माओवादी कमजोर भयो भने सबैको अधिकार खोसिने खतरा छ। – प्रचण्ड

आज शनिबार मध्यपहाडी लोकमार्ग जनजागरण अभियानअन्तर्गत डोटीमा आयोजित जनसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले माओवादी कमजोर भएको खण्डमा नेपालका महिला, दलित, मजदुरहरु, किसान, आदिवासी, जनजातिहरुको अधिकार खोसिने सम्भावना रहेको बताए ।उनले सबैलाई अधिकारसम्पन्न र शक्तिशाली बनाउन माओवादी केन्द्रलाई बलियो बनाइराख्नुपर्ने बताए । ‘जबसम्म माओवादी केन्द्र बलियो रहन्छ, तबसम्म यो देशका महिला, दलित, मजदुरहरु, किसान, आदिवासी, जनजातिहरु सबै अधिकारसम्पन्न र शक्तिशाली हुन्छन् ।
माओवादी कमजोर भयो भने सबैको अधिकार खोसिने खतरा छ,’– उनले भने, ‘त्यस हुनाले हामीले तपाईँहरुलाई अपिल गरेका छौं– हाम्रो हात बलियो बनाउनुस् ।अध्यक्ष प्रचण्डले आफू सरकारमा रहेको बेलामा सुशासन र सामाजिक न्यायको पक्षमा लडाईँ लडेको दाबी गरे । उनले तत्कालीन समयमा देशलाई आर्थिक संकटबाट पार लगाउन धेरै मेहनत र संघर्ष गरेको पनि उनले स्मरण गराए । माओवादी नेतृत्वको सरकारले दलाल, नोकरशाह, विचौलियाहरुको विरुद्ध संघर्ष गरेको कारण सरकारबाट हटाइएको पनि उनको दाबी छ ।
अध्यक्ष प्रचण्डले आफूसहित माओवादीलाई कुनै एमाले र कांग्रेसले सत्तामा नपुर्याएको दाबी गरे । अध्यक्ष प्रचण्डले गरिब, मजदुर, किसान र उत्पीडित वर्गले माओवादीलाई सत्तामा पुर्याको, तर माओवादीले तिनै वर्गको पक्षमा ध्यान दिन नसकेको पनि आफूहरुलाई अनुभूति भएर अहिले उनीहरुको पीडा र दुःख सुन्न अभियानमा जोडिएको बताए ।
हामीलाई सिंहदरबारमा पुर्याउने, हामीलाई विस्तृत शान्ति सम्झौतासम्म पुर्याउने, हामीलाई तीन–तीन पटक सरकारको नेतृत्व गर्ने ठाउँमा पुर्याउने कुनै कांग्रेसहरु, कुनै एमालेहरु होइनन् । गरिब, मजदुर, किसान र उत्पीडित वर्गले हामीलाई पुर्याएको हो ।
सायद यो बीचमा ८÷१० वर्ष हामीले जति जनताको नजिक जानुपर्थ्यो, जति जनताको कुरा जनताबाटै सुन्नुपर्थ्यो । त्यो हाम्रो कमजोरी भयो । त्यसलाई आत्मसमीक्षा गरेर तपाईहरुको साथमा, तपाईँहरुको पीडा सुनेर राष्ट्रव्यापी रुपमा घन्काउने उद्देश्यको साथ हामी आएका छौं,’– उनले भने ।



