समय सकिए पनि फेसबुकसहितका सामाजिक सञ्जाल सूचीकरण भएनन्

काठमाडौं । सामाजिक सञ्जाल सूचीकरणका लागि दिइएको समयसीमा सकिदाँ पनि फेसबुक लगायतका सामाजिक सञ्जाल दर्ता नभएको पाइएको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले एक सूचना जारी गर्दै दिएको ३० दिने समयसीमा आइतबार सकिए पनि फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएप, एक्स (ट्विटर) लगायतका सामाजिक सञ्जाल सूचीकररण नभएका मन्त्रालयले जनाएको हो ।
मन्त्रालयले दिएको ३० दिने समयावधिमा थप कुनै पनि सामाजिक सञ्जाल सूचीकरणका लागि निवेदन नदिएको मन्त्रालयका सूचना अधिकारी समेत रहेकी उपसचिव ममता बास्तोलाले नेपाल प्रेसलाई जानकारी दिईन । उनका अनुसार अब मन्त्रालयले थप निर्णय गर्ने बताईन ।
सरकार प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीशुब्बा गुरुङले भने अन्तिम समयका लागि अब एक सातादेखि १५ दिनसम्मको समयावधि दिएर सूचीकरणका लागि आव्हान गर्ने नेपाल प्रेससँग बताए । यदि अब थप गरेको समयसिमामा पनि सूचीकरणका लागि नआए कानून अनुसार अघि बढ्ने उनको भनाई छ ।
सञ्चारमन्त्री गुरुङले भने, ‘पछिल्लो समय ३० दिनका लागि सूचीकरण हुने समयसिमा दिएका थियौ । त्यो समयसिमा आइतबार सकिएको छ । अब एक पटक कम्तिमा एक साता र बढीमा १५ दिनको अन्तिम सयम दिन्छौ । यदि यो समयसिमा भित्र पनि सूचीकरण हुन आएनन् भने कानूनी व्यवस्था अनुसार अघि बढ्छौ ।’
अब थप गरिएको समयसिमा भित्र पनि सूचीकरण हुन बाँकी रहेका सामाजिक सञ्जाल नभए नेपालभित्र त्यस्ता सामाजिक सञ्जालको सञ्चालनमा रोक लगाउने सञ्चारमन्त्रालयको तयारी छ ।
सरकारले २ वर्ष अघि ल्याएको सामाजिक सञ्जाल सञ्चालन निर्देशिका, २०८० अनुसार सामाजिक सञ्जाल नेपालमा अनिवार्य सूचीकरण हुनुपर्छ । गत चैत ७ मा तेस्रो पटक सूचना जारी गर्दै सरकारले ३० दिनभित्र दर्ता हुन आव्हान गरेको थियो । उक्त समयसिमा आइतबार सकिए पनि फेसबुक लगायतका सामाजिक सञ्जाल प्लेटफर्म मन्त्रालयमा सूचीकरणका लागि आएका छैनन् ।
निर्देशिकाको व्यवस्था अनुसार सामाजिक सञ्जाल सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सूचीकरण हुनुपर्ने, नेपालभित्र सम्पर्क विन्दु, आवासीय गुनासो सुन्ने अधिकारी र स्वःनियमन परिपालनाको निगरानी गर्ने अधिकारीको समेत तोक्नुपर्ने व्यवस्था छ ।
निर्देशिकाकै व्यवस्था अनुसार सामाजिक सद्भाव खलल पुर्याउने वा साइबर अपराधलाई बढावा दिने गैरकानुनी र अनुपयुक्त सामग्री हटाउन सरकारी निकायसँग सहकार्य गर्दै नेपाली र अन्य राष्ट्रिय भाषामा सामग्री फिल्टरिङ र मध्यस्थताका लागि उपयुक्त प्रविधिको कार्यान्वयन गर्नुपर्ने व्यवस्था छ ।
मन्त्रालयका सूचना अधिकारी एवम उपसचिव ममता बास्तोलाका अनुसार अहिलेसम्म मन्त्रालयमा भाइबर’, ‘टिकटक’ र ‘वि टक’ मात्र दर्ता भएका छन् । फेसबुक, इन्स्टाग्राम, एक्स जस्ता अन्य प्लेटफर्म भने अझै सूचीकरण आनाकानी गरिरहेका छन् ।



