काठमाडौँ- पूर्वसचिव भीम उपाध्यायले सामाजिक सञ्जालमा प्रमुख दल र तिनका नेताहरूप्रति विष वमन गर्दै लेख्दै आएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा भाइरल भएका उपाध्याय आगामी निर्वाचनमा ठूला दल र शीर्ष नेता हराउ अभियानमा लागेका छन् । उनी सुरुदेखि नै स्वतन्त्र उम्मेदवारको पक्षमा प्रचार प्रसार गरिरहेका छन् ।
तर, उनी आफैँले भने श्रीमतीलाई समानुपातिक उम्मेदवार बनाएका छन् । उनकी श्रीमती ललिता उपाध्याय सुमन सायमी नेतृत्वको ‘हाम्रो नेपाली पार्टी’ बाट प्रतिनिधि सभा सदस्यमा समानुपातिक उम्मेदवारको बन्दसूचीमा रहेकी छन् । उनलाई खसआर्यतर्फ ललितपुरबाट बन्दसूचीको दोस्रो नम्बरमा सिफारिस गरिएको छ । उनको मतदाता नम्बर ५७८५३८३ रहेको छ ।
प्रमुख दल र तिनका नेताहरूको सत्तोश्राप गर्ने उपाध्यायले श्रीमतीलाई सांसद बनाउनकै लागि स्वतन्त्र उम्मेदवारको पक्षपोषण गर्ने गरेको तथ्य खुलेको छ ।
सुरु-सुरुमा सुमन सायमी स्वतन्त्र उम्मेदवार भन्दै प्रचारप्रसारमा लागेका थिए । तर, उम्मेदवारी मनोनयन गर्ने अन्तिम दिन उनले काठमाडौँ ८ बाट प्रतिनिधि सभा सदस्यमा हाम्रो नेपाली पार्टीबाट उम्मेदवारी दर्ता गराएका थिए ।
पूर्वप्रशासक उपाध्यायले गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा सुमन सायमी र बालेन्द्र साह ‘बालेन’को निकै प्रचारप्रसार गरेका थिए । सायमी काठमाडौँ महानगरपालिकाका मेयरका उम्मेदवार थिए । पछिल्लो समय काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहको कार्यशैलीको उपाध्यायले विरोध गर्दै आएका छन् ।
प्रतिनिधि सभाको निर्वाचनमा बालेनले सुमन सायमीको प्रचार गर्ने अपेक्षा उपाध्यायलाई थियो । तर, बालेन कतै कुनै उम्मेदवारको पक्षमा देखिएका छैनन् । त्यही भएर उपाध्यायले बालेनको विरोध गर्न थालेका छन् ।
