प्रचण्डको फोनलगत्तै माओवादीका उपमहासचिव जनार्दन शर्मा पुगे देउवा निवासम

काठमाडौं । मध्यपहाडी लोकमार्ग केन्द्रित अभियानको थालनीको क्रममा देउवाको गृहजिल्ला डडेलधुरा पुगेका प्रचण्डले आज बिहान देउवालाई फोन गरेका थिए ।
देउवासँग फोनवार्ताबारे प्रचण्डले पत्रकारहरूसँग भनेका थिए, ‘म यहाँ बस्दै गर्दा देउवाजीसँग पनि सम्पर्क भयो र उहाँले पनि मेरो जिल्लामा स्वागत छ भन्नुभयो ।
उनले फोन वार्तामा थप के कुराकानी भयो भने खुलाएनन् । प्रचण्डको फोनलगत्तै माओवादीका उपमहासचिव जनार्दन शर्मा देउवाको निवासमै पुगेका छन् । देउवासँग देशको समसामयिक राजनीतिक परिस्थितिबारे छलफल भएको उनको भनाइ छ ।
यसअघि पनि देउवा थाइल्याण्डबाट फर्केलगत्तै सरकार फेरिने चर्चा चलेपनि केही साम्य भएको छ । कांग्रेस एमालेकै नेताहरूले तत्काल गठबन्धन नभत्किने र सरकार सञ्चालनमा कुनै समस्या नरहेको बताउँदै बएका छन् ।
विगतमा पाँच दलीय गठबन्धन हुँदा पनि कांग्रेस नेताहरूसँग शर्माको राम्रो सम्बन्ध थियो । पाँच दलीय गठबन्धन भत्काएर एमालेसँग सहकार्य अघि बढाउन अर्का उपमहासचिव वर्षमान पुनले भूमिका खेलेका थिए । तर, अहिले कांग्रेसभित्र असन्तुष्टि चर्कोरहेको बेलामा शर्मा फेरि बूढानीलकण्ठ पुग्नुलाई अर्थपूर्णरूपमा हेरिएको छ ।



