Global Force Media

२०८० चैत्र १६ - Fri Mar, 2024 -

तिहारमा मौसम सफा रहने

मनसुन सकिनै लाग्दा नेपालको आसपास बनेको न्यूनचापीय क्षेत्रको प्रभावले वर्षा गराउँदा यो वर्षको दसैँ मौसमी हिसाबले केही प्रभावित बनेको थियो । असोज १८ गतेदेखि झण्डै डेढसाता निरन्तर देशैभर वर्षा भयो ।

यतिखेर तिहारको माहोल चलिरहेको छ । तर मनसुन सकिएसँगै मौसमले पनि साथ दिएकाले यो पटकको तिहार निकै उल्लासमय हुने देखिएको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले तिहारमा मौसम सफा रहने जनाएको हो । महाशाखाका वरिष्ठ मौसमविद् बरुण पौडेलले वर्षा गराउने कुनै मौसमी प्रणाली विकसित नभएकाले यो पटकको तिहारमा मौसम सफा रहने बताए ।

वर्षाका कारण दसैँमा आफन्त मान्यजन कहाँ टीका लगाउन जाने र विभिन्न गन्तव्यमा पुग्नेलाई निकै सास्ती दियो । पाकेको धानबालीमा पनि क्षति पु¥यायो, बाढी, पहिरो र डुबानका घटना पनि भए । त्यतिमात्रै होइन, शरद ऋतुको मुख्य पर्यटकीय सिजन पनि चलिरहेकामा वर्षाले आन्तरिक तथा बाह्य पर्यटनलाई पनि असर पुग्यो । तिहार आउन एक साताअघिदेखिनै देशैभरको मौसम सफा रहेको छ । आज तिहारको तेस्रो दिन गाईपूजा गरी मनाइएको छ । सोमबार साँझ लक्ष्मीपूजा गरी धुमधामका साथ मनाइयो ।

महाशाखाको पछिल्लो विवरणमा अहिले देशका पहाडी भेगमा आंशिक बदली रहेको छ । बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ । वरिष्ठ मौसमविद् पौडेलका अनुसार प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा छिटफुट र हल्का वर्षा हुने सम्भावना छ तर, सानो–सानो बादलको टुक्रा रहेकाले ठूलो प्रणाली देखिँदैन । “मनसुन पनि बाहिरियो, पश्चिमबाट पानी पार्ने प्रणाली आउनुपर्छ त्यो सम्भावना देखिँदैन स्थानीय वायु पनि सक्रिय छैन । त्यसैले तिहारमा मौसम सफा रहने देखिन्छ । चिसो क्रमिकरूपमा बढ्दैछ, बिहान–बेलुका बढी चिसो हुन्छ”, मौसमविद् पौडेलले भने ।रासस

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np