Global Force Media

२०८१ बैशाख १३ - Thu Apr, 2024 -

तनहुँमा समानुपातिक मतपत्र आइपुग्यो

तनहुँ- मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि तनहुँमा समानुपातिकतर्फको मतपत्र आइपुगेको छ । निर्वाचन आयोगले नेपाली सेनाको सुरक्षा घेरामा तनहुँका लागि समानुपातिकतर्फको मतपत्र आइतबार जिल्ला ल्याइपुर्‍याएको हो । 

जिल्लाका लागि पाँच लाख ५० हजार थान मतपत्र आइपुगेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख हरिप्रसाद ढकालले जानकारी दिए । तनहुँ क्षेत्र नम्बर १ र प्रदेश १ र २ को मतपत्र मुख्य निर्वाचन अधिकृतको कार्यालय दमौलीमा र तनहुँ क्षेत्र नम्बर २ र प्रदेश १ र २ को मतपत्र निर्वाचन अधिकृतको कार्यालय दुलेगौडामा सुरक्षितरुपमा राखिएको छ । 

‘नेपाली सेनाको सुरक्षाघेरामा आएको मतपत्र तनहुँ १ को दमौलीमा र क्षेत्र नं २ को मतपत्र शुक्लागण्डकी नगरपालिकास्थित निर्वाचन अधिकृतको कार्यालयमा रुजु गरेर राखिएको छ’ उनले भने । क्षेत्र नं १ को प्रतिनिधिसभा र प्रदेशसभाका, लागि दुई लाख ७३ हजार र  २ को लागि दुई लाख ७७ हजार थान मतपत्र आइपुगेको छ । 

क्षेत्र नं १ प्रतिनिधिसभाका लागि एक लाख ३६ हजार मतपत्र आएको छ । सोही प्रतिनिधिसभाको प्रदेश (क) का लागि ७४ हजार र प्रदेश (ख) का लागि ६३ हजार मतपत्र आएको छ । 

क्षेत्र नम्बर २ प्रतिनिधिसभाका लागि एक लाख ३८ हजार मतपत्र आइपुगेको छ । सोही प्रतिनिधिसभाको प्रदेश (क) का लागि ७४ हजार र प्रदेश (ख) का लागि ६५ हजार मतपत्र आइपुगेको छ । 

क्षेत्र नम्बर १ तर्फ एक लाख २३ हजार चार सय ९० मतदाता छन् । तीमध्ये प्रदेश १ तर्फ ६७ हजार एक सय ४४ र प्रदेश २ तर्फ ५६ हजार तीन सय ४६ मतदाता छन् । 

क्षेत्र नम्बर २ अन्तर्गत एक लाख २५ हजार पाँच मतदाता छन् । त्यसमध्ये प्रदेश १ तर्फ ६७ हजार ३२ र प्रदेश २ तर्फ ५७ हजार नौ सय ७३ मतदाता छन् । 

जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि ५७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । क्षेत्र १ को प्रतिनिधिसभा सदस्यका लागि १५, प्रदेश सभा (क) का लागि ११ र प्रदेशसभा (ख) का लागि सात जना प्रतिस्पर्धामा छन् । 

क्षेत्र नं२ को प्रतिनिधिसभा सदस्यका लागि दश, प्रदेश सभा (क) का लागि आठ र प्रदेश सभा (ख) का लागि छ उम्मेदवार प्रतिस्पर्धामा छन् । निर्वाचनका लागि जिल्लाका उम्मेदवार यतिबेला घरदैलोमा व्यस्त छन् । निर्वाचन आयोगले मतदानको १७ दिन अगाडिबाट मात्रै प्रचारप्रसार, आमसभा गर्न अनुमति दिएकाले उम्मेदवारहरु घरदैलोमा पुगेर मतदाता भेटिरहेका छन् । 

मतदाताको भेटघाटका क्रममा उम्मेदवारले आ–आफ्ना एजेण्डा मतदाता समक्ष राख्ने गरेका छन् । तनहुँ क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य उम्मेदवार नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पहिलो चरणको घरदैलो सकेका छन् । उनले व्यास र भानु नगरपालिकासहित बन्दीपुर गाउँपालिकाका विभिन्न ठाउँमा मतदाता भेटघाट गरिसकेका छन् । 

एमालेका तर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार एकबहादुर राना भानुका विभिन्न वडामा मतदाता भेटघाट गरिरहेका छन् । राप्रपाका उम्मेदवार विनोद घर्ती, हाम्रो राष्ट्रिय पार्टीका प्रवीण पौडेललगायत मतदाता भेटघाटमा व्यस्त छन् । 

तनहुँ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार कांग्रेसका शङ्कर भण्डारी, एमालेका किरण गुरुङका साथै साना दलका उम्मेदवार पनि मतदाता भेटघाटमा व्यस्त छन् । रासस

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np