परराष्ट्र मन्त्रालयले भन्यो– मध्यपूर्वमा रहेका नेपाली नागरिकको सुरक्षा सरकारको उच्च प्राथमिकतामा

काठमाडौं । परराष्ट्र मन्त्रालयले मध्यपूर्वमा १७ लाख २९ हजार २८८ नेपाली रहेको जनाउँदै उनीहरूको सुरक्षा उच्च प्राथमिकतामा रहेको जनाएको छ ।
शनिबार बिहानबाट सुरु भएको अमेरिका,इजरायल र इरानबीचको युद्ध मध्यपूर्वमा विस्तार भएपछि आइतबार पत्रकार सम्मेलन गर्दै परराष्ट्रले त्यहाँ रहेका नेपालीको सुरक्षा नेपाल सरकारको उच्च प्राथमिकतामा रहेको जनाएको हो ।
“मध्यपूर्वमा रहेका नेपाली नागरिकको सुरक्षा नेपाल सरकारको उच्च प्राथमिकतामा छ । यस प्रयोजनको लागि हामीले विभिन्न प्रक्रियाको थालनी गरेका छौँ,” परराष्ट्र मन्त्रालयको मध्य एसिया, पश्चिम एसिया तथा अफ्रिका महाशाखा प्रमुख रामकाजी खड्काले पत्रकार सम्मेलनमा बताए ।
इरानले प्रत्याक्रमणस्वरुप इजरायमालमा मात्र होइन कुवेत, युनाइटेड अरब इमिरेट्स, साउदी अरब, बहराइन, ओमान, कतारलगायतका देशमा रहेका अमेरिकी सैन्य बेसहरूमा आक्रमण गरेपछि ती देशमा कार्यरत नेपालीको सुरक्षा चासो बढेको हो ।
महाशाखा प्रमुख रामकाजी खड्काले मध्यपूर्वमा १७ लाख २९ हजार २८८ नेपाली रहेको बताए । “इरानमा रहेका १० जनामध्ये ४ जना फर्किसक्नु भएको छ । ६ जना हुनुहुन्छ,” उनले भने ।
महाशाखा प्रमुख खड्काका अनुसार, इरानमा ६, इजरायलमा करिब ६ हजार ५००, इजिप्टमा ५००, ओमानमा २५ हजार, कतारमा ३ लाख ५७ हजार ९१३, कुवेतमा १ लाख ७५ हजार, बहराइनमा २८ हजार, साउदी अरबमा ३ लाख ८४ हजार ८६५, यूएईमा लगभग ७ लाख, लेबनानमा १ हजार ५००, इराकमा ३० हजार र साइप्रसमा १७ हजार नेपाली रहेका छन् ।



