रवि लामिछाने र छविलाल जोशीको मुद्दामा मिसिल झिकाउने आदेश

काठमाडौँ । सहकारी ठगीसम्बन्धी अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दामा मिसिल झिकाउने आदेश भएको छ ।
बिहीबार उच्च अदालत बुटवलमा न्यायधिशद्वय बासुदेव आचार्य र ओमप्रसाद अर्यालको संयुक्त इजलासमा मिसिल झिकाउने थप प्रमाण आदेश गरेको हो ।
यसअघि कात्तिक २० गते यसै अदालतबाट प्रमाण मिसिल झिकाउने आदेश भएको थियो । लामिछाने र जोशीको मुद्दाको सुनुवाइका क्रममा गत बिहीबार अदालतले मूल मुद्दाको मिसिल झिकाउने आदेश दिएको थियो ।
कात्तिक १३ गते तोकिएको अघिल्लो पेशी जोशीका कानुन व्यवसायीले निवेदन दिएपछि स्थगित भएको थियो । यसअघि लामिछानेको मुद्दामा न्यायाधीश मिलनकुमार राई र ओमप्रसाद अर्यालको इजलासले दुवै प्रतिवादीका मुद्दा एकै प्रकृतिका भएको भन्दै एकैसाथ राख्ने आदेश गरेको थियो ।
लामिछानेले बिगो बमोजिमको रकम बुझाई थुनामै रहेर मुद्दा लड्न माग गरेका थिए । त्यसअनुसार उच्च अदालतले रविसँगै जोशीको फाइल पनि पेस गर्न आदेश दिएको थियो ।



