुबेर खापुङले बताए ।
उनका अनुसार मध्यरातमा राज्यमन्त्री चढेको प्रदेश १–०४–००१ झ ००३२ नम्बरको गाडी रोकेर लुटपाट गर्न खोजका थिए । तर, चालकले गाडी नरोकेपछि सो समूहले गाडीमा ढुंगा प्रहार गरेको थियो । ढुंगाले लागे पनि गाडीमा क्षति पुगेको छैन ।
डिआइजी खापुङले भने , ‘राति लुटपाटकै उदेश्यले राज्यमन्त्रीको गाडीमाथि आक्रमण भएको हो । घटनाको जानकारी आएपछि ६ जना पक्राउ परेका छन्, थप अनुसन्धान गर्दैछौं ।’
राज्यमन्त्रीको गाडीमाथि आक्रमण भएको जानकारी आएपछि प्रहरीले आज बिहानबाट अनुसन्धान सुरु गरेको थियो । अनुसन्धानका क्रममा स्थानीय आकाश राई, विशाल राई, थानवीर राई, लोहनसिंह राई, सुदीप राई र सुरेश राई पक्राउ परेका हुन् । उनीहरुको साथबाट मंगलबार राति प्रयोग भएको एउटा टर्चलाइट र हसिया पनि बरादम गरेको छ ।
प्रहरी स्रोतका अनुसार पक्राउ परेकाहरुले गाँजा बोकेको गाडी भन्दै रोक्ने प्रयास गरेका थिए, पछि राज्यमन्त्रीको गाडी भन्ने थाहा पाएपछि उनी त्यहाँबाट भागेका थिए ।
रातको समयमा पहिले पनि सो समूहले बाटो ढुकेर गाडी लुटपाटको प्रयास गर्ने देखिएको प्रहरीको दाबी छ । ‘त्यो बाटो गाँजा ओसारपसार हुँदो रहेछ, गाँजा बोकेको गाडीको आशंकामा रोकेर लुटपाट गर्न खोजेका रहेछन्,’ प्रहरी स्रोतले भन्यो,‘ पहिलेदेखि नै समूह बनाएर बाटो ढुकेर बस्ने गरेको देखियो ।’