कांग्रेस ठूलो पार्टी भएपनि बहुमत नभएकाले मिलेर सरकार बनाउनुपर्ने बाध्यता : देउवा

काठमाडौं । प्रजातान्त्रिक विचार समाजले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले वर्तमान सरकारका केहि कमि कमजोरी भए सुधार गर्दै अघि बढ्ने बताएका छन् । देउवाले कांग्रेस ठूलो पार्टी भएपनि बहुमत नभएकाले मिलेर सरकार बनाउनुपर्ने बाध्यता रहेको उल्लेख गरे ।
‘समावेशी र समानुपातिकताको कारण कसैको पनि बहुमत पुग्न सम्भावना छैन । हाम्रो पार्टी सबैभन्दा ठूलो पार्टी छ तर, बहुमत छैन,’ सभापति देउवाले भने, ‘‘अहिलेको सरकारमा केही कमी कमजोरी होलान, त्यसमा सुधार्दै जानुपर्ने छ । विकासको कुरालाई अघि बढाउँछौं ।’
सभापति देउवाले देशमा समावेशी संविधान रहेकाले सवैको प्रतिनिधित्व संसदमा रहेको जिकिर गरे । २०४८ सालमा कांग्रेसको नेतृत्वको सरकार बनेपछि देशमा धेरै विकासका कामहरु भएको उनले उल्लेख गरे ।
देउवा ले भने बहुमत नभएको पार्टीले कसै न कसैसँग गठबन्धनको सरकार बनाउन आवश्यकता र बाध्यता छ । अहिले एमालेसँगको सरकार छ । ओलीजी पनि दुःख पाएकै व्यक्ति हो । हामी जेलमा सँगै बसेका थियौं ।उहाँ जेलभित्रको गोलघरमा हुनुहुन्थ्यो।



