Global Force Media

२०८३ बैशाख २ - Wed Apr, 2026 -

एमालेविनाको देश र केपी ओली विनाको एमाले होस् भन्ने कामना पूरा हुँदैन-प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केपी ओलीविनाको एमाले देख्न चाहने प्रतिक्रियावादीहरूको खेल भएको टिप्पणी गरेका छन् ।

झापामा एमालेको जिल्ला स्तरीय कार्यकर्ता भेलालाई आइतबार सम्बोधन गर्दै अध्यक्ष ओलीले भने, ‘एमालेविनाको देश र केपी ओली विनाको एमाले होस् भन्ने कामना गर्नेहरूको कामना पूरा हुँदैन ।’

उनले एमालेमा लामो समय बसेर विभिन्न जिम्मेवारी र लाभको अवसर लिएका कतिपय स्वार्थी नेताहरूले विगतमा पार्टी विभाजन र पार्टी सिध्याउने षड्यन्त्र गरेको आरोप लगाए ।

उनले थपे, ‘तर पनि कार्यकर्ता र जनताले एमालेलाई बचाएर पुनः राष्ट्रिय शक्ति बनाए ।’

पार्टीभित्रको एकतालाई मजबुत बनाएर संकल्पका साथ लाग्ने हो भने एमालेलाई अरूले हराउन नसक्ने जिकिर गरे ।

उनले पार्टीभित्र र बाहिरबाट भइहेका षड्यन्त्र चिर्दै ढुक्कका साथ पार्टीको सही नीति र नेतृत्वको पक्षमा लाग्न आग्रह गरे ।

‘एमाले साना स्वार्थ बोक्ने पार्टी होइन । यसको काँधमा देश बनाउने महान उद्देश्य छ । यो राष्ट्रिय हितका लागि बलिदानबाट आएको पार्टी हो,’ उनले भने ।

ओलीले थपे, ‘एमालेविरुद्ध जाल बुन्नेहरु सफल हुँदैनन् । माकुरोको जालोमा कहिल्यै भैंसी पर्दैन । हाम्रा विरुद्धको भ्रामक प्रचारको पछि लाग्नु हुँदैन ।’

आफू र एमालेले कहिल्यै भ्रष्टाचार नगर्ने ओलीको जिकिर थियो ।

‘केपी ओली र एमालेले भ्रष्टाचार गर्दैन,’ उनले भने, ‘हामी सहकारी ठगेर मुद्दा झेलेपछि आफ्नो पक्षमा हस्ताक्षर अभियान चलाउने रास्वपाजस्तो हुँदै होइन ।’

ओलीले नेपाललाई एमालेले नसके अरू कसैले बनाउन नसक्ने स्पष्ट गर्दै आफू प्रधानमन्त्री भएपछि फलामखानी र पेट्रोलियम पदार्थको उत्खनन, सुरुङमार्ग निर्माणजस्ता अनेकौं विकास र समृद्धिका काम थालनी भएको र त्यसको प्रतिफल आउन थालेको जिकिर गरे ।

अहिले नेपालको अन्तर्राष्ट्रिय छवि देखिने र सुनिने अवस्थामा रहेको उल्लेख गर्दै उनले पछिल्लो स्पेन भ्रमणको सफलता सुन्न नचाहने विपक्षीले वाईसीएल प्रयोग गरेर स्पेन भ्रमणमा मान्छे छाडेर आयो भन्ने दुस्प्रचार गरेको जनाए ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
globalforcenp@gmail.com
www.globalforce.com.np