युवाहरुलाई मुलुकको जिम्मेवारी सुम्पिने प्रचण्डको प्रतिवद्धता

काठमाडौं,। नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले अब युवाहरूलाई नै मुलुकको जिम्मेवारी सुम्पिने प्रतिवद्धता व्यक्त गरेका छन् । आज शनिबार तत्कालीन माओवादी केन्द्रको मुख्यालय पेरिसडाँडामा जेनजी युवाहरुसँग संवाद कार्यक्रम राखेको थियो । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले अघिल्लो पुस्ताले वैचारिक र सांस्कृतिक रुपमा युवा पुस्तालाई अगाडि बढाउनुपर्ने आश्यकता औंल्याए । ‘तपाईंहरूलाई जिम्मेवारी सुम्पिने हो । यो संकल्प हामीले गर्नुपर्छ,’– प्रचण्डले भने ।
उनले माओवादी नेतृत्वको सरकारले निरन्तर भ्रष्टाचारको विरोधमा वकालत गर्दै आएको र जेन–जी विद्रोहपछि भने झनै ऊर्जा प्राप्त भएको बताए । प्रचण्डले गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनले राजनीतिक दलहरुलाई नराम्रोसँग झक्झक्याएको टिप्पणी गरे । उनले आन्दोलनमा सहभागी सबै जेन–जीहरुलाई धन्यवाद ज्ञापन गर्दै उनीहरुले उठाएका मागहरु सही रहेको र आन्दोलनको उद्देश्य पनि सही रहेको बताए ।



