Global Force Media

२०८३ बैशाख ३ - Thu Apr, 2026 -

सम्पदा क्षेत्रलाइ स्मार्ट सांस्कृतिक पर्यटनसँग विकास गर्दै काठमाडौँ महानगर

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले सम्पदा क्षेत्रलाई एआर (अग्मेन्टेड रियालिटी), भिआर (भर्चुअल रियालिटी), क्युआर (क्विक रेस्पोन्स) मा आधारित स्मार्ट सांस्कृतिक पर्यटनमा विकास गर्ने उद्देश्यले सामग्री उत्पादन गर्न थालेको छ।

महानगरको सम्पदा तथा पर्यटन विभागले ‘बाखं न्यने वा’सँगको सहकार्यमा सामग्री उत्पादन थालेको हो। वसन्तपुर, स्वयम्भू, पशुपतिनाथ, बौद्ध र नरः दे (हाँडीगाउँ)का सम्पदाका सांस्कृतिक ऐतिहासिक र पुरातात्विक महत्व तथा यस क्षेत्रसँग सम्बन्धित सांस्कृतिक र सामाजिक चालचलनसम्बन्धी सामग्री उत्पादन भइरहेका छन्। सामग्रीको आधिकारिकताका पुष्टि गर्न इतिहास र लिपिको अध्ययन, पुराना व्यक्तित्वहरुसँग अन्तर्वार्ता लिइसकेको कामपा सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान सङ्गतले जानकारी दिए।

महानगरले चालु आर्थिक वर्षका नीतिमा हनुमानढोका दरबार क्षेत्रदेखि स्वयम्भूसम्मको सम्पदा मार्गलाई प्रवद्र्धन गर्ने, वसन्तपुर, स्वयम्भू, बौद्ध, पशुपतिनाथ र वसन्तपुरलाई सम्पदा मार्गका रुपमा विकास गर्ने, यी स्थानहरुको प्रवद्र्धनका लागि रणनीतिक, व्यावसायिक र पर्यटकीय मार्ग पहिचान र नक्साङ्कन गर्ने उल्लेख  छ।

यही नीति कार्यान्वयन गर्ने क्रममा थालिएको कार्यक्रममा पर्यटकलाई प्रदर्शन गरिने अडियो, भिडियो तथा दृश्यात्मक सामग्री उत्पादन गर्ने क्रममा स्वयम्भू क्षेत्रमा एक सय ८८ वटा, हनुमान ढोका दरबार क्षेत्रमा ४१ वटा, वौद्ध क्षेत्रमा सातवटा, हाँडीगाउँ क्षेत्रमा २० वटा पशुपति क्षेत्रका ५६ वटा स्मारकको अध्ययन गरिसकेको महानगरले जनाएको छ।

सङ्गतले भने, “तर गलत सूचना भयो भने यो सुधार गर्न पनि सकिँदैन र छुट दिन पनि सकिँदैन।” उहाँले सामग्रीको आधिकारिता र पुष्ट्याइँका विषयमा कुरा गर्दै काठमाडौँको प्राचीनता, मौलिकतासँग जोडिएका सामाजिक र सांस्कृतिक परम्परा सामग्रीको मर्म रहेको बताए।

“यसरी उत्पादित सामग्रीहरु दिगो उपयोगका लागि हुन्। यसका लागि अध्ययन गर्ने, प्रारम्भिक सूचना तथा प्रशोधित सूचनामा काम गर्ने, प्राप्त सूचनालाई आधिकारिकता प्रदान गर्ने संयन्त्र निर्माण गरौँ”, समितिका सदस्य एवं वडा नं १८ का अध्यक्ष न्हुच्छेकाजी महर्जनले भने, “यो हतारमा सक्ने काम होइन। सहभागिता र सहकार्यलाई निरन्तरता दिएर काम गरौँ।”

स्मार्ट पर्यटनका लागि महानगर स्वर्णिम योजना ‘पर्यटकीय सहर’ कार्यक्रमअन्तर्गत प्रयोगकर्ता (पर्यटक) को आवश्यकता पहिचान र बजार सर्वेक्षण अध्ययन गरिएको थियो। ठमेल, वसन्तपुर, पशुपतिनाथ, बौद्ध र स्वयम्भूमा भेटिएका २९ देशका एक सय २५ पर्यटकले सर्वेक्षणमा भाग लिएका थिए।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
globalforcenp@gmail.com
www.globalforce.com.np