Global Force Media

२०८० चैत्र १६ - Fri Mar, 2024 -

नेपाल संवतको प्रयोगलाई थप व्यापकता दिन आवश्यक : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मौलिक संवतका रूपमा रहेको नेपाल संवतको प्रयोगलाई आगामी दिनमा थप व्यापकता दिन आवश्यक रहेको बताएका छन् ।

नेपाल संवत् ११४३ को अवसरमा नेपाल संवत् न्हूदँ राष्ट्रिय समारोह समितिले बुधबार काठमाडौँको वसन्तपुरमा आयोजना गरेको कार्यक्रममा उनले धर्मसंस्कृति, इतिहास र परम्परासँग अभिन्न रूपमा जोडिएको नेपाल संवतको जगेर्ना गर्दै यसको महत्वलाई उजागर गर्न सबैले मिलेर काम गर्न जरुरी रहेको बताएका छन् । प्रधानमन्त्री देउवाले व्यक्तिगतभन्दा सामूहिक र दलगत हितभन्दा माथि उठेर राष्ट्रिय हितलाई आत्मसात् गरी अघि बढ्नसके मात्र राष्ट्रिय अभीष्ट पूरा हुन सक्ने विश्वास व्यक्त गरे ।

उनले २०४६ र २०६२/६३ को जनआन्दोलनको सफलतासँगै नेपाल संवतले राष्ट्रिय मान्यता प्राप्त गरेपश्चात हालका दिनमा यसको प्रयोगले व्यापकता लिँदै गएको बताए ।

कार्यक्रममा काठमाडौँ महानगरपालिकाका नगर प्रमुख बालेन्द्र शाहले राष्ट्रिय विभूति शङ्खधर साख्वाःको उत्पति स्थलको जगेर्नाका साथै उनको पहिचान र गौरवलाई स्थापित गरिनुपर्नेमा जोड दिए ।

त्यसअघि नेपाल संवतको अवसरमा उपत्यकाका विभिन्न सहरबाट सांस्कृतिक बाजागाँजासहित निकालिएको र्‍याली वसन्तपुर दरवार क्षेत्रमा पुगेर कार्यक्रममा परिणत भएको थियो । नेपाली जनताको ऋण मोचन गरेर जनसाधारणले सञ्चालन गरेको मानिने नेपाल संवतको नयाँ वर्षको अवसरमा विविध कार्यक्रमका साथ मनाइएको छ ।

नेपाल संवतका प्रवर्तक शङ्खधर साख्वाःले ११४३ पूर्व जनताको ऋण मोचन गरी यो सम्वत् प्रचलनमा ल्याएका थिए । नेस १९२९ मा यो संवतलाई राष्ट्रिय संवतको औपचारिक मान्यता प्रदान गरी घोषणा गरिएको थियो ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np