नेपाल बन्द आह्वानपछि दुर्गा प्रसाईँ फेरि पक्राउ

काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई प्रहरीले पुनः पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले भक्तपुरस्थित उनकै निवासबाट पक्राउ गरेको हो ।
पारिवारिक स्रोतका अनुसार आइतबार बिहान ६ बजेदेखि नै प्रहरी टोली प्रसाईँको निवास वरिपरि तैनाथ थियो । उनलाई सार्वजनिक शान्ति विरुद्धको मुद्दामा अनुसन्धानका लागि भन्दै पक्राउ पुर्जी थमाएर लगिएको हो । हाल उनलाई थप अनुसन्धान र कानुनी प्रक्रियाका लागि जिल्ला प्रहरी परिसर भक्तपुरमा राखिएको छ ।
प्रसाईँले आज आइतबार देखि नेपाल बन्दको आह्वान गरेका थिए । बैंक तथा वित्तीय संस्था विरुद्धको अभियान र राजनीतिक व्यवस्था परिवर्तनको नारा दिँदै आएका प्रसाईँले बन्दमार्फत दबाब दिने तयारी गरेकै बेला प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । यसअघि उनी ४ फागुनमा काठमाडौँबाट पक्राउ परेका थिए भने सर्वोच्च अदालतको आदेशमा १३ फागुनमा मात्र रिहा भएका थिए ।
प्रसाईँको पक्राउपछि काठमाडौँ उपत्यका र विशेषगरी भक्तपुर क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ। सम्भावित प्रदर्शन र बन्दको प्रभावलाई मध्यनजर गर्दै मुख्य चोकहरूमा सुरक्षाकर्मीको उपस्थिति बढाइएको छ ।



