Global Force Media

२०८१ फाल्गुन २ - Fri Feb, 2025 -

एउटै पालिकाबाट ६ करोडको अदुवा बिक्री

अदुवाखेती गर्ने किसानको सङ्ख्या घटे पनि उत्पादन वृद्धि भएको हो ।

यस वर्ष यहाँबाट करिब रू छ करोडको अदुवा बिक्री भएको त्रिवेणी गाउँपालिकाका कृषि शाखा प्रमुख रमेश पुनले जानकारी दिए । उनका अनुसार अदुवा बिक्रीबाट किसानले रू पाँच करोड ९२ लाख आम्दानी गरेका छन् । दश वटा वडा रहेको त्रिवेणीमा एक हजार नौ सय ५० परिवारले अदुवाखेती गर्दै आएका छन् ।

प्रत्येक किसानले दुई रोपनीभन्दा बढी जग्गामा अदुवाखेती गर्दै आएका पुनले बताए । पालिकाभर हाल एक सय ९५ हेक्टर जग्गामा अदुवा उत्पादन भइरहेको उनले जानकारी दिए ।

कृषि शाखा प्रमुख पुनका अनुसार एक रोपनी क्षेत्रफलमा चार क्विन्टलभन्दा बढी अदुवा उत्पादन हुने गरेको छ । पालिकाभर यस वर्ष १५ हजार छ सय क्विन्टल अर्थात् १५ दशमलव छ मेट्रिकटन अदुवा उत्पादन भएको छ । किसानले प्रतिक्विन्टल रू तीन हजार आठ सयभन्दा बढी मूल्यमा अदुवा बिक्री गरेका उहाँले उल्लेख गरे ।

गत आर्थिक वर्षमा पालिकामा दुुई हजार छ सय परिवारले अदुवाखेती गर्दै आएकामा यस वर्ष उक्त सङ्ख्या छ सय ५० ले घटेरको प्रमुख पुनले बताए । व्यापारी गाउँमा पुगेर अदुवा खरिद गर्ने गरेकाले बजारको समस्या नरहेको गाउँपालिकाको कृषि शाखाले जनाएको छ ।

व्यावसायिक रूपमा अदुवाखेती गर्दै आउनुभएका त्रिवेणी–४ खुम्चेरीका नरबहादुर खड्काले यस वर्ष अदुवा बिक्रीबाट रू एक लाख आम्दानी गरेको बताए । बीस वर्षदेखि अदुवाखेतीमा लाग्नुभएका उहाँले निरन्तर खेती गर्दा मौसममा रू दुई लाखसम्म आम्दानी हुने जानकारी दिए ।

त्रिवेणी–६ बाँठाकोटका कृषक कमलप्रसाद घर्तीले यस वर्ष अदुवा उत्पादन र मूल्य दुवै राम्रो पाएको बताए । अदुवा गाउँबाटै प्रतिक्विन्टल रू पाँच हजार र बीउका लागि प्रयोग हुने अदुवा प्रतिक्विन्टल रू १२ हजारसम्ममा बिक्री हुने गरेको जानकारी दिए ।

“पहिले एक क्विन्टल अदुवाबाट पाँच क्विन्टलसम्म उत्पादन हुन्थ्यो, अहिले उत्पदान घटेर तीन क्विन्टलसम्म हुन्छ । मौसममा आएको परिवर्तन, मल अभावलगायत कारणले उत्पादन घटेको हुनसक्छ”, उनले भने । घर्तीले अदुवाका साथै सुन्तला र किभीको पनि खेती गर्दै आएका छन् । रासस

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
globalforcenp@gmail.com
www.globalforce.com.np